मोर्चाप्रति टिप्पणी गर्दै नेपालगन्जमा ओलीले भने : भोट जनताको, पार्टी घर परिवारको

१ चैत्र २०७३, मंगलवार १८:२७
 

रुद्र सुवेदी/सदरलाइन   
१ चैत, नेपालगन्ज : नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी मोर्चा प्रति टिप्पणी गर्दै भोट जनताको लिएर पार्टीलाई घरपरिवारको मात्र बनाउने गरेको टिप्पणी गरेका छन् ।
एमालेले आयोजना गरेको मेची–महाकाली अभियान अन्तरगत नेपालगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने–‘मधेशी जनताको लागि भन्दै आफु र आफ्नो परिवारको लागि मात्र सोच्नेहरु विभिन्न बाहाना खोज्दै मुलुकलाई झडपको स्थितिमा पु¥याउन खोजेका छन् ।
एमाले अध्यक्ष ओलीले मधेसी नेता र मधेशबादी राजनीतिक दलको चरित्रको बारेमा टिप्पणी समेत गर्दै भने–‘सारै थोरै भोट आयो भने श्रीमतीलाई पठाउँछन् संसदमा । केही बढी आयो भने आफु पनि थपिन्छन । अहिले तपाईहरुलाई थाहा होला, कतिवटा श्रीमती मन्त्री हुनुहन्छ ? कतिजना श्रीमतीहरु सरकारमा हुनुहुन्छ ? कतिवटा श्रीमतीजीहरु नै संसदमा हुनुहुन्छ ।’
एमाले अध्यक्ष ओलीले प्रष्ट्याए– ‘श्रीमती हुनुहुँदैन भनेको होइन, श्रीमती हुनुपथ्र्यो । तर, पार्टी भनेर बनायो, दुईवटा सीट आए आफू र श्रीमती, एउटा मात्रै आए श्रीमती । जनताको भोट घरमा मात्रै । अन्त काहीँ पनि छैन, पार्टी पनि त्यस्तो हुन्छ ?’
एमाले अध्यक्ष ओलीले मधेसी मोर्चालाई शान्तिपूर्ण राजनीतिमा आउन आह्वान गरेका छन् । एमालेलाई जसरी पनि रोक्नुपर्छ भन्ने मानसिकताबाट मोर्चा मुक्त हुनुपर्ने उनको भनाइ थियो । ’
आफुलाई राजनीतिक दल भन्ने केहीले जातिय तथा वर्गिय साम्प्रदायिकता भड्काएर नेपाललाई अस्थिर बनाउने प्रयास गरिरहेका आरोप लगाएका छन् । क्षेत्रीयता र वर्गियतामा रमाउने केही राजनीतिक पार्टीले नेपालमा जातिय, धार्मिक तथा सामाजिक दंगा भड्काएर गृह युद्धमा धकेल्ने प्रयास गरि रहेको एमाले अध्यक्ष ओलीको भनाई थियो ।
मेची–महाकाली अभियानका क्रममा नेपालगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने–‘एमालेको जनलहर देखेर केहि दल डराएर एमालेको अभियानमा लुगाको कालो टालो देखाउने गरेका छन् । एमाले देश बनाउने अभियानमा लागेको छ, यतिखेर एमालेलाई कसैले देखाएको कालो टालो हेर्ने फुर्सद छैन ।’
उनले भने–‘केही मान्छेहरु एमालेसँग रिसाउनुको कारण के छ भने मधेसीको कोटा पनि, मुस्लिमको कोटा पनि आफैं खाने, मधेसी भनेर थारु पनि हाल्ने, थारुको कोटा पनि आफैं खाने । एमालेले थारुका निम्ति, मुस्लिमका निम्ति संस्था बनायो, त्यसकारण अरुको पनि भाग खोसेर खान पाइएन भनेर ।’
एमाले अध्यक्ष ओलीले भने–‘तराईमा ४० प्रतिशत पहाडियाहरु छन् । त्यसको पनि नाम तथाकथित मधेसी भन्ने दुई चारवटा नेताहरु छन, उनीहरु नै हुन्छन् ।’ थारु, मधेसी, मुस्लिम र पहाडेको कुरो गरिसके पछि ओलीले नेपालमा जातीयता र साम्प्रदायिकताको बिऊ रुवाण्डाबाट भित्रिएको भन्दै स्रोत उल्लेख गर्ने प्रयास गरे । जातीय द्वन्द्वमा फसेको देशको चरित्र चित्रण गर्दै ओलीले भने–‘गञ्जी लगाउने कपडा छैन, कट्टु फाटेको छ, तर एके ४७ र गोली चाहिँ चाहिए जति नयाँ नयाँ आएको छ । त्यसरी जनता लडाए त्यहाँ । चार महिनाका वीचमा १० लाख मान्छे मारिए ।’

पार्टीको मेची–महाकाली अभियान अन्तरगत नेपालगन्जमा आयोजित सभामा ओलीले भने, ‘मधेसी मोर्चाले केही वर्षभित्र दुई सय मान्छे मरायो र हालै सप्तरीमा पाँचजना मान्छे मरायो । मान्छे मराएर उसले लासमाथि राजनीति गर्न खोजिरहेको छ । यो सिलसिला बन्द गर्नुस । शान्तिपूर्ण बाटोमा आउनुस् । अरुको काँधमा चढेर नहिँड्नुस् ।’
उनले कसैले एमालेलाई जनताको बीचमा जानबाट रोक्न खोजे त्यसलाई चिरेर एमाले अघि बढ्ने अध्यक्ष ओलीले बताए । एमालेलाई मधेस विरोधी, जनजाति विरोधि, महिलाविरोधि र जे जे भेटिन्छ, त्यही त्यही विरोधी पार्टीका रुपमा प्रचारित गर्ने गरिएको भन्दै उनले प्रश्न गरे, ‘जनताको पक्षमा लडिरहेको, देश बनाउन हिँडिरहेको पार्टी कसरी जनताको विरोधी हुन्छ ?’
ओलीले हाल जारी भएको संविधानले कसैलाई पनि भेदभाव नगरेको दाबी गरे । भेदभावको हल्ला चलाएर संविधान मान्न सकिँदैन भनेर हिँडिरहेकाहरु आवश्यक परेका बेला संविधानसभामा एमालेविरुद्ध भोट हाल्न आएको ओलीले प्रशंग कोट्याउदै भने–‘चाहिएको बेला यही संविधान अनुसार भोट हाल्न आउने अनि फेरि बाहिर गएर संविधान मान्दैनौं भन्दै उफ्रिने कुन शैली हो ?’ ओलीले प्रश्न गरे ।
देशलाई अब द्वन्द्व र झगडामा अल्मल्याइ रहन नसकिने भन्दै ओलीले संविधान कार्यान्वयन गर्दै राष्ट्र निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिए । स्थानीय चुनावमा जनताले एमालेलाई जिताउने आशा गर्दै ओलीले एमालेले नजितेमा देश समस्यामा पर्ने दाबीसमेत गरे ।
आमसभालाई सम्बोधन गर्दै एमालेका बरिष्ठ नेता माधव नेपालले सामाजिक सद्भावका लागि एमालेले मेची–महाकाली अभियान थालेको बताए । उनले एमालेको लोकप्रियतालाई देखेर केहि दल निर्वाचनबाट भाग्न खोजेको दावी गरे ।
उनले भने–‘विभिन्न अबरोधलाई छिचोल्दै एमालेको मेची–महाकाली अभियानमा ठूलो जनसहभागिता जुटेको देखेर एमाले विराधीहरुको हर्टअट्याक नै भएको छ । राजनीति गर्नेहरु र लोकतनत्रको वकालतहरुले कसैलाई पनि निसेधको राजनीति गर्न नहुने पाठ एमालेको अभियानको क्रममा भएका सभा र त्यसको सहभागिताले देखाएको छ ।’उनले बन्द र हड्तालको कारण प्रदेश नं. २ को आर्थिक अवस्था नाजुक बन्दै गईरहेको जिकिर समेत गरे ।
एमाले उपाध्यक्ष बामदेव गौतमले पुनरबास क्षेत्रमा भएको गोलिकाण्डमा भारतीय एसएसबीको गोलीले मारिएका गोविन्द गौतको परिवार समक्ष भारतले माफि माग्दै पीडित परिवारलाई १ करोड भारतीय रुपैयाँ क्षतिपूर्ती दिनुपर्ने माग राखे । उनले कुनै पनि हालतमा नेपालका सबै प्रदेशको भू–भागमा तराई पहाड र हिमालको भुगोल हुने गरी सिमांकन गरिने त्यसको लागि एमालेलाई आउने निर्वाचनमा त्यो निर्णय गर्ने ठाउमा पु¥याउनुपर्ने बताए ।
पार्टीका पोलिटव्यूरो सदस्य लालबाबु पण्डितले सम्बोधन गरेको सभाको अध्यक्षता बैकल्पिक केन्द्रीय सदस्य दिनेशचन्द्र यादवले गरेका थिए भने सञ्चालन अर्का बैकल्पिक केन्द्रीय सदस्य तथा मुस्लिम नेता मो. हारुण हल्वाईले गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा हवाई फायरर

१ चैत्र २०७३, मंगलवार १८:२७
सदरलाइनडटकम    १ चैत, नेपालगन्ज : गुलरिया नेपालगन्ज सडकखण्डको सोनपुर गोनानामा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीवीच झडप हुँदा तनाव बढेपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ । प्रहरीसँगको झडपमा दुई जना मोर्चा कार्यकर्ता घाइते भएको थर्ड एलाइन्सका आलम खानले जानकारी दिए । मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीको हतियार खोस्न […]