बाँकेमा राजस्व बाँडफाँट घट्यो

सदरलाइन संवाददाता ४ श्रावण २०८०, बिहीबार १३:२०
 

नेपालगञ्ज : घरजग्गाको कारोबारमा कमी भएपछि बाँकेका स्थानीय तहमा गत आर्थिक वर्ष २०७९।८० मा राजस्व बाँडफाँट शीर्षकमा भूमिसुधार तथा मालपोत कार्यालय बाँकेबाट प्राप्त हुने आम्दानी करिब दोब्बरले घटेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख छविलाल नेपालीका अनुसार गत आवमा राजस्व बाँडफाँट शीर्षकमा बाँकेका स्थानीय तहले करिब ४३ करोड रुपैयाँ प्राप्त गरेका छन् । गत आवको साउनदेखि जेठसम्म ३९ करोड ५८ लाख ६२ हजार रुपैयाँ र असारमा करिब तीन करोड बढी रुपैयाँ स्थानीय तहलाई पठाइएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८।७९ मा ७६ करोड ५८ लाख रुपैयाँ राजस्व बाँडफाँट शीर्षकमा पठाइएको कार्यालय प्रमुख नेपालीले बताए ।

कार्यालय प्रमुख नेपालीले भने, “आर्थिक मन्दी लगायतका कारण घरजग्गाको कारोबारमा कमी भएपछि मालपोतको समग्र राजस्व सङ्कलनमा कमी भएको छ ।”


गत आवमा विश्वब्यापी आर्थिक मन्दीसँगै निर्वाचन, कित्ताकाट रोकिएको, स्थानीय तहले जग्गाको वर्गीकरण गर्नुपर्ने, बैंकिङ कारोबारमा कडाइका कारण राजस्व सङ्कलनमा कमी आएको छ । राजस्व बाँडफाँट शीर्षकमा स्थानीय तहमा जग्गाको रजिष्ट्रेशनबापत प्राप्त हुने राजस्वको ६० प्रतिशत सम्बन्धित स्थानीय तहले र ४० प्रतिशत प्रदेश सरकारले प्राप्त गर्ने व्यवस्था छ ।

बाँकेमा यसरी सबैभन्दा बढी राजस्व प्राप्त गर्नेमा नेपालगञ्ज उप–महानगरपालिका र कोहलपुर नगरपालिका छन् भने कम राजस्व प्राप्त गर्नेमा नरैनापुर, डुडुवा, जानकी र राप्ती–सोनारी गाउँपालिका छन् ।

मालपोत कार्यालयले गत आवमा पुँजीगत लाभकर शीर्षकमा २३ करोड ३२ लाख ८० हजार ९१५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यसैगरी, आव २०७८।७९ भन्दा आव २०७९।८० मा करिब ६ कम लिखत पास भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा आन्तरिक राजस्व आठ प्रतिशतले बृद्धि

४ श्रावण २०८०, बिहीबार १३:२०
नेपालगञ्ज : आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले अघिल्लो आर्थिक वर्ष २०७८–७९ भन्दा आर्थिक वर्ष २०७९–८० मा आठ प्रतिशतले बढी राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख सुदिशकुमार अर्यालका अनुसार आर्थिकवर्ष २०७९–८० मा पाँच अर्ब ९२ करोड २० लाख ९८ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । कार्यालय प्रमुख […]

सम्बन्धित