बाजुरा घटना : ५ सदस्यीय अनुसन्धान टोली घटनास्थलमा

सदरलाइन संवाददाता १३ मंसिर २०७९, मंगलवार १५:१७
 

बाजुरा : बाजुराको त्रिवेणी नगरपालिका–७ मा आम निर्वाचनको दिन २ जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले एक समिति गठन गरेको छ ।

मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाल, सशस्त्र प्रहरीका डीआईजी अभि खत्री, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बुढाथोकी र महान्यायाधिवक्ता कार्यालयका उपन्यायाधीवक्ता सन्तोष राम कटुवाल रहेको समिति गठन गरिएको हो । मंसिर ८ गते नै गठन भएको ५ सदस्यीय अनुसन्धान अधिकारीको टोली मंसिर १० गतेदेखि नै बाजुरामा खटिएको छ ।

समितिलाई घटनाको सत्यतथ्य अनुसन्धान गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको प्रहरी प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए । निर्वाचनको दिन प्रहरीको गोली लागेर स्थानीय २६ वर्षीय सन्दिप ऐडीले ज्यान गुमाएका थिए । गोली लागेर मृत्यु भएका सन्दिप वडा नम्बर–९ स्थित रत्नावती माविमा कार्यरत शिक्षक मानबहादुर ऐडीका छोरा हुन् ।


यस्तै मतदान सकिएपछि कांग्रेसका कार्यकर्ताले घरमै गएर निर्घात कुटपिट गर्दा एमालेका कार्यकर्ता चेतन ऐडीको पनि मृत्यु भएको थियो ।अनेरास्ववियुका सचिवालय सदस्य चेतनको अछामस्थित बयलपाटा अस्पतालमा सोही राति उपचारका क्रममा मृत्यु भएको थियो । चेत ऐडीको ‘हत्या’ आरोपमा आफन्तले २२ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी पनि दिएका थिए । हालसम्म प्रहरीले घटनामा संलग्न रहेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रवक्ता कार्कीका अनुसार मृतक दुवै जनाको शव आफन्तले बुझेर दाहसंस्कार गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव बेचविखन बिरुद्ध सीमाक्षेत्रमा सहकार्य हुन आवश्यक

१३ मंसिर २०७९, मंगलवार १५:१७
नेपालगञ्ज :  मानव बेचखिनका बिरुद्ध सक्रिय नेपाल– भारतका सामाजिक संघसंस्थाहरुले बेचविखनको जोखिममा परेकालाई उद्दार गर्न र जोखिमबाट जोगाउनको लागि संयुक्त पहलका साथै सहकार्यका साथ अघि बढ्नु पर्ने निश्कर्ष निकालेका छन । प्लान नेपालको आर्थिक सहयोगमा नेपालगञ् उपमहानगरपालिकासंगको सहकार्यमा बाँके युनेस्को क्लवद्वारा आयोजित मानव बेचविखनका बिरुद्ध क्रशबोर्डर अन्तरक्रिया तथा अनुभव आदानप्रदान […]