संगीता केसी/ सदरलाइनडटकम
८ असार, नेपालगन्ज: नेपालगन्जको जमुनाह र पुष्पलाल चोकमा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि जडान गरिएका सिसी क्यामेराहरु विग्रेर थन्किएका छन् ।
नेपालगन्जका आधा दर्जन बढी सार्वजनिक स्थानमा राखिएका सिसी क्यामेरा मध्ये जमुनाह र पुष्पलालचोकमा राखिएका क्यामेरा विग्रिएर थन्किएका हुन् भने बागेश्वरी मन्दिर लगायत अन्य ठाउँमा राखिएको क्यामेरामा पनि रेडर्क हुने तर चित्र नदेखाउने समस्या देखा परेको छ ।
नाकामा हुने आपराधिक गतिविधिलाई नियाल्न भन्दै पहिलोपटक सार्वजनिक स्थानमा राखिएको जमुनाहको सिसी क्यामेरा गत मधेश आन्दोलनको क्रममा तोडफोड भएपछि सो क्यामेराको मर्मत तथा पुनः जडानको लागि पहल हुन सकेको छैन भने पुष्पलाल चोकका दुई वटा क्यामेरा पनि थन्किसकेका छन् ।
सिसी क्यामेरा बिग्रेको लामो समय भइसक्दा पनि बनाउनतर्फ अहिलेसम्म कसैको ध्यान पुग्न सकेको छैन । सार्वजनिक स्थलमा राखिएका सिसी क्यामेरा विग्रिएपछि मर्मत कसले गर्ने भन्नेमा अन्यौल हुँदा त्यसै थन्किएका हुन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थले नेपालगन्ज नगरमा भएका सिसि क्यामेरा जडानको बारेमा आफुलाई एकिन जानकारी नभएको बताउदै कसरी र कुन निकायले जडानको लागि सहयोग गरेको छ ति निकायको पहिचान गरी तत्काल मर्मत वा रिप्लेस गर्नका लागि पहल गर्ने बताए ।
नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले सार्वजनिक स्थानमा राखिएका सिसी क्यामेरा मर्मत गर्ने जिम्मा सरकारी निकायको भएको वताउदै भने–‘हामीले केही ठाँउमा क्यामेरा जडान गर्नको लागि सहयोग गरेका थियौ । केही अझै पाईपलाईनमा छन पनि तर, दिएको कुरा संरक्षण र ममर्त सम्भार गर्ने काम त राज्यले गर्नु प¥यो नि ।’
नेपालगन्ज उद्योग बाणिज्य संघ र गृह मन्त्रलायको युएनडिपिको सहयोगमा सशस्त्र हिंसा न्यूनिकरण तथा सवलिकरण परियोजना कार्यक्रम अन्तरगत जिल्ला प्रहरी देखि धम्बोझी चोकसम्म र धम्बोझि चोक, पुष्पलाल चोक हुँदै बसपार्क तथा नगरका अति सम्बेदनशिल स्थानहरुमा क्यामेरा जडान गर्ने तयारीमा रहेको जानकारी दिए ।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक टेकप्रसाद राईले विग्रिएर थन्किएको क्यामेरा बनाउने जिम्मा सबैको भएको वताउदै सबै निकायले जसरी क्यामेरा जडानको लागि पहल गरिदिनु भएको छ त्यसरी नै क्यामेराको मर्मत तथा सम्भारको लागि पनि पहल गरिदिन आग्रह गरे ।