सदरलाइनडटकम,
काठमाण्डौ : अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधवार अफगान सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा २५ जनाको मृत्यु भएको छ । इरानसँगको सीमा जोडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले अनार डारा जिल्लामा खराब मौसमका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको बताए ।
हेलिकप्टरमा चालक दलका दुई सदस्य र अन्य २३ व्यक्ति सवार रहेको उनले बताए । उक्त हेलिकोप्टर आफ्ना लडाकूले खसालेको तालिबानले दाबी गरेको छ । प्रवक्ता मेहरीले हेलिकप्टर दुर्घटनामा पश्चिमी अफगानिस्तानका उपसैनिक कमाण्डर र फराह प्रान्तीय परिषद्का प्रमुखको मृत्यु भएको बताए ।
प्रान्तीय परिषद्का सदस्य दादुल्लाह क्वानेहले हेराततर्फ उडिरहेको हेलिकप्टर खराब मौसमका कारण पहाडमा ठोक्किएको जिकिर गरे । तालिबानको बाक्लो उपस्थितिका कारण उच्च सरकारी तथा सैनिक अधिकृतहरुले सामान्यतयः यात्राका लागि हेलिकप्टर प्रयोग गर्दछन् ।
युद्धग्रस्त अफगानिस्तानको भौगोलिक विकटताका कारण बेलाबखत हेलिकप्टरहरु दुर्घटनामा पर्ने गरेका छन् । गत सेप्टेम्बरमा सैनिक सामग्री बोकेको अफगानी सैनिक हेलिकप्टर फराहमा आपतकालीन अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त भएको थियो ।
(एजेन्सीको सहयोगमा)