ढाका म्याराथनमा पदक जित्नेलाई प्रोत्साहन गरिने

सदरलाइन संवाददाता १० माघ २०८०, बुधबार १३:२३
 

नेपालगञ्ज : नेपाली म्याराथन धावकको हौसला बढाइरहन नेपालगञ्ज म्याराथनले प्रोत्साहन कार्यक्रम अघि सारेको छ । गत मंसिर ९ गते सम्पन्न नवौं धारा नेपालगञ्ज म्याराथनमा पदक विजेता खेलाडीलाई कुनै पनि अन्तर्राष्ट्रिय म्याराथनमा पदक जित्दा प्रोत्साहन पुरस्कार प्रदान गर्ने बोर्ड बैठकले निर्णय गरेको हो ।

यसैबमोजिम बंगलादेशको राजधानी ढाकामा यही माघ १२ गते शुक्रवार हुन लागेको बंगबन्धु शेख मुजिब ढाका इन्टरनेशनल म्याराथनमा पदक जित्ने खेलाडीलाई नेपालगञ्ज म्याराथनले नगद पुरस्कारले प्रोत्साहन गर्ने भएको छ ।

ढाका म्याराथनमा स्वर्ण पदक जित्नेलाई २५ हजार नगद, रजत जित्नेलाई १५ हजार र कास्य जित्नेलाई १० हजार नगदले प्रोत्साहन गर्ने नेपालगञ्ज म्याराथन बोर्डले निर्णय गरेको अध्यक्ष टीएस ठकुरीले बताए । ‘नेपालगञ्ज म्याराथनमा पदक जितेर विदेशी भुमिमा हुने मान्यताप्राप्त म्याराथनमा पदक जित्ने खेलाडीलाई थप हौसला बढाउन यसबर्षदेखि सानो पुरस्कार दिदै अघि बढ्न खोजेका छौं ।’


अध्यक्ष ठकुरीले भने–‘यसले पक्कै खेलाडीलाई अभिप्रेरित गर्नेछ भन्ने अपेक्षा लिएका छौं ।’ नवौं धारा नेपालगञ्ज म्याराथनमा पदक जितेका अधिकांस खेलाडी नै ढाका म्याराथनमा अवसर पाएकोमा खुशी लागेको अध्यक्ष ठकुरीले बताए ।

नवौं धारा नेपालगञ्ज म्याराथनमा पुरुषतर्फ गोपीचन्द्र पार्की, खडकबहादुर खड्का, किरणसिंह बोगटी र सन्तोष विक्रम बिष्टले क्रमशः शीर्ष चार स्थान हासिल गरेका थिए । त्यसैगरी महिला हाफ म्याराथनतर्फ सन्तोषी श्रेष्ठ, फुलमती राना, पुष्पा भण्डारी र विन्द्रा धान्के श्रेष्ठले शीर्ष चारभित्र स्थान सुरक्षित गरेका थिए ।

गोपी भने ढाका म्याराथनमा सहभागिता जनाउन नसक्ने भएका छन् । बुवाको असामयिक निधनमा कारण उनी काजरियामा छन् । गोपीलाई लन्डन म्याराथन पठाउने तयारीमा नेपालगन्ज म्याराथन आयोजक लागिपरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

९ औ डाफे कप फूटबल प्रतियोगिता माघ १५ देखि हुने

१० माघ २०८०, बुधबार १३:२३
नेपालगञ्ज : बाँकेको खजुरा ४ डि गाउँ मिनी रंगशालामा ९ औ डाफे कप फूटबल प्रतियोगिता यहि माघ १५ गतेदेखि सञ्चालन हुने भएको छ । न्यु डाफे स्पोर्ट्स क्लबको आयोजनामा नक आउट फूटबल प्रतियोगिता हुन लागेको हो । बुधबार आयोजित पत्रकार सम्मेलनमा क्लबका पुर्व अध्यक्ष प्रतियोगिता आयोजक समितिका संयोजक तिलकबिर सुनारले […]