धनगढी : सुदूरपश्चिको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले दाबी पेस गरेका छन् । सत्ता गठबन्धन एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्ष र एक जना स्वतन्त्र सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गरेका हुन् ।
मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका सोडारी एमालेको समर्थन नपाउँदा दाबी पेश गर्नबाट रोकिएका थिए । बुधबार एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नगर्ने अडान लिएको थियो । बिहीबार दिउँसो एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएका हुन् ।
प्रदेश प्रमुखले दिएको समयको अन्तिमतिर एमालेले समर्थन दिएपछि सोडारी मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । प्रदेश प्रमुख नजिर मियाले दाबी पेश गर्न बिहीबार साँझ ५ बजेसम्मको समय दिएका थिए ।
मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने अन्तिम दिन बिहीवार एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीचको छलफलमा सोडारीकै नाममा सहमति जुटेपछि एमालेले पनि मुख्यमन्त्रीमा उनलाई सघाउने भएको हो।
प्रदेश प्रमुख नजिर मियाँले मङ्गलबार दुई दिने समयसीमा दिएर वैशाख ६ गतेसम्म नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर मुख्यमन्त्रीमा दावेदारी गर्न आह्वान गरेका थिए ।
एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्री नियुक्त हुने भएका छन् । सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्। प्रदेशमा मुख्यमन्त्रीका लागि २७ प्रदेश सभा सदस्यहरूको समर्थन आवश्यक हुन्छ।