स्थानीय निर्वाचनको मतदान जारी, उत्साहपूर्वक मतदानमा सहभागी हुन प्रमुख निर्वाचन आयुक्तको आग्रह

३१ बैशाख २०७४, आईतवार १३:४२
 

रासस/सदरलाइन

३१, बैशाख काठमाण्डौ : सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि ऐतिहासिक एवम् पहिलो स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान अहिले ७ बजेदेखि सुरु भएको छ ।लामो प्रतीक्षा, धैर्यता र व्यग्रतापछि आम मतदाताले आफूले मन पराएका आफ्ना घर आँगनमा उम्मेदवारलाई स्थानीय सरकारको नेतृत्वमा पु¥याउन मतदान गर्दैछन् । विसं २०५९ पछि स्थानीय निकाय जनप्रतिनिधिविहीन छ । मतदाताहरू अधिकांश मतदान केन्द्रमा झिसमिसेदेखि नै उत्साहका साथ मतदानका लागि प्रतीक्षारत देखिन्थे ।
प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका २८३ स्थानीय तहमा छ हजार ६४२ मतदान केन्द्रमा ४९ लाख ५६ हजार ९२५ मतदाताले मतदान गर्नेछन् । मतदान साँझ ५ बजेसम्म हुनेछ । अधिकार सम्पन्न स्थानीय सरकार चयन गर्न मतदाता उत्साहपूर्वक मतदानका लागि लामबद्ध छन् । निर्वाचनले सिंहदरबारमा केन्द्रित अधिकार स्थानीय तहमा वैधानिक रूपमा हस्तान्तरण हुनेछ ।
यस निर्वाचनअन्तर्गत गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष, दुई खुला वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य निर्वाचन हुनेछन् ।
निर्वाचन गोप्य मतदानको प्रक्रियाद्वारा एक पद एक मतको आधारमा बहुमतीय निर्वाचन प्रणालीमा भएको हो । निर्वाचन चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका प्रमुख उपप्रमुख तथा १८६ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका लागि हुँदैछ । निर्वाचनबाट कुल दुई हजार ५९८ वडामा पाँचजनाका दरले १३ हजार ५५६ प्रतिनिधि निर्वाचित हुनेछन् ।
निर्वाचनमा कुल ४९ हजार ३३७ उम्मेदवार चुनावी प्रतिस्पर्धाको मैदानमा उत्रेका छन् । निर्वाचनमा १६० महिला र १६९ पुरुष गरी ३२९ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ । प्रदेश नं १, २, ५ र ७ मा स्थानीय तहको निर्वाचन दोस्रो चरणमा अगामी जेठ ३१ गते हुँदैछ ।
गृहमन्त्रालयका अनुसार पहिलो चरणको निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र अनुसन्धान प्रहरी गरी जम्मा ६४ हजार प्रहरी परिचालन गरिएको छ । यसबाहेक नेपाली सेनाले पहिलो चरणको निर्वाचनको सुरक्षाका लागि करिब ३१ हजार सेना खटाएको छ भने काठमाडौँ, हेटौँडा, पोखरा र सुर्खेतमा निर्वाचनका लागि हेलिकप्टर तयारी अवस्थामा राखेको जनाएको छ ।

उत्साहपूर्वक मतदानमा सहभागी हुन प्रमुख निर्वाचन आयुक्तको आग्रह

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आ–आफनो मतदान केन्द्रमा गई अमूल्य मतदान गर्ने कार्यमा सक्रिय सहभागी हुन आममतदातालाई आह्वान गर्नुभएको छ ।
स्थानीय तहको पहिलो चरणको आज हुने निर्वाचनका सन्दर्भमा दिनुभएको शुभकामना सन्देशमा उहाँले मतदाताको उत्साहपूर्ण सहभागिता र सक्रिय सहयोगका लागि अपिल गर्नुभएको छ ।
प्रमुख आयुक्त डा यादवले भन्नुभएको छ – “सार्वभौमसत्ता सम्पन्न जनताले संविधानसभामार्फत बनाएको नेपालको संविधानले व्यवस्था गरेको सङ्घ, प्रदेश र स्थानीय सरकारको व्यवस्था गरेअनुरूप स्थानीय सरकार निर्माण गर्न स्थानीय तहको पहिलो चरणको निर्वाचन हुन लागेको हो ।
मतदानमा सबैको सक्रिय सहभागितामार्फत जनमत अभिव्यक्त भई स्थानीयस्तरदेखि नै लोकतन्त्रको वास्तविक अभ्यास र सुदृढीकरण हुने अहम महत्वको ऐतिहासिक निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई उहाँले अनुरोध पनि गर्नुभएको छ ।


उत्साहका साथ निर्वाचनमा होमिए मतदाता

झन्डै दुई दशकदेखिको स्थानीय निर्वाचनमा मतदान गर्न पाउने प्रतीक्षाको घडी आज समाप्त भएको छ ।
लामो समयदेखि स्थानीय तहको निर्वाचन नहुँदा वाक्क बनेका मतदाता आज निर्वाचनमा सहभागी हुन पाउँदा छुट्टै उत्साहित थिए । आज बिहान ६ नबज्दै उत्साहका साथ भोट हाल्न मतदान केन्द्रमा आइपुगे मतदाता ।
बिहान ४ बजेदेखि नै मतदाताहरू लाइनमा बसे । भरतपुरकी सुमित्रा श्रेष्ठ नारायणी माविको मतदान केन्द्रमा उत्साह बोकेर लाइनको अगाडि बस्नुभएको छ । “पहिला ३ बजे आ’थेँ, यसपालि ४ बजे, उहाँले भन्नुभयो ।”

उहाँहरूजस्तै यहाँ भोट हाल्ने मतदाताको लाइन लामो भइसकेको छ । यो ऐतिहासिक अवसर गुमाउन चाहँदैनन् भन्ने कुरा आज चितवनको भरतपुरस्थित नारायणी नमुना उच्च माविको मतदान केन्द्रमा भोटहाल्न सहभागी भएका मतदाताबाट देखिन्थ्यो । केटाकेटीहरू रमाइलो हेर्न आएका थिए भने युवा, प्रौढ र वृद्धवृद्धाको राम्रै सहभागिता भयो ।
विगतमा स्थानीय निकायको निर्वाचन हुँदा भर्खर जन्मिएकाहरू पहिलो मतदातामात्रै भएका छैनन् पहिलो उम्मेदवार हुने मौकासमेत पाएका छन् ।
दुई दशकपछि भएको स्थानीय निकायको निर्वाचन आफैँमा महत्वपूर्ण उपलब्धि हो । त्यसमाथि गणतन्त्र स्थापनापछि नयाँ संरचनाअनुसारको निर्वाचन इतिहासकै पहिलो हो ।
मुख्यगरी लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा विकासका कामले फड्को मार्न नसकेको तर्क मतदाताहरूको छ ।
अहिलेको निर्वाचनले जनप्रतिनिधिहरू छानिने र उनीहरूमार्फत गाउँस्तरमै सुशासन कायम हुने र विकासले गति लिने विश्वास रहेको एकजना मतदाता प्रकाश भट्टराई बताउनुहुन्छ ।
पाँचवटा मतदान केन्द्र रहेको नारायणी उच्च मावि मतदानस्थलमा सबै तयारी पूरा भएकाले निर्धारित समयमै मतदान सुरु हुने मतदान अधिकृत कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

अपेक्षाभन्दा बढी मतदान हुन्छ :  प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ७ बजेर ८ मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मावि लङ्कुको मतदान केन्द्र ‘ख’ बाट मतदान गर्नुभएको छ ।
मतदानपछि प्रतिक्रिया दिँदै दाहालले नेपालमा पहिलोपटक अधिकार सम्पन्न स्थानीय तहको निर्वाचन आज सम्पन्न हुन लागेकाले जनतामा निकै ठूलो उत्साह रहेको बताउनुभयो । उहाँले भन्नुभयो – “यो ऐतिहासिक निर्वाचन भएको हुनाले व्यापक रूपमा मतदानमा सहभागी हुन हिजो नै अपिल गरेको छु । आज जे देखिएको छ, सबैतिर उत्साहपूर्वक अपेक्षाभन्दा बढी नै मतदान हुन्छ भन्ने मलाई विश्वास छ ।”
पत्रकारहरूको एक प्रश्नमा उहाँले नेपाली काँग्रेस र माओवादी केन्द्रबीचको तालमेलअनुसार नै आफूले मतदान गरेको बताउनुभयो ।
मतदानका लागि उहाँ शनिबार परिवारसहित यहाँ आउनुभएको हो । उहाँका छोरी रेणु दाहाल र गङ्गा दाहालले पनि सोही केन्द्रबाट मतदान गर्नुभएको छ । श्रीमती सीता दाहालको भने शिवनगरस्थित निमावि शान्तिपुरमा केन्द्र परेकाले केहीबेरमा मतदान गर्दै हुनुहुन्छ ।
माओवादी केन्द्रका अनुशासन विभागका अध्यक्ष अमिक शेरचनले महानगरको वडा नं २६ को दिव्यनगर मावि मतदान केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ ।
यसैगरी महानगरको वडा नं २७ जानकी मावि केन्द्रबाट राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले मतदान गर्दै हुनुहुन्छ । जिल्लाको अर्काे नगरपालिका राप्ती नगरपालिकाबाट नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले मतदान गर्दै हुनुहुन्छ । उहाँले वडा नं ५ को हेल्थपोष्ट भवन भण्डारा केन्द्रबाट मतदान गर्नुहुनेछ । एमालेकै पोलिटब्युरो सदस्य काशीनाथ अधिकारीले रत्ननगर नगरपालिकाको वडा नं ९ कपरफोरी केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ ।
यसैगरी जनमोर्चा नेपालका केन्द्रीय अध्यक्ष साध्यबहादुर भण्डारीले भरतपुर महानगरपालिका वडा नं १ को बालकुमारी कन्या स्कुल केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ ।
जिल्लामा सात प्रमुख पदमा ६९ र उपप्रमुख पदमा ५५ जनाले उम्मेदवारी परेको छ । जिल्लामा कुल मतदाता तीन लाख १३ हजार दुई रहेका छन् । जिल्लाका ५०४ पदका लागि निर्वाचन हुँदैछ । जसका लागि दुई हजार २०३ जनाको उम्मेदवारी परेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कृषि पकेटक्षेत्र विस्तार

३१ बैशाख २०७४, आईतवार १३:४२
रासस/ सदरलाइनडटकम ३१ वैशाख, गुलरिया (बर्दिया) : प्रधानमन्त्री कृषि आधुनीकिकरण आयोजनाअन्तर्गत जिल्लाका विभिन्न स्थानमा कृषिजन्य उत्पादनको आधारमा पकेटक्षेत्र निर्माण गर्ने कार्य सुरु गरिएको छ । प्राविधिक कार्यदल तथा कृषिसेवा केन्द्रबाट सिफारिस भई रित पुगेका सामूहिक तथा व्यक्तिगत जग्गा छनोट गरी पकेटक्षेत्र विस्तार गर्ने कार्य सुरु भएको हो । पकेटक्षेत्र विस्तारका […]

सम्बन्धित