स्वास्थ्यजन्य फोहोर जथाभावी फाले कारबाही

सदरलाइन संवाददाता २० भाद्र २०८०, बुधबार १५:५७
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाभित्र रहेका विभिन्न अस्पताल र निजि क्लिनिकहरुले स्वास्थ्यजन्य फोहोरको उचित व्यवस्थापन नगर्ने र जहाँ पायो त्यहि फाल्ने गरेका छन् । उपमहानगरपालिकाले नगरमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापनमा सम्बन्धित पक्षद्वारा लापरबाही गरिएको पाएपछि सो बारेमा विशेष निगरानी शुरु गरिएको हो ।

नेपालगञ्जका नगरप्रमुख प्रशान्त विष्टले स्वास्थ्यजन्य फोहोर अरु सामान्य फोहरजस्तो नभएको जनाउँदै यो स्वास्थ्यका लागि निकै हानिकारक भएकोले यसको सही व्यवस्थापन आवश्यक रहेको बताए । उनले उपमहानगरभित्र रहेका अस्पतालहरुदेखि लिएर निजि क्लिनिक र मेडिकल स्टोरहरु समेत सो बारेमा गम्भीर नदेखिएकोले चिन्ता बढेको बताए । सोही कारणले नगर प्रमुख विष्ट, उपप्रमुख कमरुद्दीन राई, वातावरण तथा सरसफाई शाखा र प्रमुख कार्यकारी अधिकृत आफैंले नगरका विभिन्न स्थानमा पुगेर स्वास्थ्यजन्य फोहोरको अवस्थाबारे अनुगमन गर्दै आएका छन् ।

नेपालगञ्ज उपमहानगरका उपप्रमुख राईले त्यस्तो अनुगमन गर्दा धेरै ठाउँमा सडक छेउमा लापरबाहीपुर्ण तरिकाले स्वास्थ्यजन्य फोहोर फालिएको पाईएको बताए । उनले भने, “स्वास्थ्यजन्य फोहर व्यवस्थापनमा औषधि पसलहरूले समेत लापरबाही गरिरहेको पाएपछि सो रोक्न कडाई गरिएको छ, स्वास्थ्यजन्य फोहर प्रशोधन केन्द्र नै सञ्चालन गरेर दैनिकरुपमा फोहर सङ्कलन भइरहँदा पनि लापरबाही गर्ने छुट कसैलाई छैन ।”


नेपालगञ्जलाई सफा स्वच्छ र सुन्दर बनाउन हरेक नगरवासीको सहयोग र समर्थन अपरिहार्य भएको उपमहानगरपालिकाले जनाएको छ । उता, नेपालगञ्जका नगर प्रमुख विष्टले सरसफाईमा लापरबाही गर्ने छुट कसैलाई पनि नदिने जनाउँदै यसमा सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाले सरसफाईका लागि हरेक वर्ष ठुलो धनराशि खर्च गरिरहेको छ । तर, सहर सफा देखिनुको साट्टा झन फोहोर देखिन थालेको जन गुनासो छ । नेपालगञ्ज उपमहाननगर वडा नम्बर ११ का वडा अध्यक्ष नन्द किशोर कश्यपले सरसफाईमा विशेष ध्यान दिएको जनाउँदै आफू स्वयम् प्रत्यक्ष रुपमा सो काममा खटिने गरेको बताए । नागरिकमा इमानदारिता, जागरूकता र जिम्मेवारीपन भएमा सफा र स्वच्छ नगर बनाउने उपमहानगरपालिकाको अभियान छिट्टै सार्थक हुने जनाउँदै उनले त्यसका लागि वडा नम्बर ११ ले काम गरिरहेको बताए ।

स्वास्थ्यजन्य फोहोरको उचित विसर्जन नगरको सुन्दरता र स्वास्थ्यसँग जोडिएको सम्वेदनशील विषय भएकाले सबैको साझा प्रयासबाट मात्र नगरलाई स्वच्छ र सफा राख्न सकिने उपमहानगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ईराकको करर्वलामा तीन दिवशिय अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

२० भाद्र २०८०, बुधबार १५:५७
नेपालगञ्ज :  ‘प्यालेस्टाइन र इमाम हुसैन अलैहिस्सलाम (अस)’ शिर्षकको अल–अक्सा कलको ३ दिवसीय दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन इराकको पवित्र शहर कर्बालामा सम्पन्न भएको छ । सो सम्मेलनमा इमाम हुसैन (अस) को आन्दोलनका आधारहरू बारे प्रकाश पर्दै कार्यक्रम कार्यकारी समितिका सदस्य अब्दुल मलिक सेकरियाले सम्मेलन आयोजना गर्नुको उद्देश्य, इमाम हुसेन (अस) को […]