प्रारम्भिक कक्षा पढाईको लागि पैरवी तथा जनचेतनामूलक अभियान सञ्चालन

१३ कार्तिक २०७४, सोमबार १८:१७
 

सदरलाइनडटकम 
१३ कात्तिक, नेपालगन्ज : प्रारम्भिक कक्षाका बालबालिकाको शिक्षाको स्तर बढाउने उदेश्यले सञ्चालनमा रहेको प्रारम्भिक कक्षा पढाई कार्यक्रमको बारेमा सोमवार पैरवी तथा जनचेतनामूलक अभियान सम्पन्न गरिएको छ ।
‘रमाइलो पढाई, दिगो सिकाई’ भन्ने मूल नाराका साथ सुरु गरिएको सो कार्यक्रमको महत्वबारे अभिभावक, शिक्षक, समुदाय र सर्वसाधारणमा चेतना बृद्धि गर्ने उदेश्यले जनचेतनामूलक अभियान कार्यक्रम आयोजना गरिएको बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहाुदर थापाले जानकारी दिए ।
सो अभियान अन्तर्गत विहान एक जनचेतनामूलक ¥याली निकालिएको थियो भने दोस्रो चरणमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । जिल्ला शिक्षा कार्यालयबाट निकालिएको जनचेतना ¥यालीले सुर्खेतरोड, धम्बोझी चोक हुँदै अन्तरक्रियामा परिणत भएको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै सहायक जिल्ला शिक्षा अधिकारी थापाले प्रारम्भिक कक्षा पढाई कार्यक्रमका कारण कक्षा १ देखि ३ सम्मका बालबालिकाको पठन सिपमा सुधार हुनुका साथै अभिभावकलाई समेत जिम्मेवार र सचेत बनाउने काम गरेको दाबी गरे । उनले भने–‘यो कार्यक्रमलाई सफल बनाउन अझै पनि सबैले मिलेर तीव्र गतिमा काम गर्नु पर्ने अवस्था देखिएको छ ।’
प्रारम्भिक कक्षा पढाई कार्यक्रमका क्षेत्रीय प्रमुख रामअचल यादवले फिल्डमा धेरै काम भएको भए पनि ती सबै कामलाई प्रतिवेदनमा राख्न नसकिएको बताए । उनले सो कार्यक्रम अन्तर्गत बाँकेमा हालसम्म सबैभन्दा उत्कृष्ट काम भएको आफुहरुको विश्लेषण रहेको खुलासा समेत गरे ।
प्रधानाध्यापकहरुको तर्फबाट बोल्दै ललिता उपाध्यायले प्रारम्भिक कक्षा पढाई कार्यक्रमले अभिभावकलाई सचेत र जिम्मेवार बनाउने कार्य गरि रहेको हुँदा बालबालिकाको पठनशिपमा सुधार भैरहेको आफुले पाएको बताईन । उनले सो कार्यक्रमको निरन्तरताका लागि पनि केही ब्यबस्था गरिनु पर्ने कुरामा जोड दिईन ।
मसानघाट टोल पढाई समुहका संयोजक तलत परविन खानले यो कार्यक्रम बालबालिकाको शिक्षामा जग बलियो गर्नका लागि एकदमै उत्कृष्ट भएको जनाउँदै यसमा समुहलाई केही आर्थिक सहयोग थप्न सके झन राम्रो गर्न सकिने सुझाव दिईन ।
सो अवसरमा प्रारम्भिक कक्षा पढाई कार्यक्रम जिल्ला समन्वय कार्यदलका सदस्य शोभना मिश्र, बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान, कार्यक्रम प्रबन्धक बसन्त विसी, कार्यक्रम संयोजक सान्तकुमार चौधरी लगायतले प्रारम्भिक कक्षा पढाई कार्यक्रमको महत्वको बारेमा आफ्ना भनाईहरु राखेका थिए ।
सोही प्रकारका चेतनामूलक ¥याली र अन्तरक्रिया कार्यक्रमहरु जिल्लाका बिभिन्न बिद्यालयको कार्य क्षेत्रहरुमा पनि आयोजना गरिसकिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले जानकारी दिए ।
सो कार्यक्रम अन्तर्गत बाँकेमा ६ सय ७८ वटा टोल पढाई समूह निर्माण गरी ती समूह मार्फत बालबालिकाको पढाई शिप सुधारका लागि सक्रिय रुपमा पठनपाठन लगायत विभिन्न गतिविधिहरु भैरहेको छ । प्रारम्भिक कक्षा पढाई कार्यक्रमले बाँकेका ३ सय ५९ सामुदायिक विद्यालय, मदरसा र गुरुकुलमा कक्षा १–३ मा अध्ययन गर्ने ६२ हजार बालबालिकाको शैक्षिक शिप विकासमा सहयोग गरिरहेको छ ।

   


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्तराष्ट्रिय स्तरको नृत्य प्रतियोगीताको अडिसन हुँदै

१३ कार्तिक २०७४, सोमबार १८:१७
सदरलाइनडटकम    १३ कात्तिक, नेपालगन्ज : चर्चित गायक समिर आचार्यका दुई गीतहरुमा अन्तराष्ट्रिय स्तरको नृत्य प्रतियोगीता गरिने भएको छ । अमेरिकाबाट सञ्चालित युएस खबरअनलाईनले गायक समिरका हालै सार्वजनिक भएका ‘घिन घिन बज्यो मादल’ र ‘मेरो स्टाईल यस्तै छ’ बोलका गीतहरुमा नृत्य प्रतियोगीता गर्न लागेको हो । नेपालगन्जमा पत्रकार सम्मेलन गरि मंगलबारदेखि […]