खजुरामा आत्महत्या न्यूनीकरण गर्न प्रहरी अभियान

सदरलाइन संवाददाता २४ भाद्र २०८०, आईतवार १४:२२
 

खजुरा (बाँके) : बाँकेमा पछिल्लो समय आत्महत्याका घटनामा वृद्धि हुन थालेपछि प्रहरीले गाउँमा न्यूनीकरण अभियान चलाएको छ । जिल्ला प्रहरी कार्यालय बाँके मातहतका प्रहरी एकाइहरुले आत्महत्या न्यूनीकरणको अभियान चलाएका हुन् ।

इलाका प्रहरी कार्यालय धनौलीले ग्रामीणस्तरमा आत्महत्या न्यूनीकरण अभियान चलाएको प्रहरी नायब निरीक्षक लिलबहादुर नेपालीले जानकारी दिए । प्रहरी नायब निरीक्षक नेपालीले भने, ‘स्थानीयलाई टोल–टोलमा जम्मा गरी आत्महत्या न्यूनीकरणका लागि सचेत पार्न कार्यक्रम चलाइरहेका छौं ।’

आर्थिक, सामाजिक र पारिवारिक कारणले व्यक्तिले आत्महत्या गर्ने भएकाले समुदायका व्यक्तिलाई त्यसबारेमा सचेत पार्न अभियान चलाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कअनुसार पछिल्लो तीनवर्षे अवधिमा आत्महत्याका घटना तीन गुणाले वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाङ्गीका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा बाँकेमा १०१ जनाले आत्महत्या गरेका थिए ।


जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी डाङ्गीले भने, ‘आत्महत्या गर्नेमा सबै उमेर समूहका व्यक्ति छन् ।’

प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७–७८ मा ३१ जना र २०७८–७९ मा ४७ जनाले आत्महत्या गरेका थिए । प्रहरीका अनुसार कतिपय आत्महत्याका घटनामा विभिन्न व्यक्तिलाई दबाब दिएको भन्दै आत्महत्या दुरुत्साहनमा समेत कारवाहीका लागि मुद्दा दर्ता हुनेगरेको छ ।

आत्महत्या न्यूनीकरणका लागि जनस्तरमा प्रहरी तथा विभिन्न सङ्घ संस्थाले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएपनि प्रहरीको तथ्याङ्कअनुसार आत्महत्या दिन प्रतिदिन बढिरहेको छ । चिकित्सकका अनुसार डिप्रेसन, चिन्ता र भय आत्महत्याको प्रमुख कारण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

२४ भाद्र २०८०, आईतवार १४:२२
नेपालगञ्ज : भेरी अस्पतालमा विभिन्न विशेषज्ञ सेवा र आधुनिक जाँच सेवा थपिँदै गएका छन् । स्वास्थ्य उपचारका लागि अतिनै आवश्यक मानिने एमआरआई मेसिन जडान हुने प्रक्रियामा रहेकै बेला सो अस्पतालमा क्यान्सर रोग पत्ता लगाउन गरिने जाँच अर्थात् ‘हिस्टो प्याथोलोजी’ सेवा शुरु गर्ने तयारी गरिएको हो । भेरी अस्पताल विकास समितिका […]