नेपालगञ्ज नाकाबाट व्यापार घाटा दिन प्रतिदिन बढ्दै

सदरलाइन संवाददाता ८ श्रावण २०८०, सोमबार १४:५६
 

नेपालगञ्ज : सरकारले पटक पटक निर्यातलाई वृद्धि गरेर आयातलाई घटाउने जनाउँदै आएपनि पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्ज नाकाबाट व्यापार घाटा धेरै बढी भएको पाइएको छ ।

यहाँस्थित जमुनाहा नाकाबाट आयातको तुलनामा अतिनै न्यून परिमाणमा निर्यात भएकाले यो नाकाबाट ६५ अर्बभन्दा बढी व्यापार घाटा भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा यो नाकाबाट भएको आयात र निर्यातको तुलना गर्दा ६५ अर्बभन्दा बढी ९६.३४ प्रतिशत व्यापार घाटा भएको छ ।


भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले आर्थिक वर्ष २०७९/८० मा नेपालगञ्ज नाकाबाट ६७ अर्ब ७२ करोड ८५ लाख ५४ हजार रुपैयाँको आयात भएकोमा दुई अर्ब ४७ करोड ६८ लाख ७३ हजार रुपैयाँको मात्र निर्यात हुँदा ९६.३४ प्रतिशत व्यापार घाटा भएको बताए ।

उनले गत आवमा आयात निर्यात तुलना गर्दा यो नाकाबाट ६५ अर्ब २५ करोड १६ लाख ८१ हजार भन्दा बढी व्यापार घाटा भएको पाइएको बताए । सूचना अधिकारी शर्माले निर्यात एकदमै न्यून हुँदा यति धेरै व्यापार घाटा देखिएको जनाउँदै निर्यात बढाउने र आयात घटाउने अभियानमा सबै देशवासी लाग्नुपर्नेमा जोड दिए ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले भारतले निर्यात प्रक्रियालाई सहज र सरल नबनाएसम्म निर्यात बढाउनै नसकिने जनाउँदै केही समय पहिलेसम्म जडीबुटीको राम्रो निर्यात हुने गरेकोमा निर्यातमा विभिन्न नियम लगाउँदा सो पनि कम हुँदै गएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जलाई डुबानमुक्त बनाउन नाला फराकिलो पारिँदै

८ श्रावण २०८०, सोमबार १४:५६
नेपालगञ्ज : नेपालगञ्ज डुबानबाट जोगाउन सहरभरिको पानी निकासको मुख्य नाला र पुललाई फराकिलो बनाउन थालिएको छ । नेपालगञ्ज नगरभरिको पानीको मुख्य निकासको रुपमा रहेको सुर्खेतरोडस्थित ठुलो नालाको निकासलाई फराकिलो बनाएर त्यहाँ राजमार्गमा रहेको पुललाई समेत फराकिलो गर्ने काम शुरु गरिएको हो । नेपालगञ्ज उपमहानगरका कार्यवाहक प्रमुख कमरुद्दीन राईले नगरभरिको पानीको […]