एमाले हाम्रो स्थायी सत्रु होईन : उपेन्द्र यादव

१२ चैत्र २०७३, शनिबार १६:०७
 

सदरलाइनडटकम    
१२ चैत, काठमाडौं  :  संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारका कारण मुलुकमा भ्रष्टाचार र बेथिति चरम रुपमा बढेकोले यसको विकल्प खोज्नु पर्ने आवश्यकता औल्याउँदै प्रचण्ड नेतृत्वको सरकारको विकल्पको संकेत गरेका छन । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने– मुलुकमा सरकारको कारण भ्रष्टाचार र बेथिति चरम रुपमा बढेको छ । यसको विकल्प खोज्नु पर्छ ।
एमालेसँगको नजिकिदो सम्बन्ध र सरकार परिवर्तनको संम्भावनाको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा यादवले त्यस्तो बताएका हुन । उनले एमाले आफूहरुको स्थायी सत्रु नभएको र राजनीतिमा स्थायी सत्रु र मित्र नहुने स्पष्ट पार्दै एमालेसँगको सम्बन्ध सकारात्मक रहेको बताए ।
क्लबका महासचिव शशी कोइरालाको सभापतित्वमा आयोजित साक्षात्कारमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका संयोजक यादवले मुलुकमा बेथिती बढेको र एनसेलसँग अर्बो लाभकर उठाउन नसकेको, र सरकारले आफ्ना कार्यकर्ताको नाममा करोडांै पैसा पठाएर चुनाव जित्ने मौका छोपिरहेको आरोप लगाए ।
एनसेलसँग लिनुपर्ने लाभकरको विषयमा सरकारले छानविन गर्नुपर्ने उल्लेख गर्दै यादवले भने,‘यो ठूलो भ्रष्टाचार हो, अहिले अख्तियारलाई थन्क्याईहाले, अब कसले छानविन गर्छ ? मुलुकलाई लुटेर चुनाव गर्न खोजिँदैछ ।’
यादवले सरकार स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर सरकार उल्टो बाटोमा हिँडिरहेको आरोप लगाउँदै भने,‘कहीँ नभएको जात्रा नेपालमा भनेजस्तै भएको छ, स्थानीय निर्वाचनको नाममा अहिलेको सरकारले उल्टो बाटो पछ्याईरहेको छ, सुल्टो बाटो भनेको पहिले केन्द्रीय संसदको चुनाव गर्नुपर्छ ।’
उनले सरकारले स्थानीय तहको निर्वाचन पहिले गर्न खोजेर संघीयता र गणतन्त्रलाई सखाप पार्न षड्यन्त्र गरिरहेको आरोप लगाए । यादवले भने,‘पहिले संसदको निर्वाचन हुनुपर्छ, त्यस पछि प्रदेशको र अन्त्यमा स्थानीय तहको निर्वाचन हुनुपर्छ, अहिलेको संविधानले मधेशी, जनजाती, थारु, संघीयता पक्षधर र सिमाङ्कनको विषयलाई उपेक्षा गरेको छ, यो संविधान पुर्नलेखन नगरिएसम्म मुलुकको भलो हुँदैन।’
यादवले संविधान संशोधन नगरी समस्याको समाधान हुन नसक्ने बताउँदै संशोधनमार्फत समाधान गर्ने हो भने कुनै पनि विषयलाई थाँती राख्न नहुने बताए । उनले भने,‘कुनैपनि विषयलाई थाँती राख्नुहुँदैन्, यसले समस्यालाई झनै बल्झाउँछ, यदि सीमांकनको विवाद समाधान गर्नको लागि आयोग गठन गर्ने हो भने, यसलाई शक्तिशाली आयोग बनाउनुपर्छ, यदि सरकारले चाहेको हो भने संघीय आयोगलाई जिम्मा दिओस् न त ?’
उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकार टाउकोले टेकेर हिँडिरहेको आरोप लगाउँदै भने,‘ टाउकाले यात्रा कहाँसम्म गर्न सक्छ ?, हामी खुट्टाले हिँड्नको लागि सुझाव दिईरहेका छौँ, हिजो राजाले पनि यस्तो निर्वाचन नगरेका होईनन्, त्यस्तै आज सरकारले सेना परिचालन गरेर निर्वाचन गर्नु भनेको मुलुकलाई झन भड्खालोमा जाक्ने काम हो।’ यादवले सरकारले सेना लगाएर चुनाव गराउन खोजे त्यो प्रत्युत्पादक हुने चेतावनी दिए ।



सरकारले विद्यार्थीको निर्वाचन गर्न नसकेको इतिहास साँची रहेको भन्दै स्थानीय निर्वाचन गर्ने कुनै आधार नभएको दाबी गरे। उनले भने,‘सरकारका कामहरू सबै हामीले देखेका छौँ, निवार्चन हुँदैन, हुन दिँदैनौँ, तर हामी वार्ताबाट भाग्दैनौ, पछिल्ला दिनहरुमा वार्ताको नाममा हामीलाई खेलाउने काम भएको छ, दिन कटाउने काम भैरहेको छ, दुनियाँलाई देखाउने र नाटक देखाउने काम भैरहेको छ, सरकार जिम्मेवारीपूर्ण ढंगले प्रस्तुत भैरहेको छैन, समस्याको समाधान निकाल्नेबारे सरकारको तयारी छैन्, हामीले घोषणा गरेका कार्यक्रमहरू निरन्तर अघि बढ्छन्, भोलिदेखि सप्तरीबाट आन्दोलन सुरु हुँदैछ।’
यद्यपी यादवले सरकारले मोर्चासँग गरेको सहमति कार्यान्वयन गरेको भए अहिले मुलुकमा यस्तो समस्या नै नआउने दाबी गरे। उनले भने,‘हामीसँग भएको सहमति कार्यान्वयन गर्न सरकारले गम्भिरता देखाएन्।’
प्रधानमन्त्री दाहालको चीन भ्रमणलाई कसरी लिनुभएको छ भनी पत्रकारले सोधेको एक प्रश्नमा यादवले भने,‘मुलुकको समस्या समाधान गर्नुपर्ने बेलामा उहाँ चीन जानुभयो, मुलुकको समस्या समाधान गरेर चीन मात्रै होईन, जापान, अमेरिका जहाँ गए पनि हुन्थ्यो ।’
मधेशमा मोर्चाका कार्यकर्ताहरू निर्वाचनको तयारीमा जुटेका छन् नि भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा यादवले भने,‘हाम्रा कार्यकर्ताहरुले के गरिरहेका छन् भन्ने कुरा हामीलाई पनि थाहा हुन्छ, हाम्रा कार्यकर्ता निर्वाचन होईन आन्दोलनको तयारी गर्दैछन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘डक्टरी पेशामा हड्ताल, अनसन बसेर आफ्नो माग पुुरा गराउन खोज्नु बेईज्जती हो’

१२ चैत्र २०७३, शनिबार १६:०७
सदरलाइनडटकम  १२ चैत, काठमाण्डौं : पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले डक्टरी पेशामा हड्ताल , अनसन बसेर आफ्नो माग पुुरा गर्नुु जस्तो बेईज्जती अरु नहुुने बताएका छन् । डक्टरमा राजनीति बढ्यो भन्ने प्रश्नलाई उत्तर दिदै उनले भने ‘डक्टर पनि आफनो मान्छे र अर्काेको मान्छे भनेर च्याप्ने प्रचलनको म बिरोधी हँुु ।’ […]

सम्बन्धित