बाँके प्रशासनमा सामान्य बन्दै नागरिकता लिनेको भीड

सदरलाइन संवाददाता २७ असार २०८०, बुधबार १४:४२
 

नेपालगञ्ज : जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिन थालिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा बढेको भीड सामान्य बन्दै गएको छ ।

असार १० गतेदेखि नागरिकता लिनेको भीडका कारण अन्य सेवा समेत प्रभावित भइरहेकोमा पछिल्लो समय अवस्था सामान्य बन्दैगएको सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी केसीले भने, ‘शुरुवाती दिनमा एकसाथ सयौँ व्यक्ति आउँदा समग्र सेवा प्रवाहमा समस्या परेको थियो, अहिले भने यसरी नागरिकता बनाउन आउनेको सङ्ख्या कम भएको छ ।’

उनका अनुसार मङ्गलबारसम्म बाँकेमा जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय कोहलपुर र नरैनापुरबाट एक हजार ९१ जनाले यसरी नागरिकता प्राप्त गरेका छन् ।

असार १३ गते १११ जना, १४ गते १२९ जना, १८ गते १०८ जनाले यसरी नागरिकता लिएकोमा असार २२ गते यता भने नागरिकता लिन आउनेको सङ्ख्या कम छ । असार २२ गते ३३ जनाले नागरिकता लिए भने २४ गते ३८ जनाले लिएको तथ्याङ्क छ । प्रशासनले एक दिनमा एकसय जनाले नागरिकता लिन सक्ने गरी व्यवस्थापन गरेको छ ।


शुरुवातीमा अधिक चाप भएपछि प्रशासनले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरणका लागि अलग्गै इकाई बनाइएको भएपनि स्रोत साधन र जनशक्तिको अभावमा व्यवस्थापनमा समस्या परेको थियो । जसकाकारण स्थानीय तहअनुसार फरक–फरक दिन तोकिएको छ ।

प्रशासनमा पछिल्ला दिनमा भने भिडभाड कम हुनेगरेको छ । बाँकेमा आठ हजार बढीले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेको तथ्याङ्क छ । प्रशासनले जन्मसिद्धको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले वंशजको आधारमा नागरिकता प्राप्त गर्न अनुसूची –१ बमोजिमको सिफारिस, बुबा र आमाको सक्कल नेपाली नागरिकताको प्रमाणपत्र, जन्ममिति र जन्मस्थान खुल्ने सक्कल जन्मदर्ता प्रमाणपत्र माग गर्नेगरेको छ ।

यसैगरी सन्तानको आमाबुवाको नाममा भएको जग्गाधनी प्रमाणपत्र पुर्जा, बुबाआमा र सन्तानबीचको फोटोसहितको नाता प्रमाणित, शैक्षिक प्रमाणपत्र, घरधनी प्रमाण पुर्जा (नक्सा पास) वा अन्य सबुत प्रमाण, ठेगाना परिवर्तन गरी नागरिकता लिन चाहेमा उद्गमस्थान र गन्तव्य स्थानको बसाइसराई दर्ता प्रमाणपत्र, नेपालमा नै जन्म भई निरन्तर नेपालमा बसोबास गरेको भनी स्थानीय तहले गरिदिएको स्थायी बसोबास प्रमाणित पत्र, पारिवारिक विवरण, बाबुआमा बीचको विवाहदर्ता, बाबुआमामध्ये कोही वा दुवैको मृत्यु भएको हकमा मृत्यु दर्ता प्रमाणपत्र आवश्यक पर्ने प्रशासनले जनाएको छ ।

यसैगरी अन्य तोकिएको कागजात, स्थायी लेखा नम्बर, व्यवसाय दर्ता प्रमाणपत्र, वि.सं. २०६३ को टोलीले नाबालक दर्ता गरेको भए सोको निस्सा माग गरिएको छ । प्रशासन कार्यालयबाट आवश्यकताअनुसार स्थलगत प्रहरी सर्जमिन मुचुल्का समेत गर्न सकिने हुँदा सो ब्यहोरालाई पुष्टि गर्ने अन्य कागजात समेत ल्याउन प्रशासनले सार्वजनिक सूचना जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीको टीकापुरमा एमालेका नेतामाथि खुकुरी प्रहार

२७ असार २०८०, बुधबार १४:४२
कैलाली : कैलालीको टीकापुरमा नेकपा एमालेका २ नेतामाथि खुकुरी प्रहार भएको छ । नेकपा एमालेको कैलाली जिल्ला कमिटि सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य प्रकाश खड्का र युवा संघ कैलालीका सदस्य बम ओलीमाथि खुकुरी प्रहार भएको हो । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार चक्र शाहको समूहले उनीहरूमाथि […]