नेपालगञ्जलाई डुबानमुक्त बनाउन नाला फराकिलो पारिँदै

सदरलाइन संवाददाता ८ श्रावण २०८०, सोमबार १४:५८
 

नेपालगञ्ज : नेपालगञ्ज डुबानबाट जोगाउन सहरभरिको पानी निकासको मुख्य नाला र पुललाई फराकिलो बनाउन थालिएको छ । नेपालगञ्ज नगरभरिको पानीको मुख्य निकासको रुपमा रहेको सुर्खेतरोडस्थित ठुलो नालाको निकासलाई फराकिलो बनाएर त्यहाँ राजमार्गमा रहेको पुललाई समेत फराकिलो गर्ने काम शुरु गरिएको हो ।

नेपालगञ्ज उपमहानगरका कार्यवाहक प्रमुख कमरुद्दीन राईले नगरभरिको पानीको मुख्य निकासको रुपमा रहेको सुर्खेतरोडको निकास तीन मिटर मात्र रहकोले त्यसलाई फराकिलो पारेर पानीको निकासलाई सहज पार्ने कार्य शुरु गरिएको बताए । उनले मुख्य नालालाई फराकिलो गरिएपनि निकास भने साँघुरो रहेकोले पानी थुुनिएर वर्षेनी नेपालगञ्ज डुबानमा पर्ने गरेकोले सो समस्या अन्त्य गर्न अहिले निकास फराकिलो पार्न थालिएको बताए ।

कार्यवाहक प्रमुख राईले भने, “मुख्य निकासको नाला फराकिलो भएपनिबीचको भाग तीन मिटरको साँघुरो बनाएका कारणले नेपालगञ्जवासीले सास्ती भोग्दै आएका थिए । सोही कारणले निकासको पुल र नाला फराकिलो गरिंदैछ, अब डुबान हुनेछैन ।”

केही दिनअघि मात्र मुख्य निकास र पुल चौडा गर्नका लागि काम शुरु गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख निरज शाक्यले बताए । उनका अनुसार नाला फराकिलो गर्नका लागि ३२ लाख ५ हजार ४५२ रुपियाँको लागतमा कार्की सच्ची जेभी कन्स्ट्रक्सन नेपालगञ्जले निर्माणको ठेक्का लिएको छ ।


अधिकांश नगरवासीले यो निर्माण कार्य निकै ढिला गरेर वर्षा शुरु भइसकेपछि मात्र शुरु गरिएको जनाउँदै आलोचना समेत गरेका छन् । उपमहानगरका अनुसार नालाबाट पानी बग्ने मुहानलाई चौडा बनाएपछि वर्षाको समयमा नेपालगञ्ज शहर डुब्ने समस्याको अब अन्त्य हुने विश्वास गरिएको छ ।

नेपालगञ्ज नगरभित्रका प्रायः करिब ८० प्रतिशत सडक तथा नालाहरु निर्माण भइसकेको छ । तर नाला निमार्ण भएपनि वर्षाको समयमा पानी परेर जम्मा हुने र पर्याप्त पानीको निकास थुनिएपछि सहर डुबानमा पर्ने समस्या पनि यो निर्माणपछि अब समाधान हुनेछ ।

केही दिन पहिले सो बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सङ्घीय सांसद लक्ष्मी तिवारीले पनि उपमहानगरपालिका र सडक डिभिजन लगायतको ध्यानाकर्षण गराएकी थिइन् । यसअघि स्थानीय नागरिक समाजका अगुवाहरुले पनि मुख्य निकास साँघुरो भएको प्रति सम्बन्धित निकायलाई जानकारी गराउँदै आएका थिए ।

पानीको सहज निकासका लागि वर्षा शुरु हुनुभन्दा केही महिना पहिले हरेक वर्ष उपमहानगरले नगरभित्रका सबै नाला र नालीको सरसफाइ गर्दै आएको उपमहानगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन स्वरुप मासिक दुई हजार

८ श्रावण २०८०, सोमबार १४:५८
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई प्रोत्साहन गर्न मासिक दुई हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले गाउँपालिकाका–६ वटै वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन रकम उपलब्ध गराउन चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा १९ लाख ४४ हजार रुपैयाँ विनियोजन […]