लक्ष्मीपूजाका दिन बाँकेका तीन स्थानमा आगलागी

सदरलाइन संवाददाता २७ कार्तिक २०८०, सोमबार १३:२९
 

नेपालगञ्ज : लक्ष्मीपूजाका दिन बाँकेका विभिन्न तीन स्थानमा आगलागीका घटना भएका छन् । एक स्थानमा लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्केर आगलागी भएको हो भने अन्य दुई स्थानमा भने विद्युत् सर्ट भएर आगलागी भएको हो । तीन स्थानमै पसलमा आगलागी भएको प्रहरीले बताएको छ ।

बाँकेको खजुरामा रहेको एक पसलमा लक्ष्मीपूजाका लागि बालिएको दियोबाट सल्केर आगलागी भएको र नेपालगञ्ज र राप्तीसोनारीका पसलमा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

खजुरा ५ धनौली नजिकै विष्णु वर्माले सञ्चालन गर्दै आएको बर्मा हार्डवेयरमा लक्ष्मीपूजा गर्न जलाइएको दियोबाट सल्केको आगोले आगलागी भएको धनौली प्रहरीले जनाएको छ । आगलागीबाट पसलमा ६ लाख बराबरको पेन्ट, सिमेन्ट तथा निर्माण सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक अशोक मल्लले बताए ।


नेपालगञ्जको घरबारीटोलमा रहेको सौगात इलेक्ट्रो हवमा आइतवार राती आगलागी भएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक हरी बिसीले जानकारी दिए । ध्रुव दाहालले सञ्चालन गर्दै आएको उक्त पसलमा बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने उनले बताए । राति नै प्रहरी र दुईवटा दमकलको सहायताले आगलागी नियन्त्रणमा लिइए पनि पसल जलेर सामानहरु नष्ट भएको प्रहरी निरीक्षक बिसीले बताए ।

त्यसैगरी राप्तीसोनारी ४ बैजापुरचोकमा रहेको कमल चौधरीले सञ्चालन गर्दै आएको एक इलेक्ट्रोनिक पसलमा पनि आगलागी भएको राप्तीसोनारी–४ का वडा अध्यक्ष मीनराज खड्काले जानकारी दिए । बन्द रहेको पसलमा आगलागी भएको हुँदा विद्युत् सर्ट भएर नै आगलागी भएको हुनसक्ने अध्यक्ष खड्काले बताए । प्रहरी र स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा लिइएको र पसल जलेर पूर्णरुपमा नष्ट भएको उनले जानकारी दिए ।

जिल्लाका विभिन्न तीन स्थानमा विभिन्न कारणले आगलागी भएको र आगलागीबाट कुनै मानवीय र पशु चौपायाको भने क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरका बैंकहरुका एटिएम रित्तै, ग्राहक भौतारिंदै

२७ कार्तिक २०८०, सोमबार १३:२९
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकामा रहेका अधिकांश बैंकका एटिएमहरुबाट पैंसा ननक्लिएपछि यती बेला यस क्षेत्रका सेवा ग्राहीहरु प्रताडित भएका छन् । आफनो खाता भएको बैंकको एटिएमबाट नगद ननिस्कियपछि अर्को बैंकको एटिएम बुथमा जाँदापनि उस्तै समस्या देखिएपछि ग्राहबर्गमा निराशा छाएको हो । चाड्पर्बको समयमा कोहलपुरमा रहेका अधिकांश बैंकहरुका एटीएममा पैसा […]