गुरुङ समुदायद्वारा तमु ल्होसार मनाईंदै

१५ पुष २०७६, मंगलवार १६:३१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।
यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिने तमुल्होसार मूलआयोजक समितिका अध्यक्ष टेकबहादुर गुरुङले बताए । परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन् । मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो ।
यसवर्ष तमु ल्होसारका अवसरमा आइतवारदेखि तीन दिनसम्म गुरुङ समुदायको सांस्कृतिक परम्परामा आधारित लोकदोहोरी गीत प्रतियोगिता आयोजना गरिएको समितिका महासचिव सूर्यबहादुर गुरुङले जानकारी दिए । तमु ल्होसारका अवसरमा १५० भन्दा बढी कक्ष राखिएका छन् । जहाँ गुरुङ समुदायका मौलिक पहिचानका चीजबीज एवं वेषभूषा र खानाको प्रदर्शनीसहित बिक्री वितरण भइरहेको छ । गुरुङ समुदायको बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउन शुरु गरिएको विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । यस अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिएकामा गत वर्षदेखि कटौती गरिएकामा गुरुङ समुदायको असन्तुष्टि छ ।
केही स्थानीय तहले भने यस पर्वका अवसरमा आज सार्वजनिक बिदा दिइएको जनाएका छन् । यसैगरी बाँकेमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि तमु ल्होसार मनाउन लागिएको तमू ह्युला छोज धी गुरुङ राष्ट्रिय परिषद बाँकेकी सचिव शोभा गुरुङले बताइन ।
बिहान ८ बजेदेखि नेपालगञ्जको गुम्बामा पुजा आजा, मनोरञ्जनात्मक साँँस्कृतिक कार्यक्रम, शुभकामना आदान प्रदान जस्ता कार्यक्रम राखिएको उनले बताइन । कोहलपुर र सोनपुरमा पनि त्यहाँका इकाई समितिहरुले छुट्टै कार्यक्रमको आयोजना गरि मनाउन लागेको उनले बताईन् ।

Next Post

भोली र पर्सी चिसो बढ्ने सम्भावना

१५ पुष २०७६, मंगलवार १६:३१
सदरलाइनडटकम, काठमाण्डौ : भारतको जम्मु–कश्मीरमा विकसित पश्चिमी न्यूनचापीय प्रणाली नेपालतर्फ सरेको छ । मंगलवार रातीसम्म यो प्रणाली नेपालमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । यो मौसम प्रणालीका कारण आज रातीदेखिनै देशका उच्च–पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र बर्षा हुने सम्भावना छ । हिमपात र पानी परेपछि देशका […]

सम्बन्धित