बाल सुधारगृह झडप : प्रहरीको पेस्तोल बालबन्दीको कब्जामा

सदरलाइन संवाददाता ५ आश्विन २०८०, शुक्रबार १६:१७
 

नेपालगञ्ज : बाँकेको जयेन्दु बाल सुधार गृहका बालबन्दीले प्रहरीको पेस्तोल नै कब्जामा लिएका छन् । बिहीवार राती १० बजेदेखि नै आपसमा भएको झडपपछि तोडफोड र आगजनीमा उत्रिएका बालबन्दीले प्रहरीको मोटरसाइकल, कागजपत्र जलाउनुका साथै पेस्तोल कब्जामा लिएको स्रोतले बताएको छ ।

बाल सुधार गृहका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई)ले बोक्ने पेस्तोल बालबन्दीले लगेका छन् । लगातार तोडफोडमा उत्रिएका बालबन्दीलाई सम्झाएर वार्तामा ल्याउने प्रयास भइरहेको छ ।

तोडफोड गरिएको भवनका बालबन्दी प्रहरीसँग वार्ताका लागि बाहिर आएका छन् । च्यानल गेटमा आफै ताला लगाएर भित्र बसेका बालबन्दीले पानीसमेत खान पाएका थिएनन् । अर्को भवनका बालबन्दी शान्त रहेका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले बाल सुधार गृह परिसरभित्र पसेर माइकबाट सम्झाएपछि दुई जना नाइके तल झरेका थिए । दुई जना वार्ताका लागि तल झरेकाले स्थिति सामान्य हुँदै गएको छ ।


दुई पक्षको झडप, तोडफोड, आगजनी, भागाभागले गर्दा रातभरी नै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । सुधार गृहबाट भागेर नेपालगञ्जसम्म पुगेका र बाहिर निस्केका २५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर नेपालगञ्जको वडा प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, जमुनाहाको हिरासतमा राखिएको छ ।

रातिदेखिको तनावको स्थिति बुझ्न लुम्बिनी प्रदेशका डिआइजी उमेशराज जोशी र लुम्बिनी ट्राफिकका एसपी कृष्णप्रसाद प्रसाई नेपालगञ्ज आएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यलगायत चारवटै सुरक्षा निकायका जिल्ला प्रमुखहरु घटनास्थलमा रहेका छन् ।

बाल सुधार गृहमा २ सय ५४ जना बालबन्दी थिए । त्यसमा १ सय ६५ जना १८ वर्ष माथिका रहेका छन् । झडपमा ११ जना घाइते भएकोमा एक जनाको मृत्यु भएको छ । १० जनाको उपचार भइरहेको छ । झडपपछि बन्दी रहेको भवनभित्र जान सक्ने अवस्था नरहेकाले कति भागे यकिन हुन सकेको छैन । वार्ताको चरणमा रहेकाले त्यसपछि भित्रको संख्या गन्ने प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा युवा उद्यमी संवाद तथा पैरवी सञ्जाल गठन

५ आश्विन २०८०, शुक्रबार १६:१७
नेपालगञ्ज : बर्दियाका दुई वटा पालिकामा युवा महिलाहरुको व्यवसाय विकास र रोजगार पर्वद्धन गर्ने उद्देशयले युवा उद्यमी संवाद तथा पैरवी सञ्जाल गठन गरिएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्वारा बर्दियामा सञ्चालन गरिएको पर्ल परियोजनाअन्तर्गत आयोजना गरिएका बैठक र छलफल पश्चात् ती सञ्जालहरु गठन गरिएका हुन् । बाँके […]

सम्बन्धित