राष्ट्र बैंकको चेक नहुँदा विकास निर्माण ठप्प +

११ बैशाख २०७४, सोमबार १८:५२
 

सदरलाइनडटकम 
११ बैशाख, नेपालगन्ज : जिल्ला समन्वय समिति बाँकेलाई नयाँ परिवर्तित नाम अनुसारको चेकको पाना नेपाल राष्ट्र बैंक नेपालगन्ज शाखाले उपलब्ध गराउन नसक्दा बाँकेका विकास निर्माणको काम जति प्रभावित भएका छन् ।
राष्ट्र बैंकबाट समयमा चेक नआएको कारण जिल्ला समन्वय समिति बाँके अन्तरगत चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका करिव १ हजार ५ सय योजनाको भुक्तानी चेकको अभावमा दिन नसकेका कारण प्रभावित भएका हुन ।
जिल्ला समन्वय समिति बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेले बितेका १५ दिनदेखि नेपाल राष्ट्र बैंक नेपालगन्ज शाखामा चेकको माग गर्दै निवेदन पठाएको भए पनि १५ दिन पछि १० पानाको मात्र चेक आएको बताए ।
उनले भने–‘यो विकास निर्माणको कामको लागि भुक्तानी दिने करिव अन्तिम महिना हो । दिनहुँ कम्तिमा पनि सय बढी योजनाको फाईल फच्र्योट गर्दै भुक्तानी दिनु पर्ने हुन्छ तर, चेक नै नभएपछि कसरी भुक्तानी दिनु साह्रै नै अफ्ठयारो भएको छ ।’
उनले समयमा भुक्तानी र निकासा दिन नसक्दा जिल्लामा सञ्चालनमा रहेका विकास निर्माणका सबै योजना प्रभावित भएको बताए । ‘दिनहुँ भुक्तानी र निकासको लागि सय बढी फाईल आउने गरेका छन् सबैलाई चेक छैन भन्दै पठाउनु परेको छ’–उनले भने । बितेका १५ दिनदेखि यो समस्या छ ।
यसैबीच नेपाल राष्ट्र बैंक नेपालगन्ज शाखाका निर्देशक गुरुप्रसाद पौडेलले गाविस, नगरपालिका, उप–महानगरपालिका र जिल्ला विकास समितिबाट गाउपालिका, नगर कार्यपालिका, उप–महानगरपालिका र जिल्ला समन्वय समितिमा परिवर्तीत भएको र राष्ट्र बैंकले पुरानो संरचनाका खाता बन्दगरी नयाँ खाताबाट कारोवार गर्नको लागि परिपत्र गरेको कारणले केही कठिनाई भएको बताए ।
उनले आउदो हप्ताभित्र परिस्थिति सहज हुने बताउदै राष्ट्र बैंकले प्रयोगमा ल्याएको एमआईसिआर प्रणालीको चेक उपलब्ध गराउने तयारीमा रहेको स्पष्ट पार्दै भने–‘ माग अनुसारको तत्कालको लागि चेक उपलब्ध गराउन नसकेको हो । बाँकेको मात्र नभएर देशव्यापी समस्या हो । चेकको आपूर्ती गर्ने जिम्मा लिएरको संस्थाले परिवर्तित नामका चेकहरु उपलब्ध गराउन केही समय लगाएकोले समस्या भएको छ ।’ उनले समस्या बढ्दै गएमा केन्द्रदेखि नै समस्या समाधानको लागि बैकल्पिक समाधान खोजेर समाधान गर्नको लागि पहल हुँदै गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘सम्झनामा डा. अरुण कोईराला’ फोटो प्रदर्शनी सुरु

११ बैशाख २०७४, सोमबार १८:५२
सदरलाइनडटकम ११ बैशाख, नेपालगन्ज : राजनीतिज्ञ तथा चिकित्सक डा. स्व. अरुण कोईरालाका तस्वीरहरु ‘ सम्झनामा डा. अरुण कोईराला’ प्रदर्शनीमा राखिएको छ । नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा आयोजना गरिएको फोटो प्रदर्शनीको सोमबार सिचाई मन्त्री दीपक गिरीले फोटो खिचेर उद्दघाटन गरेका थिए । उनले फोटो प्रदर्शनीले डा. कोईरालाको योगदानको बारेमा सम्झना ताजा […]