नेपालगञ्जको ट्राफिक लाईट जडान कार्यले तीव्रता पाउने

सदरलाइन संवाददाता ३ कार्तिक २०८०, शुक्रबार १४:४३
 

नेपालगञ्ज : नेपालगञ्जमा ट्राफिक लाइट जडान गर्ने कार्यले अब तीव्रता पाउने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले उक्त कार्यलाई तीव्रता दिइने निर्णय भएको बताइएको छ ।

ट्राफिक लाइट जडानका लागि ठेकेदारले स्ट्रिट लाइटका पोल गाड्ने तथा भूमिगत तार बिछ्याउने प्रयोजनले खनेका नेपालगन्जका सडकका खाल्डाखुल्डी पुर्ने, त्यसमाथि पिचिङ गर्ने, फिनिसिङ गर्ने कार्यहरु अब तुरुन्तै सम्पन्न गर्नका लागि ठेकेदार प्रतिनिधिलाई निर्देशन दिइएको बाँकेका प्रजिअ श्रवणकुमार पोखरलले जानकारी दिए ।

त्यसैगरी बिपीचोक र धम्बोझी चोकको बीचमा पर्ने नालामाथिको कल्भर्ट बनाउने कामपनि यथाशीघ्र सम्पन्न गर्न सम्बन्धितलाई निर्देशन दिइएको छ । “नेपालगन्जमा ट्राफिक लाइट जडान गर्ने कार्यका लागि सुरु गरिएको काम विगत लामो समयदेखि अलपत्र रहेछ, धेरै ढिलासुस्ती भयो भनेर धेरै जनगुनासाहरु आएका रैछन्, मेयरज्यूले पनि अनुरोध गरेपछि सम्बन्धित सरोकारवासँग बैठक बसियो ।” प्रजिअ पोखरलले भने, “सरोकारवालाको छलफलमा ठेकेदारले तीन दिनभित्र सडकका खाल्डाखुल्डी पुरेर पिचिङ गरेर फिनिसिङ गर्ने प्रतिबद्धता जनाएको छ ।”

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले ठेकेदारले सडक डिभिजन कार्यालयसँग ठेक्का सम्झौता गरी ट्राफिक लाइट जडान कार्य शुरु गरेको भन्दै सडक डिभिजन र ठेकेदारको ढिलासुस्तीले समयमा काम सम्पन्न हुन नसकेको बताए ।


“हामीले ठेक्का दिएका होइनौं, सडक डिभिजनले ठेक्का सम्झौता गरेको हो, मैले पटकपटक मात्र होइन धेरैपटक सडक डिभिजनलाई अनुरोध गर्दा पनि समयमा काम हुन सकेन, त्यसपछि सम्बन्धित सबैलाई बोलाएर सिडिओकहाँ छलफल गरियो ।” उनले भने । काममा ढिलाइ हुनुमा सबै कमजोरी सडक डिभिजनको रहेको उहाँले बताउनुभयो । सिडिओको समन्वयमा बसेको सरोकारवालाको बैठकबाट अब कामले नतिजा ल्याउने प्रमुख विष्टले बताए ।

स्ट्रिट लाइट, ट्राफिक लाइट तथा नाला माथिको कल्भर्टको काम तदारुकताका साथ अघि बढाउन सम्बन्धितलाई निर्देशन दिइएको र काम पनि शुरु भइसकेको उनले बताए । ठेकेदारले दसैंपछि ट्राफिक लाइट जोड्ने प्रतिबद्धता गरेको उनले बताए ।

रत्न राजमार्गअन्तर्गत जमुनाहा–कोहलपुर सडक खण्डमा पर्ने नेपालगन्जको राँझा चोक, पुष्पलाल चोक, धम्बोझी चोक, बिपी चोक र गणेशमान चोक गरी पाँच स्थानमा ट्राफिक लाइट जोड्ने प्रयोजनले गत साउनको पहिलो हप्तादेखि ठेकेदारले सडक खनेर अलपत्र अवस्थामा छोडेको थियो ।

महिनौंदेखि हरेक चोकका सडक खनेर अलपत्र छोडिदिँदा दैनिकजसो सवारी दुर्घटना हुने गरेका थिए । पैदल हिँड्ने यात्रु तथा सवारी साधनलगायतलले धेरै सास्ती खेप्नुपरिरहेको थियो । केहि दिनदेखि भने ठेकेदारले पोल तथा तार बिछ्याउँदा खनेका खाडलहरु पुरेर पिच गर्ने कार्य शुरु गरे पनि निरन्तरता भने दिएको थिएन । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बसेको बैठकमा नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट, विद्युत् प्राधिकरण कार्यालयका प्रमुख, सडक डिभिजन कार्यालयका प्रमुख तथा सम्बन्धित ठेकेदारको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुलरियामा चार अर्व लगानीको सेरामिक उद्योग बन्दै

३ कार्तिक २०८०, शुक्रबार १४:४३
नेपालगञ्ज : बर्दिया जिल्लामा ३ अर्ब ९६ करोड लगानीमा सेरामिक उद्योग खुल्दै छ । गुलरिया नगरपालिका–८ मा उद्योग स्थापना गर्ने गरी उद्योग दर्ता भएको हो । उद्योगमा सुप्रब धितालसहितको लगानी रहेको छ । यो उद्योगले जग्गा व्यावस्थापन गरी वातावरण प्रभाव मूल्यांकनको प्रक्रिया अघि बढाइसकेको छ । यो कम्पनीले ५ सय […]