काठमाण्डौ : दक्षिणी र पश्चिमी अफगानिस्तानका तीन प्रमुख शहरहरूमा तालिबान लडाकु र अफगान सशस्त्र सेनाबीच केही दिनेदेखि युद्ध जारी छ । यी शहरहरू हाल अफगानिस्तान सरकारद्वारा शासित छन् । तालिबान ती शहरलाई आफ्नो नियन्त्रणमा लिन चाहन्छन् ।
तालिबान लडाकुहरू पहिले नै हेरात, लश्कर गाह र कान्दाहार को केही भागहरूमा प्रवेश गरिसकेका छन् । कान्दाहारका एक सांसदले बीबीसीलाई भनेका छन्, ‘यो शहर तालिबानको कब्जामा पर्ने खतरामा छ । कान्दाहारका हजारौं मानिसहरूले पहिले नै आफ्नो घर छोडिसकेका छन् ।’
उनले मानवीय विपद्बारे चिन्ता पनि व्यक्त गरेका छन्। गुल अहमद कामिनले भने, ‘स्थिति घण्टा घण्टामा बिग्रँदै गइरहेको छ । बम र गोलीका आवाजले नागरिक आक्रान्त छन्। शहरमा मानविय संकटको स्थिति ज्यादै २० वर्ष यताकै गम्भीर स्तरमा पुगेको छ ।’
एक प्रतिवेदनअनुसार सन् २०२१ जनवरी यतामात्रै अफगानिस्तानमा २ लाख ७० हजार मानिस विस्थापित भइसकेका छन् । उनीहरूमध्ये अधिकांश शरणार्थी जीवन बिताउन बाध्य छन् ।
अमेरिकी र विदेशी सेना फिर्ताको घोषणासँगै तालिबानले अफगानिस्तानमा आफ्नो अधिकार क्षेत्र विस्तार गर्न आक्रामकता देखाएका छन् ।
विदेशी सेना फिर्ता घोषणापछि तालिबानले अफगानिस्तानको एक ठूलो हिस्सा, विशेषगरी ग्रामीण क्षेत्रहरू नियन्त्रण लिइसकेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बरसम्म सबै विदेशी सेना अफगानिस्तानबाट बाहिरिने घोषणा गरेपछि यस्तो स्थिति निम्तिएको हो ।
तर, लगातार बढ्दो तालिबानी गतिविधिका कारण यी शहरहरू मानवीय संकटको उच्च जोखिममा रहने बताइएको छ ।
हरेक दिन तालिबानहरूको हिंस्रक गतिविधि नियन्त्रण गर्न सरकारी सुरक्षाफौज कहिलेसम्म उभिनसक्छ भन्ने पाटो महत्वपूर्ण छ । तालिबानले अफगानिस्तानको आधा हिस्सा कब्जा गरिसकेको छ, जसमा इरान र पाकिस्तानसँग जोडिएका सीमा पनि हुन् ।
वासिङटनस्थित संगठन फाउन्डेसन अफ डिफेन्स अफ डेमोक्रेसीका अनुसार अमेरिकी सेना फिर्ता हुने घोषणा भएपछि तालिबान नियन्त्रित क्षेत्रहरूको संख्या तीन गुणा बढेको छ । अमेरिकी सरकारको आंकलनमा अफगान सरकारी सुरक्षा फौजले अर्को वर्षसम्म तालिबानसँग घुँडा टेक्नेछ ।
शनिबार तालिबान लडाकू लश्करगहस्थित गभर्नरको कार्यालयनजिकै पुगेका थिए । उनीहरू केही सय मिटरमात्र टाढा थिए। अफगान सेनाका कमाण्डरले तालिबान चरमपन्थीहरूलाई धेरै क्षति पु¥याएको दाबी गरेका छन् ।
तालिबानको पूरा ध्यान अब अफगानिस्तानको शहरहरू कब्जा गर्ने रहेको बताइएको छ । यद्यपी; सम्पूर्ण अफगानिस्तानको स्थिति नाजुक भइसकेको छ । हेलमण्ड प्रान्तको राजधानी लश्कर गाह सबैभन्दा प्रभावित क्षेत्रहरूमध्ये एक हो । यो त्यहीँ ठाउँ हो–जहाँ धेरै अमेरिकी र ब्रिटिश सैनिकहरूले आफ्नो जीवन गुमाएका थिए ।
तालिबान लडाकुहरूलाई रोक्न अफगानिस्तान विशेष कमान्डो फोर्स खटाइएको छ ।
कट्टरपन्थीहरूले केही घरहरूमा आश्रय लिएका छन्, जसका कारण उनीहरूलाई हटाउन कठिन भएको छ । जसले गर्दा द्वन्द्व लम्बिने र अझ हिंसात्मक बन्ने आंकलन गरिएको छ । नागरिकले ज्यान गुमाउने क्रम जारी छ ।
अफगानिस्तानका लागि युरोपेली संघका विशेष दूत तोमास निकलासनले युद्धले त्यहाँको अवस्था अझ भयावह बनाउने बताएका छन् । (एजेन्सी)