भेरी अस्पतालमा क्यान्सरविरुद्धको खोप अभियानको अवधि थप

सदरलाइन संवाददाता २ आश्विन २०८०, मंगलवार १४:३२
 

नेपालगञ्ज : भेरी अस्पतालले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरेको छ । स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप शाखाको आग्रहपछि खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने अस्पतालले जनाएको छ ।

लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले बताए । गत भदौ २९ गते बाल दिवस, भदौ ३० गते शनिबार र आइतबार असोज १ गते हरितालिका तीज लगातार बिदा परेकाले विद्यालय बन्दले गर्दा किशोरी खोप लगाउन न्यून सङ्ख्यामा आएकोले समायावधि थप गरिएको हो । हालसम्म लक्षित किशोरीमध्ये ४० प्रतिशतले खोप लगाएको पाइएको छ ।

सरकारले पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ नौ हजार नौ सय ९९ किशोरीलाई लगाउने लक्ष्य राखिएको छ । गत भदौ २७ गते सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपिभी खोप ‘डेमोस्ट्रेसन’का रूपमा सञ्चालन गरिएको छ । मन्त्रालयले सवै किशोरीका अभिभावकलाई खोप लगाउनका लागि खोप केन्द्रमा लैजान आग्रह गरेको छ ।


खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० सम्म जन्मेका किशोरीलाई दिइने छ । शाखाका प्रमुख डा गौतमले महिलाका पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप दिइएको बताए । सरकारले गत भदौ २७ गतेबाट लुम्बिनी प्रदेशको भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत, सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पताल, कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको वीरगन्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एचपिभी खोप उपलब्ध रहेको छ ।

खोप पहिलो मात्रा दिइने र ६ महिनापछि दोस्रो मात्रा दिइने छ । एचपिभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताइएको छ । यसअघि सरकारले सन् २०१६–१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमूनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो । असुरक्षित यौन सम्पर्क, धुम्रपान र सानै उमेरमा विवाह गर्नेजस्ता कारणले पाठेघरको मुखमा क्यान्सर हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीमा लुटपाट गर्ने शङ्कास्पद तीनजना पक्राउ

२ आश्विन २०८०, मंगलवार १४:३२
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका–७ भगरा गाउँमा लुटपाट मच्चाउने तीन जना शङ्कास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत आइतबार राति गाउँमा लुटपाट मच्चाउने तीन जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । “आइतबार राति उक्त गाउँमा पुगी लुटपाट मच्चाएको […]