ऐतिहासिक हजरत बाबा कम्मर शाह मेला शुरु

सदरलाइन संवाददाता १६ पुष २०८०, सोमबार १५:४२
 

नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीमा हिन्दू र मुस्लिम समुदायले मनाउने ऐतिहासिक हजरत बाबा कम्मर शाह मेला शुरु भएको छ । हिन्दू र मुस्लिम समुदायले मिलेर सञ्चालन गर्ने मेलामा भारतबाट समेत हजारौँ दर्शनार्थी आउने गरेका छन् ।

कम्मर शाह बाबा मेलामा सबै धर्ममा आस्था राख्ने सर्वसाधारणले सहभागिता जनाउने भएकाले यसको ऐतिहासिक महत्व रहेको डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष झङ्कबहादुर थापाको भनाइ छ । उनका अनुसार चार दिनसम्म सञ्चालन हुने मेलामा हिन्दू, मुस्लिमलगायत सबै धर्ममा आस्था राख्नेले बाबाको मजारमा पुगेर आफ्नो मनोकांक्षा राख्ने गरेका छन् । यहाँ राखेको मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

मेलामा बाँके र बर्दियाका सर्वसाधारण सँगसँगै सीमावर्ती भारतीय क्षेत्र बाबागञ्ज, नानपारा, श्रावस्तीबाट समेत भारतीय नागरिक मेला भर्न आउने गरेको स्थानीय अगुवा राजेन्द्र विश्वकर्माले बताए । सामाजिक सद्भाव र आपसी एकताका लागि पनि हजरत बाबा कम्मर शाह मेला महत्वपूर्ण रहेको उनको भनाइ छ । बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीमा पर्ने हजरत कम्मर शाह बाबा मजार हिन्दू र मुस्लिम समुदायको आस्था र सद्भावको धरोहरको रुपमा छ ।


डुडुवा गाउँपालिका–५ मा हिन्दू र मुस्लिम धर्मावलम्बीको बसोबास छ । कम्मर शाह बाबाले सयौँ वर्ष पहिले उक्त स्थानमा कुटी बनाएर बसेको र कम्दीलगायतका गाउँबाट गाईभैँसी चराउन आउने यादव समुदायका मानिससँग घुलमिल हुँदै गएको स्थानीय अगुवा शकिल अहमद खाँले बताए । यादवहरुको परिवारमध्ये कसैलाई स्वास्थ्य समस्या देखिँदा कम्मर शाह बाबाकै शरणमा जाँदा सबै समस्या निको हुने गरेको उनीहरुको विश्वास छ ।

कम्मर शाह बाबाको मजारमा पनि मुस्लिम, यादवलगायत विभिन्न समुदायका मानिसले प्रत्येक वर्ष चादर ओढाउने, भाकल गर्ने लगायतका कार्य गर्दै आएको स्थानीयवासी खाँको भनाइ छ । मेलाको उदघाटनमा पूर्वमन्त्री मोहम्मद इस्तेयाक राई, लुम्बिनी प्रदेश सरकारका कृषिमन्त्री भण्डारीलाल यादवलगायतले हजरत बाबा कम्मर शाह मेलाको महत्वबारे चर्चा गरेका थिए ।

मेलामा यो वर्ष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको मेला समिति अध्यक्ष सगिर खानले जानकारी दिए । उनका अनुसार नवदुर्गा युवा क्लबले मेलामा सोमवारदेखि डुडुवा गाउँपालिकास्तरीय नेपाली लोकसांस्कृतिक नृत्य प्रतियोगिता गर्न लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आन्दोलनको तयारीमा मुक्त कमैया

१६ पुष २०८०, सोमबार १५:४२
नेपालगञ्ज : कमैया मुक्त भएको २२ वर्ष पुग्दा पनि उचित पुनस्र्थापना नभएको भन्दै मुक्त कमैया तथा कमलरीले फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन् । मुक्त कमैया र कमलरीका अगुवाले सङ्घीय राजधानी काठमाडौँमा सरोकारवालासित भेटेर ११ बुँदे माग राखे । उनीहरूले आफ्ना मागहरूको यथाशीघ्र सम्बोधन नभएमा पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् […]