बाँकेका बालबालिका विद्यालय छाड्ने अधिक

सदरलाइन संवाददाता ६ माघ २०८०, शनिबार १८:०४
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशका बाँके र कपिलवस्तु जिल्लामा प्रदेशमै सबैभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । यसैगरी दुवै जिल्लामा विद्यालयमा रहेका बालबालिकाको विद्यालय छाड्ने जोखिम समेत बढी रहेको बताइएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहयोगमा युनिसेफ र ग्लोबल एक्सन नेपालले विद्यालय बाहिर रहेका बालबालिका अवस्थाको अध्ययन गरी शनिबार नेपालगञ्जमा प्रतिवेदन प्रबोधीकरण कार्यक्रम गरेका छन् । प्रतिवेदनमा लुम्बिनीको सिस्ने गाउँपालिकालाई केन्द्रित गरिएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक नीलकण्ठ ढकालले लुम्बिनी, कर्णाली र मधेस प्रदेशमा विद्यार्थीको विद्यालय छाड्ने अवस्थालगायतमा केन्द्रित भई प्रतिवेदन तयार गरिएको जानकारी दिए ।

निर्देशक ढकालले भने, ‘के कारणले विद्यार्थीले पढाइ बिचमा छाडेका छन्, त्यसका जोखिम के छन् भनेर अध्ययन गरिएको छ’ प्रस्तुत प्रतिवेदन अनुसार नेपालभरि ५ देखि १७ उमेर समूहका ११.३ प्रतिशत विद्यार्थी विद्यालय बाहिर रहेकोमा बाँकेमा १७.९ प्रतिशत छन् । कपिलवस्तुमा १६.२ प्रतिशत छन् ।


कक्षा १–५, ६–८, ९–१२ सम्म पनि विद्यालय बाहिर हुनेमा बाँके र कपिलवस्तुका सबैभन्दा बढी छन् । यसैगरी लुम्बिनीमा १–५ सम्म अध्ययन गरिरहेका मध्ये २०.७ प्रतिशत विद्यार्थी जुनसुकै समयमा पनि विद्यालयबाट बाहिर हुने जोखिममा छन् । ६–८ सम्म ३३ प्रतिशत र ९–१२ का ७८.९ प्रतिशत विद्यार्थी जुनसुकै समयमा विद्यालय बाहिर हुन सक्ने जोखिममा रहेको बताइएको छ ।

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रका पूर्व महानिर्देशक तथा हाल कर्णाली प्रदेशका सचिव चूडामणि पौडेलले विद्यार्थी एक जना पनि विद्यालय बाहिर नहुन र जान नपरोस् भनेर कारण पहिचानका लागि अध्ययन गरिएको बताए ।

प्रमुख सचिव पौडेलले भन्नुभयो, ‘किन बिचैमा पढाइ छोड्छन, त्यसमा नीतिगत र कार्यान्वयनमा के कस्ता कमजोरी छन् भनेर यो अध्ययन गरिएको हो ।’

शिक्षामा लामो समयसम्म एउटैखालको अवस्था विद्यमान रहनु सबैको कमजोरी भएको उनको भनाइ छ । विद्यार्थीलाई विद्यालयमा टिकाउन र सिकाउन केन्द्र, प्रदेश र स्थानीय तहबिच समन्वय जरुरी भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीनदीको सरसफाइमा जुटे युवा

६ माघ २०८०, शनिबार १८:०४
नेपालगञ्ज : बाँकेको राप्ती नदी आसपासमा फोहोर बढेको भन्दै स्थानीय युवा सरसफाइमा जुटेका छन् । राप्ती नदीमा तीर्थालुद्वारा पूजापश्चात् फ्याँकिएका प्लास्टिकका थैला, फूलमालालगायत अन्य फोहरजन्य कच्चापदार्थले नदीलाई कुरुप बनाएको भन्दै युवा नदी क्षेत्रको सरसफाइमा जुटेका हुन् । वरपर देखिने फोहरले नदीलाई कुरुप बनाएको भन्दै यहाँका युवाले नदी वरपरको वातावरण स्वच्छ […]