नेपालगञ्ज : नेपालगञ्जको प्रशिद्ध बागेश्वरी मन्दिरमा दोस्रो पटक ‘महाआरती’ गरिदैछ । वेष्टर्न ट्राभल मार्टको अवसरमा यसअघि माघ १५ गते पनि महाआरती गरिएको थियो ।
ट्राभल एजेन्ट्स एशोसिएसन अफ नेपाल (नाट्टा) बाँके च्याप्टरको आयोजनामा सोमबार महाआरती हुन लागेको हो । नेपालगञ्जलाई धार्मिक पर्यटनसँग जोड्न यहाँका पर्यटन ब्यवसायीले महाआरतीलाई स्थापित गराउन लागेका हुन् ।
यसको नेतृत्व गरिरहेका नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले सम्पूर्ण नेपालगञ्जबासीलाई महाआरतीमा सहभागी हुन आब्हान गरेका छन् । ‘यो नेपालगञ्जबासीका लागि गर्वको कुरा हो, महाआरतीमा सहभागी भएर यसलाई सफल बनाउन म सबैलाई आब्हान गर्दछु,’ उनले भने ।
सोमबार बेलुकी साढे ५ बजेतिर बागेश्वरी मन्दिरमा पुग्न उनले सबैलाई आग्रह गरेका छन् । महाआरती गर्नका लागि नेपालगञ्ज उपमहानगरपालिका कार्यालय र वेष्टर्न ट्राभल मार्ट नेपालले सहकार्य गरेका छन् ।