महिला उद्यमीको उत्पादलाई बजारीकरण गर्न प्रदर्शनी हुँदै

सदरलाइन संवाददाता ११ पुष २०८०, बुधबार १७:३२
 

नेपालगञ्ज : महिला उद्यमीहरुको स्थानीय उत्पादनलाई बजारीकरण गर्न नेपालगञ्जमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी हुने भएको छ । महिला उद्यमी संघ बाँकेले महिला उद्यमीहरुको स्थानीय उत्पादनलाई बजारीकरण, प्रोत्साहन र नव उद्यमीहरुलाई उत्प्रेरणा दिने उद्देश्यले प्रदर्शनी गर्न लागेको जनाएको छ ।

संघले बुधवार नेपालगञ्जमा पत्रकार सम्मेलन गरेरे हरेक वर्ष हुँदै आएको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीलाई यसपटक पनि निरन्तरता दिँदै पुस २४ देखि २८ गतेसम्म आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी आयोजना गर्न जानकारी दिएको हो । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रदर्शनीले महिलाहरुलाई उद्यमतर्फ आकर्षित गराउँदै राज्यको आर्थिक विकासमा योगदान गर्ने उद्देश्य लिइएको महिला उद्यमी संघ बाँकेका अध्यक्ष साबित्रा पोख्रेल बस्नेतले बताइन् ।

“हरेक वर्ष हामीले प्रदर्शनीबाट महिला उद्यमीहरुमा नयाँ उत्साह र हौसला बढिरहेको महशुस गरेका छौं । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै आयोजना गरिने यस प्रदर्शनीले महिला उद्यमीका उत्पादनहरुलाई बजारीकरणमा सहयोग गर्दै सफल उद्यमी बन्न सहयोग गरिरहेको छ,“ बस्नेतले भनिन् ।

आठौँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा ६० बढी महिला उद्यमीहरुको स्टल रहने संघकी प्रथम उपाध्यक्ष एवम् प्रदर्शनी संयोजक रेवती सिंहले जानकारी दिइन् । प्रदर्शनी आयोजना गर्न करिब १० लाख खर्च हुने अनुमान गरिएको छ । प्रदर्शनी अवधिमा करिब ८ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सिंहले बताइन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसरमा रहेको चिल्ड्रेन पार्कमा ५ दिनसम्म चल्ने प्रदर्शनीमा लुम्बिनी प्रदेशको १२ जिल्लाबाट महिला उद्यमीहरुको सहभागिता रहने बताइएको छ । यस्तै कर्णाली र सुदुरपश्चिमबाट समेत केही महिला उद्यमीहरु प्रदर्शनीमा सहभागी हुने जानकारी दिइएको छ ।


नवउद्यमी प्रोत्साहन गर्न विद्यार्थीहरुलाई निःशुल्क स्टल राख्न दिइने बताइएको छ । प्रदर्शनीमा सिटी कलेज अफ म्यानेजमेन्ट र एबिसी रेसिडेन्सियल स्कुलका विद्यार्थीको स्टल रहने सिंहले बताइन् ।

“यस पटक अर्को नयाँ अभ्यास गर्ने क्रममा प्रदर्शनीमा सहभागी भएका स्टलहरु मध्ये बाँकेबाट सहभागी भएका मध्येबाट एक जना र अन्य बाहिरी जिल्लाबाट सहभागी भएका एक जना महिला उद्यमीलाई पुरस्कृत गर्नेछौं ।

महिला उद्यमीको समस्या र चुनौतीको बारेमा सरोकारवालासँग अन्तरक्रिया र हरेक दिन सफल महिला उद्यमीहरुको अनुभव र संघर्षको कुरा सुनाउने कार्यक्रम रहेको छ,“ महिला उद्यमी संघ लुम्बिनी अध्यक्ष सरस्वती शर्माले भनिन् ।

यस पटकको प्रदर्शनीमा नयाँ उद्यमीहरुको रुपमा कर्णाली प्रदेशको जाजरकोटबाट पत्थर, सुर्खेतबाट ढाकाको कपडा, बर्दियाबाट बेसार, होमस्टेबारे प्रचार प्रसार, स्थानीय खानाको परिकार, पुर्वी रुकुमबाट स्थानीय खाद्यवस्तु, नेपालगन्जको नाना चाचाले जेलमा बसेका महिलाहरुले उत्पादन गरेको कपडा, बाँकेबाट तोरीको तेल, दाल, चामल, बर्दियाबाट स्विटर लगायतका उत्पादन सहित महिला उद्यमीहरु पहिलोपटक सहभागी हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरा र नरैनापुरका विपन्न किसानलाई साना सिँचाइ सुविधा

११ पुष २०८०, बुधबार १७:३२
नेपालगञ्ज : बाँकेको खजुरा र नरैनापुर गाउँपालिकाका ६ वटा गरिब किसान समूहलाई कृषि उत्पादन वृद्धिका लागि साना सिँचाइ सुविधा हस्तान्तरण गरिएको छ । कतार च्यारिटी नेपालद्वारा सञ्चालित नेपाल एकीकृत विकास परियोजना २ अन्तर्गत विपन्न र गरिब किसान समूहको खाद्यान्न उत्पादन र तरकारी खेतीमा संलग्नता तथा आयस्तर बढाउने उद्देश्यले ६ वटा […]