नेपालगञ्जस्थित अख्तियारमा उजुरीको चाङ

सदरलाइन संवाददाता १३ भाद्र २०८०, बुधबार १६:११
 

नेपालगञ्ज : सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता जनाएसँगै नेपालगञ्जस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको चाङ लागेको छ । आयोगमा भ्रष्टाचारविरुद्ध उजुरी दिनेहरू बढ्दै गएको पाइएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवातमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जमा ८२ वटा भ्रष्टाचारसम्बन्धी उजुरी परेका छन् । भदौ महिनामा १९ वटा उजुरी अख्तियारमा परिसकेका छन् ।

भ्रष्टाचारीलाई कारबाही प्रक्रिया तीव्र पारिएको र उजुरी प्रक्रियालाई सहज बनाएकाले उजुरी गर्नेको सङ्ख्या बढेको सो कार्यालयले जनाएको छ । उजुरीका लागि अख्तियार कार्यालयमै पुगेर उजुरी दिनेभन्दा अन्य माध्यमबाट दिने उजुरीको सङ्ख्या बढी रहेको जनाइएको छ । अख्तियारले सबै माध्यमबाट उजुरी स्वीकार गर्ने तथा पहिचान नै नखोलेर उजुरी दिने व्यवस्था मिलाएकाले इमेल, हुलाकमार्फत र प्रत्यक्ष रूपमा कार्यालयमा पुगी दिइने उजुरीको सङ्ख्या बढेको हो ।


अख्तियारमा उजुरीको चाङ लाग्दै गए पनि फस्र्योट भने अपेक्षित रूपमा हुन नसकेको अख्तियारकै कर्मचारी बताउँछन् । बाँके, बर्दिया, दाङ र रोल्पा गरेर चार जिल्ला हेर्ने जिम्मेबारी पाएको अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जमा सीमित जनशक्ति हुँदा उजुरीको फस्र्योटमा समय लाग्ने गरेको हो ।

अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जका अनुसार, साउन महिनामा हुलाकबाट १८, लिखित निवेदन ३३, टेलिफोनबाट १०, इमेलबाट २१ उजुरी आएका छन् । आर्थिक वर्ष २०७९/८० मा ४४५, २०७८/७९ मा ४७५, २०७९/८० को साउनमा ५६, भदौमा ३९, असोजमा २२, कात्तिकमा १७, मङ्सिरमा १८, पुसमा २६, माघमा ३८, फागुनमा ३९, चैतमा ५०, वैशाखमा ५८, जेठमा ५९ र असारमा २२ वटा उजुरी दर्ता भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तुलसीपुरमा खुला कवडी प्रतियोगिता हुँदै

१३ भाद्र २०८०, बुधबार १६:११
दाङ : दाङको तुलसीपुरमा खुला कवडी प्रतियोगिता २०८० हुने भएको छ । युथ स्पोर्ट्स एकेडेमी तुलसीपुर दाङको आयोजनामा हुने प्रतियोगिता यहि भदौ १५ गते शुक्रबारदेखि राप्ती किङ प्रशिक्षण केन्द्रको खेल मैदानमा हुनेछ । प्रतियोगिताको औपचारिक उदघाटन बिहान ११ बजे हुने आयोजक युथ स्पोर्ट्स एकेडेमी तुलसीपुरका अध्यक्ष सुजन थापामगरले जानकारी दिए […]