थारु संस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै मित्थु

सदरलाइन संवाददाता १५ मंसिर २०८०, शुक्रबार १५:१४
 

नेपालगञ्ज : मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारु समुदायले पुज्ने अप्सराको चित्र कोर्दै थिए । उनले सेतो, हरियो, कालो, पहेँलो सबै रङमा लत्पतिएर भित्तामा थारु इतिहास र लोकसंस्कृतिमा आधारित देवीदेवताको प्रतिमा रँगाउँदै थिए ।

कैलालीको जानकी गाउँपालिका–३ घर भएका ३५ वर्षीय मित्थुले ललितकला क्याम्पसमा चित्रकलामा स्नातक गरेका छन् । माटाका मूर्ति बनाएर पुज्ने थारु जातिको प्रचलनलाई सानैदेखि देख्दै आएका मित्थुलाई माटाका मूर्ति बनाउनमा रुचि बढेपछि चित्र र मूर्ति बनाउने कलामा आफूलाई निखार्दै लगे ।

चित्रकलाको चारवर्षे अध्ययन पूरा गरेर विगत दुई वर्षदेखि व्यावसायिक रुपमा उनी काम गर्दै आएका छन् । मित्थुले विशेष २५ हजार पाएको उनले बताए ।

“अध्ययन पूरा गरेपछि मैले पहिलोपटक थारु जातिको इतिहास र लोक कला संस्कृति झल्किने भित्तेचित्र बनाएको थिएँ । त्यसबाट रू. २५ हजार पाएको थिएँ”, मित्थुले भने । उनका अनुसार चित्र र मूर्ति बनाउँदा मासिक पारिश्रमिक रू. ७० हजारदेखि एक लाखसम्म हुने गर्दछ ।


यतिबेला उनले बाँकेको बैजनाथ गाउँपालिका–१ मा पर्ने गाभर भ्याली होमस्टेका भित्तामा थारु समुदायले पुज्ने देवीदेवताका प्रतिमूर्ति कोर्दै छन् । उनले दुर्गाशरणको कथामा आधारित थारु समुदायका देवी मयारी (अप्सरा), थारुका राजा (दगीशरण), भेंवाँ (भीम), ठूलो डेमन डेउडा घोडालगायत माटाका मूर्ति कुँदेर होमस्टेका भित्ता सजाइ रहेका छन् ।

मूर्तिको विशेषता हेरेर मूल्य निर्धारण हुने भएकाले एउटा मूर्ति कुँदेबापत रू. २५ देखि ३० हजारसम्म लिने गरेको मित्थुको भनाइ थियो । व्यावसायिक रुपमा थारु संस्कृति झल्कने चित्र र मूर्ति बनाउन थालेपछि आर्थिक अवस्थामा सुधार आएको उनले बताए ।

मित्थुले दाङको दगीशरण–३ चखौरा गाउँमा थारु संस्कृति सङ्ग्रहालयमा चित्र र मूर्ति बनाइ रहेका छन् । थारु संस्कृति जागरणकै लागि आफूले यो काम रोजेर व्यावसायिक रुपमा अघि बढेको उनको भनाइ थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा तीन वर्षमा एकसय २२ जनाको मृत्यु

१५ मंसिर २०८०, शुक्रबार १५:१४
बर्दिया : बर्दियामा सडक दुर्घटनामा परी साढे तीन बर्षको अवधीमा एकसय २२ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको पछिल्लो साढे तीन वर्षको तथ्याङ्कअनुसार सडक दुर्घटनामा परी एकसय २२ जनाको मृत्यु भएको हो । आर्थिक वर्ष २०७९–८० मा मृत्यु हुनेको संख्या ३३, आर्थिक वर्ष २०७८–७९ मा मृत्यु […]