तरकारी बिक्री गर्न बिहानै नेपालगञ्ज पुग्छन् थारू महिला

सदरलाइन संवाददाता २८ मंसिर २०८०, बिहीबार १४:१८
 

नेपालगञ्ज : गाउँघरमा उत्पादन भएको विषादी नहालिएको अर्गानिक तरकारीको माग सहर बजारमा बढ्दै गएपछि नेपालगञ्ज वरिपरिका ग्रामीण क्षेत्रका महिला एकाबिहानै तरकारी लिएर नेपालगन्ज पुग्ने गरेका छन् ।

अर्गानिक तरकारीको बिक्री र माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले आफ्नै खेतबारीमा तरकारी खेती गरेर राम्रो कमाइ गर्न थालेका हुन् ।

नेपालगञ्ज ल्याइएको अर्गानिक तरकारी तत्कालनै बिक्री भई राम्रो आम्दानी हुने देखेर तरकारी उत्पादनतर्फ अधिकांश थारू महिला आकर्षित भइरहेको बाँके खजुरा–४ की रामदुलारी थारूले बताइन् । उनले आफ्नो खेतबारीमा विभिन्न अर्गानिक तरकारी उत्पादन गरी नेपालगञ्जमा बिक्री गरेर मासिक १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गरिरहेको बताइन् ।

यस्तै बाँकेको नौबस्तामा आफ्नो घर वरिपरि तरकारी खेती गरिरहेकी वसन्ती थारूले त्यहाँ उत्पादन भएको तरकारी एकाबिहानै नेपालगञ्ज ल्याएर बिक्री गरिरहेको बताइन् ।


दिनदिनै बिहान ५ बजे नेपालगञ्जको धम्बोझी चोकमा तरकारी लिएर पुग्ने गरेको जनाउँदै थारूले घरमा लगाइएको अर्गानिक तरकारी भएका कारण एकै छिनमा बिक्री हुने गरेको बताइन् । एक दिनमा पाँच सयदेखि आठ सय रुपैयाँसम्मको तरकारी सहज रूपमा बिक्री गरेको उनले बताइन् ।

यस्तै कोहलपुर मैटहवाकी सुनिता चौधरीले घरबाट ताजा कोबी, टमाटर र साग लिएर नेपालगञ्जको पुष्पलाल चोकमा ओर्लनेबित्तिकै तरकारी बिक्री हुने गरेको बताइन् । “आधा घण्टा पनि कुर्नु पर्दैन, सबै तरकारी हारालुछ हुन्छ, आम्दानी पनि सोचेभन्दा राम्रो हुने गरेको छ,” सुनिताले भनिन् ।

बर्दिया बढैयाताल–३, सोरहवाकी धर्मी थारू र उनका पति जीवनलाल थारूले एक दिनमा हजार रुपैयाँसम्मको तरकारी बेच्ने गरेको जनाउँदै यो वर्षदेखि आधा बिघा थप गरेर एक बिघामा तरकारी लगाउने योजना रहेको बताए । (गोरखापत्रबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नागरिकलाई शीतलहरबाट जोगाउन पूर्व तयारी शुरु

२८ मंसिर २०८०, बिहीबार १४:१८
नेपालगञ्ज : दिनदिनै चिसो बढ्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले शीतलहरबाट जोगाउन जिल्लाका विभिन्न चोक तथा चहल पहल हुने स्थानमा आगो बाल्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको बैठकले सो निर्णय गर्दै शीतलहरबाट सर्वसाधारणलाई जोगाउन पूर्व […]