दाङमा ४७ प्रतिशत खेतमा मात्रै रोपाईं

सदरलाइन संवाददाता ११ श्रावण २०८०, बिहीबार १४:३४
 

दाङ : दाङमा साउनको आधा हुनै लाग्दा आधा पनि जमिनमा धान रोपाईं हुन सकेको छैन । रोपाइका लागि ब्याड तयार भए पनि सिँचाइको अभावका कारण अधिकांश ठाउँमा खेत बाँझै रहेको हो ।

कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा हालसम्म ४७ प्रतिशत खेतमा मात्रै धान रोपाइ सम्पन्न भएको छ । अझ ५३ प्रतिशत खेतमा रोपाइ हुन सकेको छैन । सिँचाइको सुविधा नहुँदा जिल्लाका अधिकांश ठाउँ रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताए ।

उनका अनुसार ढिलागरी शुरु भएको वर्षाका कारणले रोपाईंमा समेत ढिलाइ भएको छ । उनले भने, ‘असारको पहिलो हप्तादेखि वर्षा शुरु भएपनि जिल्लामा रोपाईंका लागि पर्याप्त वर्षा हुन सकेको छैन । जस्लेगर्दा ब्याड तयार भए पनि रोपाईं हुन सकेको छैन ।’

कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा खेतीयोग्य जमिन ३९ हजार ४ सय हेक्टरमध्ये हालसम्म ४७ प्रतिशत धान रोपाईं भएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब १३ प्रतिशतले कमी हो । गतवर्ष साउनको पहिलो सातासम्म जिल्लामा करिब ६० प्रतिशत रोपाईं सम्पन्न भएको थियो ।


जिल्लाको देउखुरी क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिकामा धान रोपाइँ करिब सकिए पनि दाङ उपत्यकाको घोराही, तुलसीपुरसँगै दंगीशरण, शान्तिनगर लगायतका क्षेत्रमा अधिकांश ठाउँमा खेत बाँझै रहेको छ ।

सिँचाइको सुविधा हुने ठाउँहरूमा किसानले रोपाईं गरेपनि आकाशे पानीको भरमा खेती हुने अधिकांश ठाउँ बाँझै रहन पुगेको सूचना अधिकारी लामिछानेले बताए ।

सिँचाइ सुविधा हुने देउखुरीलगायत घोराही केही वडामा धान खेती सकिएको भन्दै कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ लामिछानेले भने, ‘अहिलेसम्म ४७ प्रतिशत जमिनमा धान रोपाईं भएको छ । वर्षा समयमै नहुँदा रोपाईंमा ढिलाइ भएको छ ।’

समयमा पानी पर्दा जिल्लामा असारको महिनामै करिब रोपाईं सकिने गरेको थियो । ढिला रोपाईं भएपनि यसले उत्पादनमा धेरै असर नगर्ने सूचना अधिकारी तथा कृषि अर्थविज्ञ लामिछानेले बताए । उनका अनुसार जिल्लाको ३९ हजार ४ सय हेक्टर खेतीयोग्य जमिनमध्ये १९ हजार हेक्टरमा मात्रै सिँचाइको सुविधा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा अत्याधुनिक हल ‘सिने रोयल’ सञ्चालनमा

११ श्रावण २०८०, बिहीबार १४:३४
नेपालगञ्ज : नेपालगञ्जमा बिहीवारदेखि अत्याधुनिक लक्जरी मल्टिप्लेक्स हल ‘सिने रोयल’ सञ्चालनमा आएको छ । बिहीवार एक कार्यक्रमका बीच हलको उदघाटन गरिएको छ । उदघाटनका अवसरमा पत्रकार सम्मेलन गरेर हलबारे जानकारी गराइएको थियो । बिहीवार पहिलो दिन निःशुल्क फिल्म समेत देखाइएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगरमा निर्माण भएको […]