हुम्लामा मौसमी फ्लुका बिरामी बढे

सदरलाइन संवाददाता १५ श्रावण २०८०, सोमबार १५:०३
 

हुम्ला : जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्थाहरूमा मौसमी फ्लुका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । मौसममा आएको परिवर्तन र बर्षायाममा दूषित पानीको प्रयोगले गर्दा यस्ता खाले बिरामीको सङ्ख्या दैनिक वृद्धि भएको हो ।

चार दिनदेखि निमोनियाले थलिएकी सात वर्षे छोरीको अस्पतालमा उपचार गराई रहेकी सिमकोट गाउँपालिका– ७ की धौली शाहीले अस्पतालमा बिरामी खचाखच भरिएको बताइन् । उनले छोरीलाई श्वासप्रश्वासमा समस्या आउँदा उपचारका लागि अस्पताल लगिएको र चेकजाँचपछि चिकित्सकबाट निमोनिया भएको जानकारी प्राप्त भएको बताइन् ।

स्वास्थ्य सेवा कार्यालयकी निमित्त कार्यालय प्रमुख एवम् वरिष्ठ अनमी सरिता बोहराले एक साता यता अस्पतालमा उपचारका लागि आउने बिरामीहरू अधिकांश मौसमी फ्लुका रहेको बताइन् । मौसम परिवर्तनसँगै अस्पतालमा आउने बिरामीहरू मौसम फ्लुबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या उच्च रहेको हो । उनले सामान्य अवस्थामा अस्पतालको ओपिडी कक्षमा दैनिक साठी सत्तरी जनासम्म बिरामी आउने गरेको भएपनि पछिल्ला केही दिनयता एक सय ५० जनाभन्दा बढी बिरामी स्वास्थ्य परीक्षणको लागि आउने गरेको बताइन् । उनले उच्च ज्वरो आउने, रुघाखोकी, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्ने, वान्ता हुने र पेट दुख्ने, ज्वरो आउने, निमोनिया रोगको लक्षणसहितका बिरामी आउने गरेको बताइन् ।


सिजनल फ्लुबाट सङ्क्रमण भएको महसुस भएमा आराम गर्नुका साथै अपनाउनु पर्ने चिकित्सकको सुझाव छ । कतिपय बिरामीले चिकित्सकको सल्लाह बिनै एन्टिबायोटिक औषधिको सेवन गरेको समेत पाइएको मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक कैलाश लामाले बताए । चिकित्सक लामाले भाइरलको सङ्क्रमण हुनासाथ एन्टिबायोटिक औषधिको सेवन गर्नु उपयुक्त नहुने फ्लुको सङ्क्रमण भएका बिरामीले आराम गर्ने, झोलिलो र पोषिलो खानेकुराहरू खाने र सङ्क्रमण बढे तुरुन्तै स्वास्थ्य संस्थामा जान आग्रह गरे ।

यसपटक सिजनल फ्लुबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या दैनिक बढ्दै गएको छ । फ्लुबाट सङ्क्रमित हुने बिरामीहरू सुरुकै अवस्थामा भए औषधि सेवनको सिफारिस गरेर घर फर्काइएको भएपनि कतिपय बिरामीलाई भर्ना गरेर इन्जेक्शनको माध्यमबाट उपचार गर्नुपरेको छ । दैनिक २० जनासम्म भर्ना गर्नुपर्ने अवस्था आएपछि अस्पतालमा बेडको समेत समस्या हुने गरेको छ । जिल्ला अस्पताल १५ शय्या क्षमताको भएको कारण पनि समस्या भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अछामी समाजद्वारा मानव सेवा आश्रमलाई १२ हजार सहयोग

१५ श्रावण २०८०, सोमबार १५:०३
नेपालगञ्ज : अछामी सेवा समाज बाँकेका अध्यक्ष पुष्कर बहादुर खड्काले १२ हजारको चेक हस्तान्तण गरेका छन् । नेपालगञ्ज मानव सेवा आश्रमका संयोजक उर्विन सापकोटालाई खड्काले चेक हस्तान्तरण गरेका हुन् । अछामी सेवा समाज बाँकेको १८ ओै स्थापना दिवसका अवसरमा चेक दिएका हुन् । चेक हस्तान्तरणपछि आश्रममा रहेका बृद्धबृद्धा तथा अन्य […]