भेरी बबई डाइभर्सन आयोजनाको काममा गति दिन निर्देशन

सदरलाइन संवाददाता ३ पुष २०८०, मंगलवार १७:४३
 

नेपालगञ्ज (डेस्क) : राष्ट्रिय गौरवको सूचीमा रहेको भएपनि भेरी बबई आयोजनाको कार्यप्रगति प्रभावकारी नभएको पाइएपछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज आयोजनाका पदाधिकारी र निर्माण व्यवसायीलाई तत्काल कामलाई गति दिन निर्देशन दिएका छन् ।
“आयोजनाको काममा ढिलाइ गर्ने छुट कोही कसैलाई पनि छैन” मन्त्री बस्नेतले भने । सिंहदरबारस्थित मंगलवार ऊर्जा मन्त्रालयमा सिँचाइतर्फबाट उच्च अधिकारी, आयोजनाका पदाधिकारी र निर्माण व्यवसायीलाई अब ढिलाइ सह्य नहुने जनाउँदै तत्काल काममा गति दिन निर्देशन दिए ।
सुरुङ निर्माण सम्पन्न भएको लामो समय भएपनि बाँधस्थल र विद्युत गृहको काममा अपेक्षित प्रगति हुन सकेको छैन । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण निर्माण कार्यले गति लिन सकेको छैन । आयोजना सम्बद्ध अधिकारी आयोजनास्थलमा नबस्ने, लामो समयसम्म परामर्शदाताको अभावका कारण निर्माण व्यवसायीलाई आवश्यक निर्देशन तथा परिचालनमासमेत समस्या पैदा भएको छ ।

आयोजनाको प्रगतिको अवस्थाका बारेमा ऊर्जामन्त्री बस्नेतले नियमितरुपमा जानकारी लिँदै आएका छन् । नेकपा(एमाले)को मध्यपहाडी राजमार्ग केन्द्रित अभियानका क्रममा सो पार्टी सम्बद्ध शीर्ष नेतालेसमेत स्थलगत निरीक्षण गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसअघि नै प्रधानमन्त्री कार्यालय मातहतका रहेको एक्सन रुममार्फत अवस्थाको बारेमा जानकारी लिएका थिए ।

कामले अपेक्षित गति नलिएपछि मंगलवार मन्त्री बस्नेतले अब पनि अपेक्षित प्रगति नभए सहन नसकिने भन्दै आयोजनाका अधिकारी र निर्माण व्यवसायीलाई चेतावनी दिए । छलफलमासमेत निर्माण व्यवसायी रहेका रमण कन्स्ट्रक्सनका प्रमुख रमणकुमार महत्तोले आयोजनाका अधिकारीले समयमा भुक्तानी नगरिदिएको तथा अन्य अत्यावश्यक काम नगरिदिएका कारण आयोजना स्थलमा प्रभावकारी काम गर्न नसकेको आरोप लगाए ।


आयोजना निर्देशक रणबहादुर बमलगायतका अधिकारीले निर्माण व्यवसायीले काम नगरेको, आवश्यक जनशक्ति परिचालन नगरेको तथा उपकरण एवम् निर्माण सामग्रीको प्रबन्ध नगरेको भन्दै गुनासो गरे । एकले अर्कालाई दोष देखाएर आयोजनाका काममा ढिलाइ गरेको भन्दै मन्त्री बस्नेतले भने,“एकले अर्कोलाई दोष देखाएर राष्ट्रिय गौरवको आयोजनामा समस्या सिर्जना गर्ने काम नगर्नुस् । समस्या के हो ? समाधानको उपाय के हो ? त्यो प्रस्तुत गर्नुस् । ”

उनले अबदेखि हरेक १५ दिनमा सिँचाइ विभागले र हरेक महिनामा मन्त्रालयकातर्फबाट आयोजनाको निरीक्षण गर्ने बताउनुभयो । आयोजना निर्देशक बमले दैनिकरुपमा दुई सय ६० घनमिटरका दरमा लान तथा कङ्क्रिटको काम हुनुपर्ने बताए । उनले आयोजनालाई दैनिक तीन वटा सत्रमा काम गर्ने वातावरण मिलाइने विश्वास दिलाए ।

छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले राज्यको साधन र स्रोत लगानी भएको आयोजनामा कुनै पनि ढिलाइ नगर्न सम्बद्ध पक्षलाई निर्देशन दिए । छलफलमा सिँचाइतर्फका सहसचिव सुशीलचन्द्र आचार्य, मोहन शाक्य, सिँचाइ विभागका महानिर्देशक चूर्णबहादुर ओली, उपमहानिर्देशक सञ्जीव बराल र दिनेश रजौरियालगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोजगार शिक्षा आजको आवश्यकता : मुख्यमन्त्री चौधरी

३ पुष २०८०, मंगलवार १७:४३
बर्दिया : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उत्पादनमूलक र रोजगारमूलक शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेको चुरे माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले अहिले उठ्ने गरेको हाम्रो शिक्षामाथिको अनुत्पादक प्रश्नलाई मेटाउन आजको आवश्यकता अनुसारको उत्पादन र रोजगारमूलक शिक्षा आवश्यक रहेको बताए । मुख्यमन्त्री चौधरीले […]