जमुनाहा नाका अस्तव्यस्त, नागरिकलाई सास्ती, तस्कर मालामाल

सदरलाइन संवाददाता २३ भाद्र २०८०, शनिबार १४:३९
 

नेपालगञ्ज : नेपालगञ्जको जमुनाहा नाका अस्तव्यस्त बनेको छ । भन्सार कार्यालयले भारतबाट सर्वसाधारणले दैनिक उपभोगका लागि ल्याउने सामानमा कडाइ गरेपछि नाका अस्तव्यस्त बनेको हो । यसको फाइदा नाकामा खटिने सशस्त्र प्रहरीलाई र तस्करलाई भएको छ भने नागरिकहरुले सास्ती पाएका छन् ।

भन्सारले एक सय रुपैयाँ भन्दा बढीको भारतबाट सामान आयात गर्नेलाई कर लगाउने गरेको छ । तर नाकामा चेकजाँचमा खटिने सशस्त्र प्रहरीले भने तस्करसँगको सेटिङमा भारी परिमाणका सामग्रीहरु भित्र्याउन सहयोगी भूमिका खेल्ने गरेको प्रत्यक्षदर्शी बताउँछन् । सशस्त्र प्रहरीसँग सेटिङमा सामान भित्र्याउनेहरुले नाकामा रहेका पसलमा रकम बुझाउने गरेको खुलेको छ । त्यहीबाट सशस्त्र प्रहरीले रकम भागबन्डा गर्ने गरेको प्रत्यक्षदर्शीको भनाई छ ।

प्रहरी र भन्सारले नाकामा हुने अस्तव्यस्तलाई समेत व्यवस्थित गर्न सकेका छैनन् ।

संघीय सांसद धवलशमशेर राणाले पनि नाकामा गरिएको कडाइले जनताले दुःख पाएको बताए । ‘पुरानो ऐन कानुनलाई टेकेर भन्सार कार्यालयले नाकामा गरेको कडाई स्वभाविक छैन उनले भने, ‘यसलाई परिमार्जन गरेर नाकामा नागरिकले पाइरहेको सास्ती हटाउनु पर्छ ।’

उनले भारतबाट दैनिक उपभोग्य बस्तुको किनमेल गर्ने नागरिकहरु निम्न र मध्यम वर्गका भएकोले दुःख नदिन पनि आग्रह गरे । ‘यहाँ एउटा गन्जी र अन्डरवेयर एक सय रुपैयाँमा आउँदैन । अव सय रुपैयाँको सामानको कर लगाउनु शोभनीय भएन,’ उनले भने, ‘भन्सार नाकामा नागरिकलाई दुःख दिने काम गर्नु हुँदैन । अर्थमन्त्रालय, बाणिज्य मन्त्रालय र सरकारको ध्यान जानु पर्छ ।’

भन्सार नाकामा गरिएको कडाइले ठूला तस्करलाई भने मालामाल नै भएको छ ।


ठूला तस्करहरुले विहान पहिलो लटमै भन्सार गरेको प्रमाण देखाएर दिनभरी अवैधरुपमा सामान भित्र्याउने गरेका छन् । सामान्य नागरिकले साँझ विहान खाने एक बोरा चामल ल्याउन खोज्दा पनि रोक्ने सशस्त्र प्रहरीले ठूला तस्करलाई भने खुलेयाम छाड्ने गरेको गुनासो आम स्थानीयको छ ।

गएको भदौ १४ गते राती भएको घटनामा पनि सशस्त्र प्रहरीले स्थानीयबासीलाई धरपकड गर्दा झडपको अवस्था सिर्जना भएको थियो । सशस्त्र प्रहरीको बन्दुकको नालले लागेर १४ वर्षीय बालकले आँखा गुमाएका छन् । नाकामा अस्तव्यस्त हुँदा पनि जिल्ला प्रशासन कार्यालयले भने कुनै एक्शन लिन सकेको छैन ।

नेपाल–भारत सीमा अन्र्तगत बाँकेको खडैचा, हिरमिनिया, भज्जुपुरुवा, नयाँ वस्ती, जयसपुर, पचपोखरा, साइगाउँ, बढैया, सैनिकलगायतका सहायक नाका चोरी तस्करीका लागि प्रमुख सहायक नाका हुन् । नाकाबाट हुने अवैध ओसारपसार नियन्त्रण गर्ने जिम्मा राज्यले सशस्त्र प्रहरीलाई दिएको छ । राज्यले दिएको जिम्मेवारी अनुसार सशस्त्र प्रहरीले भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । तर अवैध ओसारपसार गर्ने सशस्त्र प्रहरी नै असुली धन्दामा लागेपछि नाकाबाट अवैध ओसारपसार मौलाउँदै गएको छ ।

नाकामा सशस्त्र प्रहरीसँगै नेपाल प्रहरी पनि खटिने गरेको छ । तर यि दुवै प्रहरी निकाय बीचमा समन्वय र सहकार्यको समेत अभाव देखिएको छ । यसको असर भन्सार राजश्व असुलीमा परेको छ । अधिकांश सामानहरु अवैधरुपमा भित्रिने गरेका कारण भन्सार कार्यालयको राजश्व घटेको तथ्यांकले देखाउँछ ।

चालू आर्थिक वर्षको साउन पहिलो महिनामै लक्ष्य भन्दा निकै कम राजश्व संकलन भएको भन्सारको तथ्यांकले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा रहेको प्रहरी विशेष सुरक्षा गण सुर्खेतमा सारिने

२३ भाद्र २०८०, शनिबार १४:३९
नेपालगञ्ज : कर्णाली प्रदेशको प्रहरी विशेष सुरक्षा गण स्थानान्तरण गर्न प्रक्रिया थालिएको छ । हालसम्म लुम्बिनी प्रदेशको नेपालगन्जमा कार्यालयस्थानान्तरण गर्न प्रक्रिया थालिएको हो । त्यसका लागि कर्णाली प्रदेश सरकारले आवश्यक बजेट स्वीकृत गरेको जनाएको छ । सङ्घीयताको एक कार्यकाल बितिसक्दा पनि कर्णालीका प्रहरी संरचनाहरु अझै लुम्बिनीमै रहेका छन् । जस […]