एक ढिक्का भएर चुनावमा होमिन कांग्रेस बाँकेको आह्वान

सदरलाइन संवाददाता २७ आश्विन २०७९, बिहीबार १६:२८
 

नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेले मंसिर ४ गते हुने निर्वाचनमा एक ढिक्का भएर परिचालन हुन पार्टी पंक्तिलाई आह्वान गरेको छ । बिहीवार बसेको जिल्ला कार्यसमितिको बैठकले विगत भुलेर कांग्रेस र गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन एक मनका साथ चुनावमा होमिन आह्वान गरेको हो ।

जिल्ला सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा बसेको बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर अनुगमन समिति र प्रचारप्रसार समिति समेत गठन गरेको छ । बैठकले सभापति गौडलेको संयोजकत्वमा अनुगमन र उपसभापति गोपालप्रसाद अधिकारी संयोजक रहने गरी प्रचारप्रसार समिति गठन गरेको प्रबक्ता डिल्ली गिरीले जानकारी दिए ।

अनुगमन समितिमा जिल्ला कार्यसमितिका पदाधिकारी सदस्य छन् । प्रचारप्रसार समितिमा जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति पदाधिकारी, प्रदेश क्षेत्र कार्यसमिति पदाधिकारी, भ्रातृ र शुभेच्छुक संगठनका प्रमुख, पूर्व पार्टी पदाधिकारी, पूर्व जिल्ला सदस्य, पूर्व महासमिति तथा महाधिवेशन प्रतिनिधि लगायत रहेको प्रबक्ता गिरीले बताए ।

यस्तै बैठकले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेश क्षेत्रीय कार्यसमितिलाई पार्टी तथा गठबन्धनका उम्मेदवारहरुलाई जिताउनका लागि सम्पूर्ण पार्टी पंक्तिलाई परिचालन गर्न निर्देशन दिएको छ ।

बैठकमा पार्टीबाट प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार, समानुपातिक उम्मेदवार, क्षेत्रीय सभापति, प्रदेश कार्यसमिति सभापति, गाउँपालिका सभापति लगायत उपस्थित थिए ।


बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले विगतका मनमुटाब र कमीकमजोरी विर्सिएर एकताबद्ध ढंगले निर्वाचनमा होमिन निर्देशन दिए । सभापति गौडेलले स्थानीय चुनावमा हासिल गरेको उपलब्धिलाई सम्झँदै मंसिर ४ गते पनि विजयको झण्डा फहराउने गरी उच्च मनोबलका साथ प्रतिबद्ध भएर लाग्न नेता कार्यकर्तालाई आह्वान गरे । निवर्तमान सभापति किरण कोइरालाले एकताबद्ध कांग्रेसलाई कसैले हराउन नसक्ने बताइन् ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार सुदिप नरसिंह राणाले कांग्रेस एक भए कसैले हराउन नसक्ने भन्दै सबै पार्टी पंक्ति इमान्दार भए सबै ठाउँमा सफलता हासिल गर्ने दृढता व्यक्त गरे ।

बैठकमा प्रदेशसभा १(२) का उम्मेदवार फुलाराम थारु, २(१) का उम्मेदवार राजकुमार बर्मा, २(२) का उम्मेदवार सुरेन्द्रबहादुर हमाल र ३(२) का उम्मेदवार बादशाह कुर्मीले सबै इमान्दार भएर चुनावमा होमिनुपर्ने बताएका थिए । उम्मेदवारहरुले बाँकेमा कांग्रेसका संगठन राम्रो भएकाले आफूहरु उच्च मनोबलका साथ चुनावी मैदानमा होमिएको बताएका छन् ।

पार्टी सचिव सुधांशु कोइरालाले एजेण्डा प्रस्तुत गरेको बैठकमा कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले २०७८ फागुनदेखि २०७९ भदौ मसान्तसम्म आयव्यय विवरण प्रस्तुत गरेका थिए । त्यसलाई बैठकले पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्लान इन्टरनेशनल नेपालद्वारा बर्दियाको राजापुर र गेरुवामा राहात हस्तान्त्रण

२७ आश्विन २०७९, बिहीबार १६:२८
बर्दिया :  गत असोज १९ गतेदेखि भएको अबिरल वर्षातको कारण बाँके र बर्दियाका बाढी तथा डुवान पीडितको उद्दार तथा पुनस्थापनाको लागि आवश्यक बिभिन्न राहत सामाग्री उपलब्ध गराईएको छ । प्लान ईन्टरनेशनल नेपालले बाँके युनेस्को क्लव बि–ग्रुप लगायतका साझेदार संस्थाहरुको पहलमा बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउपालिकामा अखाध्य राहत सामाग्री उपलब्ध […]