शुक्रवार बुद्ध जयन्ती मनाईंदै

सदरलाइन संवाददाता २२ बैशाख २०८०, शुक्रबार १२:३२
 

नेपालगञ्ज : वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्ती । शुक्रबार भगवान् बुद्धप्रति आस्था प्रकट गरिँदैछ ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यो दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रूपमा मनाउँछन् ।

नेपालको लुम्बिनीमा २५६६ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा जन्मिएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए ।

छ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्ति भएपछि सिद्धार्थले भगवान् बुद्धका रूपमा प्रसिद्धि पाए ।


भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ, त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्छ, दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठवटा मार्ग छन् भनी बुद्धले ज्ञान दिएका छन् । यसलाई बुद्धले दिएका आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ ।

आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्छन् । यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् ।

बुद्धजयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी, काठमाडौंस्थित बौद्धनाथ र स्वयम्भुनाथलगायत स्थानमा श्रद्धालुको घुइँचो लागेको छ । बुद्धजयन्तीका अवसरमा सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा यस आर्थिक वर्षमा १४ वटा विद्यालयका भवनहरु बन्दै

२२ बैशाख २०८०, शुक्रबार १२:३२
कोहलपुर (बाँके) : शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको कोहलपुर नगरपालिकाले चालू आर्थिक वर्षमा एकै पटक १४ वटा विद्यालयका भवन निर्माण गरिरहेको छ । दुई वटा विद्यालयका भवन निर्माण सम्पन्न भइसकेका छन् भने अरु १२ वटा विद्यालयको भवन निर्माणाधीन अवस्थामा रहेको कोहलपुर नगर शिक्षा तथा खेलकुद शाखाका अधिकृत रविलाल मिजारले […]