कैलालीमा सिकलसेल स्क्रिनिङ अभियान

सदरलाइन संवाददाता ५ असार २०८०, मंगलवार १३:४८
 

धनगढी : कैलालीको कैलारी र जानकी गाउँपालिकामा सिकलसेल र थालासेमिया स्क्रिनिङ अभियान सञ्चालन गरिएको छ । थारू समुदायमा देखा परेको सिकलसेल एनिमिया र थालासेमिया रोग पहिचान तथा निदान गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोग र स्थानीय तहको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले सो अभियान सञ्चालन गरेको हो ।

सो अभियानको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उदघाटन गरे । कैलारी गाउँपालिकाबाट अभियान सञ्चालन गर्दै मुख्यमन्त्री शाहले सिकलसेल र थालासेमिया रोग निदानका लागि प्रदेश सरकारले निःशुल्क परीक्षणको व्यवस्था गरेको बताए । नागरिकले निःशुल्क स्वास्थ्य परीक्षण र उपचार गर्न पाउने व्यवस्था पनि प्रदेश सरकारले गर्ने उनको भनाइ थियो । “सिकलसेल जाँच अभियानले पूर्णता नपाउँदासम्म प्रदेश सरकारको सहयोग जारी रहन्छ,” उनले भने ।

थारू समुदायमा लाग्ने वङ्शाणुगत सिकलसेल रोगका बिरामीलाई सरकारले एक लाख रुपियाँ बराबरको उपचार सहुलियत दिँदै आएको छ । उपचार सहुलियत अपुग भएमा रकम थप परिमार्जन गरिने मुख्यमन्त्री शाहले बताए । “जटिल रोग निदानका लागि गरिब, निमुखा, विपन्न र पिछडिएका वर्गलाई प्रदेश सरकारले सहयोग गर्दै जानेछ,” उनले भने । बिरामी पत्ता लगाउने उद्देश्यले सञ्चालन गरेको स्क्रिनिङ अभियानलाई प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ ।


सिकलसेल एनिमिया र थालासेमिया रोग थारू समुदायमा बढी देखिए पनि गैरथारू समुदायमा पनि यो रोग रहेको सामाजिक विकासमन्त्री झपटबहादुर साउदले बताए । “यो रोग गैरथारू समुदायमा पनि देखा परिरहेको छ,” उनले भने ।

यसै गरी प्रदेश सभा सदस्य गीता चौधरीले सिकलसेल र थालासेमिया थारू समुदायमा बढी देखिएकाले यो समुदाय बढी सचेत हुन आवश्यक रहेको बताइन् । उनले प्रदेश सरकारको सहयोगमा निःशुल्क परीक्षणको अभियान सुरु भएकाले सबैलाई चेकजाँच गराउन आग्रह गरिन् ।

कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले गाउँपालिकाले सिकलसेल जाँचलाई तीव्रता दिएको बताए । सो गाउँपालिकाले विभिन्न समयमा शिविर सञ्चालन गरेर स्क्रिनिङ गर्दै आएको छ । प्रदेश सरकारको सहयोगमा असार ११ गतेसम्म स्क्रिनिङ अभियान सञ्चालन गरिने जनाइएको छ । जानकी गाउँपालिकामा पनि सिकलसेल र थालासेमियाको स्क्रिनिङ शिविर सञ्चालन गरिएको छ । जानकी गाउँपालिका–५ स्थित राष्ट्रिय आधारभूत विद्यालयमा आयोजित शिविरको मुख्यमन्त्रीले एक कार्यक्रमका बिच उदघाटन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मन्त्री सवार गाडी दुर्घटना, मन्त्रीसहित ५ जना घाइते

५ असार २०८०, मंगलवार १३:४८
धनगढी : सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना भएको छ । सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सिंह सवार डडेल्धुराबाट बझाङ चैनपुर आउँदै गरेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा […]