बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

सदरलाइन संवाददाता ४ मंसिर २०८०, सोमबार १३:३६
 

नेपालगञ्ज : पाटेबाघको आक्रमणमा परी बर्दियामा एक महिलाको मृत्यु भएको छ । राजापुर नगरपालिका १० सुकुमबासी टोलकी २४ वर्षीया ममता सुनारको बाघको आक्रमणबाट मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ ।

घरनजिकैको बाटोमा बाख्रा चराउँदै गरेकी सुनारलाई बाघले आक्रमण गरेको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत द्रोणराज शर्माले बताए । बाघले आक्रमण गरेपछि तत्काल उद्धार गरी सुनारलाई बर्दिया अस्पताल पुर्याइएको थियो । उनको अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।


बाघले आक्रमण गरेको उक्त स्थान नेपाल–भारत सिमानानजिक पर्दछ । पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्र, खाता जैविक मार्ग र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमण बढ्दै गएको छ ।

यसअघि गत कात्तिक १७ गते मधुवन नगरपालिका– ५ बस्ने २८ वर्षीया सिर्जना डाँगीको बाघको आक्रमणबाट मृत्यु भएको थियो । खाता जैविक मार्ग र सामुदायिक वन क्षेत्रमा हालसम्म बाघको आक्रमणबाट १८ जनाको ज्यान गएको छ । झन्डै चार वर्षको अवधिमा बाघको आक्रमणबाट राष्ट्रिय वन, सामुदायिक वन र निकुञ्ज क्षेत्रमा गरी बर्दियामा ३५ जनाको ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

करेन्ट लागेर बाँकेमा एकजनाको ज्यान गयो

४ मंसिर २०८०, सोमबार १३:३६
नेपालगञ्ज : बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । खजुरा गाउँपालिका– १ का पूर्ण लम्सालले आफ्नो माछापोखरीमा राखेको करेन्ट लागि सविन रानाको मृत्यु भएको हो । माछा चोरी हुने गरेपछि लम्सालले पोखरी वरिपरि करेन्ट फिट गरेका थिए । जालसहित पोखरीमा गएका रानालाई त्यही करेन्ट लागेको हो । रानासँग […]