कोरियाको भिसा रद्द गरी गाउँमा कृषि कर्म

सदरलाइन संवाददाता २६ भाद्र २०८०, मंगलवार १५:३१
 

नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका–११ कृषि रोडका ३८ वर्षीय सर्वजित बंशीमगरले करिब ९ वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा बिताए ।

भिसा अवधि बाँकी रहँदै नेपालमै केही गर्नुपर्छ भन्ने मान्यता राखेर उनी दुई वर्षदेखि कृषि व्यवसायमा जुटेका छन् । कोहलपुरसँग सीमा जोडिएको खजुरा गाउँपालिका –४ एफगाउँमा कृषि फर्म सञ्चालन गरेका बंशीमगरले एक बिघा जग्गामा ड्रागन फ्रुट, माछा, बङ्गुर तथा कुखुरापालन र कागती खेती गर्दै आएका छन् ।

बंशीमगरले भने, “कोरिया जानुभन्दा पहिले पनि गाउँमै केही गरौँ भन्ने सोच थियो, बाध्यताले कोरिया पुगियो । ८–९ वर्ष बसेपछि फेरि गाउँमै केही गरौँ भन्ने लागेर डेढ वर्ष बाँकी रहेको भिसा रद्द गरी यो काममा लागेको छु ।’


कोरियामा कार्पेट बनाउने कम्पनीमा कार्यरत उनको अहिलेको दैनिकी भने फरक छ । ड्रागन फ्रुट र कागती, स्थानीय जातका कुखुरा र बङ्गुरको रेखदेख र माछालाई दानापानी दिने र फर्ममै माछा काटेर बिक्री गर्दै उनको दैनिकी बित्नेगरेको छ । बायोफ्लक प्रविधिमार्फत माछापालन गर्दै आएका बंशीमगरले माछाबजार पठाउन थालेका छन् । बङ्गुर र कुखुरा तथा ड्रागन फल र कागतीको उत्पादन बजारमा पठाउन केही समय लाग्ने उनको भनाइ छ ।

दुई वर्षको अवधिमा आफूले गरेको कामबाट सन्तुष्ट रहेका बंशीमगर व्यवसायलाई थप बिस्तार गर्ने, फर्मभित्रै अर्ग्यानिक रेष्टुरेन्ट सञ्चालन गर्ने योजना रहेको बताए । दुई वर्षको अवधिमा सरकारी निकायबाट अनुदान नपाएका उनी कोरियाबाट फर्केर कृषि कर्ममा लागेकोमा खुशी नै रहेको बताए ।

कोरियामा १५ वर्ष काम गरेर फर्किएका मामा प्रदीपकुमार थापासँग मिलेर बंशीमगरले कृषि फर्मको शुरुवात गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ठाकुरबाबामा रोजगार मेला सञ्चालन गरिने

२६ भाद्र २०८०, मंगलवार १५:३१
नेपालगञ्ज : बर्दियाको ठाकुरबाबा नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा असोज ३ गते रोजगार मेला सञ्चालन गरिने भएको छ । ठाकुरबाबा नगरपालिकाको आयोजना र बाँके युनेस्को क्लवको सहजिकरणमा संचालन गरिने सो मेलाको तयारीका लागि ठाकुरबाबा नगरपालिकाका उप—प्रमुख बिनाकुमारी भट्टराईको अध्यक्षता र जिल्ला समन्वय प्रमुख सुर्यबहादुर विष्टको प्रमुख आतिथ्यमा सरोकारवाला निकायहरुसंग छलफल […]