नेपालगञ्जमा पाँच तारे होटल पौवाको शिलान्यास

सदरलाइन संवाददाता १७ फाल्गुन २०८०, बिहीबार १७:३१
 

नेपालगञ्ज : विश्वबजारमा छुट्टै नेपाली हस्पिटालिटीको ब्राण्डिङ गर्ने लक्ष्यसहित ७ वर्ष अघि स्थापना भएको होटल पौवाले नेपालगञ्जमा आफ्नो १३औं शाखा सञ्चालनको थालनी गरेको छ ।

कोशी र मधेश प्रदेश बाहेक सबै प्रदेशमा उपस्थिती जनाईसकेको पौवा होटलले पर्यटनको पश्चिम ढोकाको रुपमा रहेको नेपालगञ्जमा १३औं शाखा विस्तारको थालनी गरेको जनाएको छ ।

सुविधा सम्पन्न ५ तारे होटल निर्माणको बिहीवार पूजापाठसहित शिलान्यास गरिएको छ । होटल पौवा प्रालीका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले पूजापाठ गर्दै होटलको शिलान्यास गरेका हुन् ।

नेपालगञ्जमा सञ्चालन हुने होटल निर्माणको काम २ वर्षमा सम्पन्न गरी ग्राहकलाई सेवा दिइने पौवाका सञ्चालकहरुले जनाएका छन् ।

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मुल आदर्शलाई आत्मासाथ गर्दै नेपाली पर्यटन बजारमा प्रवेश गरेको होटल पौवाकोे नेपालगन्जमा सञ्चलन हुने १३औं शाखामा फरक–फरक स्वाद र परिकारका ५ वटा रेष्टुरेन्ट, ४ वटा ठुलो सभा हलसहित १४ वटा मिटिङ हल, ७ वटा स्वीट रुमसहित ८० वटा डिलक्स रुम उपलब्ध हुनेछन् ।

नेपाली पर्यटन बजारको पश्चिमको मुल ढोकाको रुपमा रहेको नेपालगञ्जको पर्यटन उद्योगलाई दृष्टिगत गर्दै ५ तारे सुविधा सहितको होटल सञ्चालनको शुरुवात गरेको होटल पौवा प्रालीका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । उनले नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको होटल पौवा नेपाली होटल तथा रेष्टुरेण्ट क्षेत्रमा नौलो प्रयोग भएको दाबी गरे । होटलमा प्रवेश गरेदेखि बाहिरिँदासम्म नेपाली स्वाद, नेपाली संस्कृति र नेपालीपन् महशुस् हुनेगरी होटलले सेवा दिने अध्यक्ष भण्डारीले बताए ।


होटल पौवाका सञ्चालक समितिका सदस्य ध्रुवराज न्यौपानेले पौवाको सेवा लिने हरेक ग्राहकले नेपालीपनको महशुस् गर्ने र यसबाट विश्व पर्यटन बजारमा नेपाली आतिथ्यताको ब्राण्डिङ हुने विश्वास ब्यक्त गरे । उनले २ वर्षभित्र निर्माण सम्पन्न गरी सेवा दिने योजनाका साथ कार्य आरम्भ गरिएको जनाउँदै पौवा नेपाली हस्पिटालिटी भएको नेपालको एउटा मात्र समुह भएको दाबी गरे ।

नेपालगञ्जमा निर्माण शुरु गरिएको होटलमा मात्र पौवाकोे करिब १ अर्व लगानी हुने अनुमान गरिएको छ ।

नेपालगञ्जको यो होटल पौवाको पहिलो पाँच तारे होटल हुनेछ । पौवाका प्रबन्ध निर्देशक ज्ञवालीका अनुसार स्थापनाको ७ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पौवाको पहुँच पुगेको छ भने छिमेकी कर्णाली प्रदेशको जुम्ला, गण्डकी प्रदेशको पोखरा, सुदुरपश्चिम प्रदेशको धनगढी तथा बाग्मती प्रदेशको काठमाडौं र सौराहामा पौवाको सेवा उपलब्ध छ ।

लुम्बिनी प्रदेशको रुपन्देहीको भैरहवाको चिल्ड्रेन पार्क र बुटवलको योगीकुटी, दाङको भालुवाङ, लमही र घोराही, कपिलवस्तुको गोरुसिङ्गेमा पौवाले समान र नेपालीपन सहितको सेवा दिइरहेको छ । त्यसैगरि पाल्पाको तानसेन र गुल्मीको रेसुङ्गामा पनि अन्तर्राष्ट्रियस्तरको रिसोर्टसहित होटल सञ्चालनमा रहेको छ ।

प्रबन्ध निर्देशक ज्ञवालीले होटल पौवाले यसै आर्थिक वर्षबाट चितवनको सौराहामा पनि सेवा सुरु गर्न लागेको जानकारी दिए । उनले यसै आर्थिक वर्षमा थप २ वटा शाखा थप गर्ने लक्ष्य राखिएको जनाउँदै कोशी प्रदेशमा होटल सञ्चालनको अध्ययन गरिरहेका तथा मधेश प्रदेशको जनकपुरमा सम्भाब्यतासहित होटल संचालनको प्रारम्भिक तयारी गरिएको बताए । यस्तै, गण्डकी प्रदेशमा पनि थप होटल सञ्चालनको अध्ययन थालिएको उनले बताए ।

नेपालगञ्जमा पहिलो होटलका रुपमा ९ तला सहितको एउटै छानामुनी क्यासिनो, स्पा, स्विमिङ, जिम सुविधा रहने होटलका प्राविधिक समुहका प्रमुख इन्जिनियर प्रदीप भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आगलागीमा परी बर्दियामा एक जनाको मृत्यु

१७ फाल्गुन २०८०, बिहीबार १७:३१
नेपालगञ्ज : बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा बिहीवार राती गोठमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगलागी भएपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्षिराम जैशीको आगोमा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । गोठमा भएको आगलागी नियन्त्रण गर्ने क्रममा राति १० बजे तिर […]