नेपालगञ्ज : दाङको बंगलाचुलीमा हत्या गरेर एक पुरुषको शव लुकाइ राखिएको अवस्थामा फेला परेपछि प्रहरीले गरेको अनुसन्धानबाट हत्या गरेको आरोपमा भारतको दिल्लीबाट दुई जनालाई पक्राउ गरेको छ ।
बंगलाचुली गाउँपालिका–४ को गदारी र फाँटाको जंगलमा रहेको कोइला खानीको सुरुङभित्र घोराही–६ का शिवराज केसीको हत्या गरिएको अवस्थामा लुकाइराखेको शव फेला परेको दाङ प्रहरीले जानकारी दिएको छ ।
घोराहीस्थित अघरा टोल विकास समितिका अध्यक्षसमेत रहेका मृतक केसी पुस ८ गते घरबाट बंगलाचुली जाने भनेर हिडेको उनको सोही दिन नै हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
दाङ प्रहरीले हत्या आरोपमा बंगलाचुली–४ गदारीका ४३ वर्षीय शेरबहादुर कुँवर र उनकी श्रीमती दिपा कुँवरलाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरिएको जनाएको छ ।
श्रीमान–श्रीमतीलाई भारतीय प्रहरीले पक्राउ गरी दाङ प्रहरीलाई जिम्मा लगाएको हो । केसीको हत्या गरी कोइला खानीको करिव ५० मिटर सुरुङ भित्र लुकाएर राखेको आरोपीको बयानको आधार खोजतलास गर्दा सोहि स्थानमा शव फेला परेको जिल्ला प्रहरी दाङले जनाएको छ ।
केसीको हत्या घटना बारेमा थप अनुसन्धान गरिरहेको दाङ प्रहरीले जानकारी दिएको छ ।