सदरलाइनडटकम
१४ भदौ, नेपालगन्ज : बल पूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा बेपत्ता भएका व्यक्तिका परिवारले आफूहरुलाई अन्यौलमा नराख्न राज्यसँग आग्रह गरेका छन् ।
राज्य तथा गैर राज्यबाट बेपत्ता परिएको (२०५१–२०६२) सम्मको समयमा बेपत्ता परिएकाहरुको राज्यले अवस्था सार्वजनिक नगर्दासम्म आफुहरु अन्यौलमा परेको परिवारजनको गुनासो छ । शन्ति प्रकृयामा आएको १३ वर्ष भइसक्दा समेत अवस्था सार्वजनिक नहुँदा आफूहरूले धार्मिक परम्परा अनुसार काजक्रिया गर्ने÷नगर्ने विषयमा अन्यौल भएको पीडितहरूले गुनासो गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले नागरिक बेपत्ता हुने विषय लोकतन्त्रमा सुहाउदो नभएको बताए । उनले कतिपय पीडितले अझै राहत नपाएको भन्ने प्रसङ्गमा के कति कारणले राहत नपाएको हो छलफल गरी समाधान गरिने बताए । व्यक्तिमा रहेको स्वार्थी प्रकृतिका कारण वास्तविक पीडितले राहत पाउन छुटेको हुन सक्ने प्रजिअ केसीले बताए ।
उच्च अदालत बार एशोसियसनका अध्यक्ष बलबहादुर चन्दले राज्यले बेपत्ता पारिएका व्यक्तिको लास वा सास जे छ तत्काल सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।
बेपत्ता परिवारकी तुल्सी विष्टले १३ वर्षपछि राहत बापत ५ लाख रूपियाँ पाएको बताइए । पीडित देवीसरा बिकले १५ वर्ष भइसक्दा आफूहरूको माग राज्यले सुनवाई नगरेको आरोप लगाइन् । उनले राज्यले अवस्था सार्वजनिक नगर्दा आफूहरू धामी झाक्रीको भर पर्नु परेको पीडा सुनाइन् ।
बेपत्ता परिवारका भुपेन्द्र खड्काले पीडित परिवार बालबालिकालाई निशुल्क शिक्षा, राहत र रोजगारको व्यवस्था राज्यले गर्नुपर्ने बताए । बेपत्ता धनिराम गोडियाकी पत्नी रिता गोडियाले हालसम्म राहत नपाएको गुनासो गरिन् । त्यसैगरी बेपत्ता भोजराज ढकालका परिवारले हाल सम्म राहत नपाएको उनका छोराले गुनासो गरे ।
पीडित परिवारकी हिमी पोखरेलले एकल महिलालाई पेन्सन र पीडित परिवारलाई रोजगारको व्यवस्था राज्यले गर्नुपर्ने बताइन । न्यायका लागि द्वन्द्व पीडित समाजकी अध्यक्ष चन्द्रकला उप्रेतीले लास वा सासको अवस्था सार्वजनिक गर्नुपर्ने बताइन् ।
राष्ट्रिय मानव अधिकार आयोगकी अधिकृत लक्ष्मी पोडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेक क्षेत्रीय संंयोजक भोला महतले सहजीकरण गरेका थिए । महतले बेपत्ता आयोगको समया अवधि छोटो रहेको बताउँदै कतिपय पीडितहरू राहतबाट अझैपनि बञ्चित रहेको बताए ।
यसैगरी बेपत्ता पारिएका व्यक्तिको सम्झनामा भदौ १४ गते नेपालगञ्जमा २५ जनाले रक्तदान गरेका छन् । न्यायका लागि द्वन्द्व पीडित समाज बाँकेले नेपालगञ्जको धम्बोझीमा भदौ १४ गते साँझ ७ बजे मैनबत्ती प्रज्वलन गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष चन्द्रकला उप्रेतीले बताइन ।