नेपालगञ्ज–कोहलपुर–सुर्खेत कोरिडोर निर्माण गरिने

सदरलाइन संवाददाता २३ फाल्गुन २०८०, बुधबार १४:२५
 

नेपालगञ्ज : नेपालगञ्जदेखि कोहलपुर हुँदै सुर्खेत जोड्ने शहरी कोरिडोर निर्माण गरिने भएको छ । अव्यवस्थित बसोबास बढ्न थालेपछि नजिकका सहरबिच सहज पहुँच स्थापित गर्न सहरी कोरिडोर निर्माण गर्न लागिएको हो ।

कोरिडोरका लागि अहिले एकीकृत विकास रणनीति तयार पारिँदै छ । त्यसका लागि सरोकारवालासँग छलफल चलिरहेको बताइन्छ । सुर्खेतको वीरेन्द्रनगरमा शहरी कोरिडोर विकासका लागि दीर्घकालीन सोच र रणनीतिक योजनासम्बन्धी छलफल गरिएको छ । शहरी विकास मन्त्रालयका सहसचिव पद्मकुमार मैनालीले तीन वटा सहर जोडेर सहरी कोरिडोर विकास गर्न लागेको जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज–कोहलपुर–सुर्खेतमा शहरी कोरिडोर बन्न लागेको हो । आसपासमा बस्ती विकास हुँदै जाँदा भविष्यमा व्यवस्थित पूर्वाधार विकासमा ठुलो चुनौती हुने देखिएपछि शहरी कोरिडोरको अवधारणा अघि सारिएको मैनालीले जानकारी दिए ।

शहरी विकास मन्त्रालयले त्यसका लागि अहिले पूर्वसम्भाव्यता अध्ययन गरिरहेको छ । एक घण्टाको दुरीमा रहेका साना सहरलाई कसरी आर्थिक आयआर्जनमा जोड्न सकिन्छ भन्ने अध्ययन भइरहेको छ । आर्थिक, सामाजिक, सांस्कृतिक पक्षलगायतको अध्ययन थालिएको छ । यसै आर्थिक वर्षमा पूर्वसम्भाव्यता अध्ययन सकेर अर्को वर्ष विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरिने जनाइएको छ ।


यसअघि मन्त्रालयले चार वटा सहरी कोरिडोरको काम गरिसकेको छ । पाँचौँ कोरिडोरका रूपमा नेपालगञ्ज–कोहलपुर–सुर्खेतको विस्तृत सम्भाव्यता अध्ययन गर्न लागिएको मन्त्रालयले जनाएको छ । अहिले कोरिडोर निर्माणको सुरुवाती चरणको काम थालिएको हो । अध्ययन प्रतिवेदनले लगानी कस्तो, के कति मात्रालगायत विषय प्रस्ट पारेपछि कोरिडोरमा लगानी र कति वर्षमा कस्तो परिणाम आउने थाहा हुने मन्त्रालयको भनाइ छ ।

यो सङ्घीय सरकार अन्तर्गत कार्यान्वयन हुने कार्यक्रम हो । प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कोरिडोर निर्माणमा प्रदेश सरकारले सङ्घीय सरकारलाई पूर्ण सहयोग गर्ने बताए । उनले सहरी कोरिडोर विकासका लागि दीर्घकालीन सोच र रणनीतिक योजना तर्जुमा प्रादेशिक गोष्ठीमा यस्तो विचार व्यक्त गरे । उनले भने, “सहर व्यवस्थित नहुँदा विकास अस्तव्यस्त हुने भएकाले सहरी कोरिडोर अघि बढाउन आवश्यक छ । शहरी विकास मन्त्रालयले थालेको अभियानलाई प्रदेश सरकारले महत्वका साथ लिएको छ ।”

वीरेन्द्रनगरमा भएको छलफलले कोरिडोर निर्माणका लागि महत्वपूर्ण खाका तयार पारेको जनाइएको छ । नयाँ मोडलका रूपमा रहेको सहरी कोरिडोरलाई कसरी अघि बढाउने भन्ने विषयमा सरोकारवालासँग छलफल गरिएको थियो । केही सामान्य छलफल भएको र विस्तृत अध्ययनका आधारमा अन्य काम अघि बढ्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव आनन्द सारूले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज–कोहलपुर–सुर्खेत कोरिडोर निर्माण गर्ने भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो

२३ फाल्गुन २०८०, बुधबार १४:२५
नेपालगञ्ज : धादिङको गजुरी गाउँपालिका ५ घाटबेंसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । रुपन्देहीबाट काठमाडौंतर्फ जाँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित घाटबेँसीबाट बुधवार बिहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी […]