नेपालगञ्जमा नेपाल–भारत अन्तरदेशीय कार्यशाला सम्पन्न

सदरलाइन संवाददाता १३ पुष २०८०, शुक्रबार १४:५४
 

नेपालगञ्ज : मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि नेपालगञ्जमा नेपाल–भारत अन्तरदेशीय कार्यशाला सम्पन्न भएको छ ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति बाँके र माइती नेपालको संयुक्त आयोजनामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि काम गर्ने नेपाल र भारतका सरकारी तथा विभिन्न गैरसरकारी संघ संस्थाको सहभागीतामा एक दिने अन्तरदेशीय कार्यशाला सम्पन्न भएको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति बाँकेका संयोजक एवम् प्रजिअ श्रवणकुमार पोखरेलले जानकारी दिए ।

मानव बेचबिखन रोकथाम गर्न दुवै देशका सम्बन्धित निकायहरुको सम्बन्धलाई अझ बलियो र मजवुत पार्न, जोखिमपूर्ण एवम् श्रम शोषण तथा अन्य शोषणमा परेका बालबालिका तथा महिलाहरुको आपसी समन्वय गरी उद्धार गर्न सहज वाताबरण बनाउन सजिलो होस भन्ने उद्देश्यले दुई देशबिचका सरोकारवाला पक्षसँग कार्यशाला गरिएको प्रजिअ पोखरेलले जानकारी दिए ।

यस्ता कार्यक्रमहरुले दुबै देशमा हुने जोखिमपूर्ण श्रम, यौन तथा अन्य शोषणमा परेका महिला तथा बालबालिकाहरुको सूचना आदानप्रदान गरी समस्या पहिचान गर्न एवम् प्रभावकारी संयन्त्रको विकास गर्न मदत पुग्ने उनले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्कीले बाँके जिल्लाका धेरै भूभाग भारतीय सीमासँग जोडिएको हुँदा मुख्य सीमानाकामा मात्र नभएर सहायक सीमानाकामा पनि मानव बेचबिखनविरुद्ध काम गर्ने हरेक सङ्घसंस्था मात्र नभएर सरकारी निकायको पनि ध्यान जानुपर्ने बताइन् ।


बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले बेचबिखनमा परेका व्यक्तिलाई तत्काल उद्धार गर्नका लागि प्रक्रिया लामो र झण्झटिलो भएका कारण नीति परिवर्तन गरेर भए पनि सहज र सरल बनाउनुपर्ने बताइन् । उनले आफ्नो पालिकाभित्रका वडाहरुमा मानव बेचबिखनविरुद्ध विभिन्न कार्यक्रम गरी नागरिकलाई सचेतना प्रदान गर्दै आइरहेको बताइन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले प्रहरी कानुन कार्यान्वयन गराउने पक्ष भएको हुँदा कानुन विपरीत हुने मानवबेचबिखन लगायत अन्य जुनसुकै अपराधिक क्रियाकलापविरुद्धमा जतिबेला पनि सहकार्य र समन्वय गर्न तयार रहेको बताए ।

नेपाल मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख द्वारीका अधिकारीले मानव बेचबिखनमा परेका व्यक्तिहरुलाई छिट्टै उद्धार गर्नुपर्ने तथा समाजमा पुनस्र्थापना गर्नुपर्ने भएको हुँदा स्थानीय सरकारसँगको समन्वय र सहकार्य अपरिहार्य हुने बताए । उनले स्थानीय सरकारले विभिन्न कार्यक्रममार्फत मानव बेचबिखनविरुद्ध सचेतना गराई व्यापक जनचेतना फैलाउनुपर्नेमा जोड दिए ।

माइती नेपालका निर्देशक विश्वराम खड्काले मानवबेचबिखनविरुद्धको रोकथाम, न्यूनीकरण तथा उद्धार कार्यमा दुई देशबिचका सरोकारवाहरुसँग समन्वय र सहकार्य गरेर मात्र काम गर्न सकिने बताए ।

कार्यक्रममा भारततर्फबाट दिल्ली पुलिसका पूर्व अपराध अनुसन्धान एसपी सुरेन्द्रकुमार गुलिया, दिल्लीका सामाजिक अभियन्ता शमशेर सिंह, कारीतास इन्डिया कोलकत्ता दिल्लीका डा.जयन्त भन्सी, बालअधिकार संरक्षण मयुर विहार दिल्लीका अधिवक्ता वरुण पाठकलगायतले आआफ्ना धारणा राखेका थिए ।

माइती नेपाल बाँकेका संयोजक केशव कोइरालाले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, मानवअधिकारसम्बन्धी काम गर्ने विभिन्न सङ्घसंस्था, मानव बेचबिखनविरुद्ध काम गर्ने जिल्लामा क्रियाशिल संघ संस्था, जनप्रतिनिधि, पत्रकार तथा विभिन्न भारतीय सङ्घसंस्था र प्रतिनिधिहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आलुको नाममा भारतबाट प्याज ल्याउनेलाई जरिवाना

१३ पुष २०८०, शुक्रबार १४:५४
नेपालगञ्ज : नेपालगञ्ज भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर प्याज ल्याएर नेपाल भित्र्याउने वीरेन्द्रनगर सुर्खेतको पूजा सब्जीमण्डीलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुरले पाँच लाखभन्दा बढी जरिवाना तिराएको छ । राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख अनुसन्धान अधिकृत सुरेशराज जोशीले दिएको जानकारी अनुसार भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर आएको ट्रकमा अनुसन्धान गर्दा प्याज ल्याएको […]

सम्बन्धित