सदरलाइनडटकम
१ असार, कोहलपुर : समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण उपसमिति (सिबिएपियू) सञ्जाल बाँकेले संरक्षण क्षेत्रमा कलम चलाएर अतुलनीय योगदान गरेको भन्दै बाँकेका पत्रकार केशव रानालाई संरक्षण पुरस्कार प्रदान गरिएको छ ।
कोहलपुरमा बिहीबार एक कार्यक्रम गर्दै पत्रकार रानालाई बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुन र जेडएसएल नेपालका तराई कार्यक्रम व्यवस्थापक भगवानराज दहालले ५ हजारको राशीको संरक्षण पुरस्कार संयुक्त रुपमा प्रदान गरेका थिए ।
बाँके राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणका साथै चोरी शिकारी नियन्त्रणमा समाचार लेखनका माध्यमबाट उल्लेखनीय योगदान पु¥याए वापत पत्रकार रानालाई संरक्षण पुरस्कार प्रदान गरिएको सिबिएपियू सञ्जाल बाँके अध्यक्ष कृष्णलाल चौधरीले जानकारी दिए ।
पत्रकार राना नेपाल पत्रकार महासंघ बाँके शाखाका कोषाध्यक्षका साथै मिसन टुडे दैनिकका कार्यकारी सम्पादक समेत हुन् ।
जुओलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपालको आर्थिक सहयोगमा सिबिएपियू बाँकेले हरेक महिना जैविक विविधता संरक्षणमा सक्रिय सहभागिता भई योगदान पु¥याउने एक जनालाई पुरस्कृत गर्दै आएको छ ।