बाँके प्रहरीद्वारा संयुक्त भिड नियन्त्रण अभ्यास

रुद्र सुवेदी २० आश्विन २०८१, आईतवार १५:०४
 

खजुरा (बाँके) : बाँकेमा पर्वलक्षित हुनसक्ने विभिन्न घटनाहरुलाई क्षति रहित नियन्त्रणमा लिने उद्देश्यले बाँके प्रहरीले सशस्त्र प्रहरीसंग संयुक्त भीड नियन्त्रण अभ्यास गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजना र सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटरा वागेश्वरी बाँकेको सहकार्यमा लुम्बिनी प्रदेश प्रहरी गण खजुरा बाँकेमा संयुक्त भीड नियन्त्रण अभ्यास प्रर्दशनी गरिएको हो ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले समाजमा शान्ति र सुरक्षा कायम गर्नको लागि जनताको भरोसा प्रहरी प्रशासन नै भएको हुनाले बाँकेबासीलाई प्रहरी प्रशासनसँग समन्वय गरेर जिल्लामा शान्ति कायम गर्न आग्रह गरे ।

उनले भने– ‘हामी सबैले कानूनी राज्यको स्थापना गर्दै यसको सम्बद्र्धन र पबद्र्धन गर्नुपर्दछ । र यो हामी सबैको जिम्मेवारी पनि हो । जिल्लामा शान्ति सुरक्षा कायम गर्नको लागि प्रहरी प्रशासनसँगै यहाँका प्रत्येक नागरिकहरु पनि उत्तिकै सम्बेदशिल हुनु पर्दछ । यो एक हप्ते संयुक्त भीड नियन्त्रण अभ्यासको प्रर्दशनले कार्यसम्पादनलाई कसरी सफलता पुर्वक सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा सकारात्मक सन्देश दिनेछ ।’ प्रजिअ रिजालले सो प्रर्दशनीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई धन्यबाद दिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले चाडबाड नजिकिएसँगै हुन सक्ने विभन्नि खालका भिडभाड र आन्दोलनलाई ध्यानमा राखी नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त भीड नियन्त्रण अभ्यास गराईएकोे बताए ।

उनले यसको उद्देश्य हुलदंगालाई नियन्त्रणमा लिदा सकेसम्म क्षति हुन नदिने र भएमा कम भन्दा कम क्षति हुनेगरी कसरी काम गर्न सकिन्छ भन्ने सिकाइका लागि उपयोगि हुने बताए ।

‘चाडबाड नजिकिएको बेला बजारमा मूल्य बृद्धिका साथै अन्य विषयमा पनि आन्दोलन हन सक्ने कुरालाई ध्यानमा राखेर हामीले सशस्त्र प्रहरीसँग संयुक्त भीड नियन्त्रण अभ्यास गरेका हौं’ उनले भने ।


यसका साथै प्रहरी प्रमुख कार्कीले बाँके ‘सदभावको शहर’ भनेर चिनिएको हुनाले यहाँ कुनैपनि प्रकारको आन्दोलन नहोस् र सदभाव नबिग्रियोस् भन्नका लागि सदभाव विथोलिने गरी हुन सक्ने जुनसुकै आन्दोलनलाई कसरी सम्हाल्ने भन्ने विषयमा आज गरिएको संयुक्त भीड नियन्त्रण अभ्यासले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर वागेश्वरी बाँकेका प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले शक्ति प्रयोगका आधारमा हुने हुलदंगा व्यवस्थान गर्ने नै मुख्य उद्येश्य भएको बताए ।

‘अन्तराष्ट्रिय कानून अनुसार जथाभावि शक्ति प्रयोग गर्न पाइँदैन’– उनले भने–‘यदि आन्दोलन भईहालेको अवस्थामा आन्दोलन रोक्नका लागि तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीले कानून त कसरी भीडलाई नियन्त्रण गर्ने भन्ने विषयमा अभ्यास गरिएको हो ।’

विशेष गरेर नेपालगञ्जमा हुने हरेक प्रकारको अवाञ्छित कृयाकलापले श्रृजना गर्ने भीडलाई व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा शक्ति प्रयोगको सिद्धान्तलाई बाँकेमा कार्यरत जनपद र सशस्त्र प्रहरीको संयुक्त फोर्सलाई अभ्यास गराईएको हो ।

सो अभ्यासमा नेपाल प्रहरीका एक सय दुई प्रहरी र सशस्त्र प्रहरीका सैंतिस गरी जम्मा एक सय ३९ जना जवान सहभागी भएको अभ्यास तालिमका कमाण्डर यामबहादुर बुढा मगरले जानकारी दिए ।

कार्यक्रममा प्रजिअ रिजाल,श्री बज्रदल गणका गणपति प्रमुख सेनानी रविन श्रेष्ठ, बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक कार्की, सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी र राष्ट्रिय अनुसन्धानका बाँके प्रमुख उप अनुसन्धान निर्देशक ओम खड्कालगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके प्रहरीद्वारा सशस्त्र प्रहरीसंगको सहकार्यमा संयुक्त भिड नियन्त्रण अभ्यासको फोटोकथा

२० आश्विन २०८१, आईतवार १५:०४
बाँके प्रहरीद्वारा सशस्त्र प्रहरीसंगको सहकार्यमा संयुक्त भिड नियन्त्रण अभ्यास गरेको छ । बाँकेमा पर्वलक्षित हुनसक्ने विभिन्न घटनाहरुलाई क्षति रहित नियन्त्रणमा लिने उद्देश्यले बाँके प्रहरीले सशस्त्र प्रहरीसंग संयुक्त भीड नियन्त्रण अभ्यास गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजना र सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर वागेश्वरी बाँकेको सहकार्यमा […]