एमाले र कांग्रेसले विकल्प नदिए देश प्रचण्डको सत्ता लिप्सा वरिपरी घुम्छ : एमाले नेता महेश बस्नेत

सदरलाइन संवाददाता २७ जेष्ठ २०८०, शनिबार १८:५४
 

 

काठमाडौं, :  नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले देश विकास र समृद्धीको भिजन र दृष्टिकोण आफ्नो पार्टीसँग मात्रै रहेको दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेसँग मात्रै स्थिर सरकार र लिडरसिपको भिजन रहेको बताएका हुन् ।

‘नेपाली जनताले विकास, समृद्धि र परिवर्तन चाहेका छन् । त्यो पनि तीव्र गतिमा चाहेका छन् । त्यसको निमित्त मुलुकमा स्थिर सरकार चाहेका छन् । राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता छ ।’ उनले भने, ‘स्थिर सरकारभित्र भिजन भएको र दृष्टिकोण भएको लिडरसिपले मात्रै त्यो पूरा गर्न सकिन्छ भन्ने कुराको अन्तराष्ट्रिय अनुभव र नेपालको अनुभव हामीसँग छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीको ४० महिने सरकारले उनलाई विकासको स्तम्भको रूपमा स्थापित गरेको उनको दाबी छ । भारतमा आगामी २०२४ मा हुने निर्वाचनमा भाजपाले दुईतिहाईको अपेक्षा गरिरहेको प्रसंगलाई जोड्दै स्थितर सरकार नभएसम्म मुलुकमा विकास नहुने उनले बताए । अहिलेको सरकारले विकासका क्षेत्रमा कुनै भूमिका निर्वाह गर्न नसकेको उनको आरोप छ ।

‘भारत २०२४ मा पुनः राष्ट्रिय चुनाव गर्दैछ र दुई पटक मोदीको कार्यकालको उसले गम्भीर समीक्षा गर्दै छ । आउँदो चुनावमा दुई तिहाईको लक्ष्यसहित हामी जान्छौं भनेर भाजपाले योजना बनाइरहेको छ’ उनले भने, ‘भारतीय जनताले राजनीतिक स्थिरता भित्रमात्रै विकास हुन्छ भन्ने अनुभूति गरेका छन् । नेपालका ४० महिने केपी ओलीको सरकारलाई विकासको आधार स्तम्भको रुपमा हेर्न सकिन्छ । त्यसपछाडि बनेको सरकारले विकासको सन्दर्भमा कुनै भूमिका खेल्न सकेन ।’

कुनै दलको बहुमत नभएको अवस्थामा प्रतिपक्ष पनि बलियो नहुने र साना दलले च्याखे थाप्ने गरेको उनको भनाई छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रमको उपलब्धी केही पनि नरहेको उनको दाबी छ । ‘प्रधानमन्त्री भारत भ्रमणमा गइरहँदा हाम्रो परम्परागत सम्बन्धमा नयाँ उचाईबाट के कुरा प्राप्ति भयो त भन्दो यो चाहिँ भयो भन्ने केही पनि रहेन । आज मुर्रा भैसीं ल्याउनु भयो प्रधानमन्त्रीले त्यो सारा ट्रोलको विषय बनेको छ । राष्ट्रिय अन्तराष्ट्रिय जगतले त्यसलाई उडाइरहेको छ । हँसाइरहेको छ,’– उनले भने ।

दुई देशबीच खुलम्खुल्ला छलफल गर्न प्रचण्ड सरकारले नसकेको बस्नेतले बताए । भारत भ्रमणका क्रममा भएको केही सम्झौता पुरानै निरन्तरता भएको र मूलुकको हितमा नयाँ कुनै काम नभएको उनको दाबी छ ।

‘प्रधानमन्त्रीको भारत भ्रमण मूलुकको हितमा होइन, भारतलाई खुसी पार्ने र प्रचण्ड कमरेडको कुर्सी जोगाउने । कांग्रेस लगायतको सत्ता साझेदार दलहरुलाई समर्थन गरिरहन बाध्य पारिरहने । किनभने भारत अथवा चाइन वा अरु कुनै मुलुक मसँग निकट छ, मैले खुसी बनाएँ भन्ने सन्देश दिन उनी चाहन्थे,’– उनले भने ।

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएर आफ्नो सत्ताको आयु लम्व्याउन सफल भएको बस्नेतले बताए । अहिले माओवादीको नेता कार्यकर्ताहरुले पनि प्रचण्डको भारत भ्रमणलाई प्रचण्डको हितमा रहेको विश्लेषण गरिरहेको उनले बताए । ‘मुलुकको हितको निमित्त यो भ्रमण कति सफल भयो थाहा भएन । प्रचण्डको हितको निमित्त यो भ्रमण सफल भयो भन्ने ढंगले माओवादीका साथीहरुले विश्लेषण गरिरहेका छन्,’– उनले भने ।

प्रधानमन्त्रीले चीनको दूतावासमा आफ्ना प्रतिनिधि पठाएर भ्रमणको समय मिलाउन पहल गरिरहेकोसमेत उनले खुलासा गरे । मित्र राष्ट्रलाई खुसी पारेर आफ्नो सत्ता लम्ब्याउने दाउमा प्रधानमन्त्री रहेको बस्नेतको आरोप छ । प्रधानमन्त्री प्रचण्डले रेशम चौधरीलाई आम माफी दिने निर्णय मन्त्रिपरिषद्बाट पारित गराएर भारतलाई कोशेली लिएर गएको उनको आरोप छ ।


‘रेशम चौधरीको मुद्दा फिर्ता गरियो । किन हथाट भए यी कुरहरु ?यी कुराहरु किन भए भने भारतले नमागेको कोशेली लिएर उहाँ जानुभयो,’– उनले भने । नागरिकता विधेयक प्रमाणीकरणले राष्ट्रपति रामचन्द्र पाडेलमाथि पनि विभिन्न प्रकारका आशंकाहरु उत्पन्न भएको उनले बताए । राष्ट्रपति पौडेलको भारत भ्रमण उपचारमामात्रै सीमित थियो भनेर नेपाली जनताले विश्वास गर्न नसक्ने बस्नेतले बताए ।

‘राष्ट्रपति रामचन्द्र पौडेलज्यू अगाडिको राष्ट्रपतिज्यूले सवारीको सन्दर्भमा गरेको भद्रगोललाई व्यवस्थित गर्दै नयाँ ढंगले जान खोज्नुभयो भन्ने सन्देश दिइरहेको बेलामा भर्खरै उपचार गरेर भारतबाट उहाँ फर्किनु भएको थियो ।’ उनले भने, ‘ उहाँको भारत भ्रमणलाई उपचारमामात्र सीमित थियो भनेर आम जनताले विश्लेषण गरिरहेको बेलामा रेशम चौधरीको मुद्दा फिर्ता लिने सन्दर्भ र नागरिकता विधेयकलाई प्रमाणीकरण गरेको सन्दर्भबाट उहाँमाथि असंख्य प्रश्नहरु उठे ।’

रामचन्द्र पौडललाई नेपाली जनताले राष्ट्रवादी भनेर चित्रण गरिरहे पनि नागरिकता विधेयक प्रमाणीकरणले उनी राष्ट्रघाती हुन् भन्ने कुरा पुष्टि गरेको उनको भनाई छ । ‘रामचन्द्र पौडेलजी राष्ट्रवादी नेता भनेको उहाँ राष्ट्रघाती नेता हुनुहुँदो रहेछ । उहाँलाई महाअभियोग लगाउन पर्छ भन्ने सम्मका छलफल भए । प्रचण्डज्यूको सत्ता स्वार्थका लागि राष्ट्रपति किन यत्ति तल ओर्लेर नागरिकता विधेयक प्रमाणीकरण गर्नुभयो भन्ने कुरामा हामी अक्कनबक्क परेका छौं,’– उनले भने ।

संसद्ले निर्णय गरेर पठाएको विधेयक १५ दिनभित्र प्रमाणीकरण भएमा त्यसलाई पुनः संसद्को विषय बनाउन पर्ने उनको भनाई छ । नेपाली नागरिकले नागरिकता पाउनु पर्छ भन्नेमा आफूहरु प्रष्ट रहेको र त्यसमा कुने दुईमत नरहेको उनले बताए । विधेयक अंगिकृत नागरिकताको विषयमा नखुलेको उनको दाबी छ । सिन्दुरसँग नागरिकता साट्न नसकिने उनले बताए । नेपाल वीरताकोमात्रै मुलुक नभएर बौद्धिकताको मुलुक पनि भएको उनले बताए । अखण्ड भारतको नाममा भारतको संसद्मा राखेको नक्साका बारेमा प्रचण्डले भारत रिसाउँछ भनेर बोल्न नचाहेको बरु भूमि साट्न सकिने जस्ता कुराले प्रश्रय पाएको उनले बताए ।

अहिलको बजेट समानुपातिक विकासको मोडालिटीमा नरहेको उनको आरोप छ । बजेटको विरोध गर्नु प्रतिपक्षका सांसदको धर्म भएपनि सत्ता पक्षकै सांसदहरुमा व्यापक असन्तुष्टि बढेको उनले बताए । ‘अघिल्लो वर्ष खर्च नभएको पुँजीगत खर्चको पाँच अरबमध्ये २ अरब ३८ करोड तीन वटा जिल्लामा बाँडियो । त्यो मध्ये एक अरब १० करोड डडेलधुरामा, झण्डै ८५ करोड गोरखामा बाँडियो र बाँकी रहेको वर्तमान अर्थमन्त्रीज्यूको श्रेत्रमा बाँडियो । यही हो त हामीले चाहेको समानुपातिक विकासको मोडालिटी ?’– उनले प्रश्न गरे ।

नक्कली भुटानी शरणार्थी प्रकरण एमालेका नेताहरुलाई केन्द्रीत गरेर अगाडि बढाइए पनि एमालेले प्रमाणहरु बाहिर ल्याएपछि मञ्जु खाँण र आरजु राणासम्म पुगेको उनले बताए । ‘हिजो नक्कली भुटानी शरणार्थी प्रकरण एमालेका नेता टोपबहादुर रायमाझी र रामबहादुर थापा ‘बादल’ मा केन्द्रीत गरेर सूरु भएको थियो । एमालेले प्रमाणहरु बाहिर ल्याएपछि आरजु राणा र मञ्जु खाँणसम्म पुग्यो । बालकृष्ण खाँणलाई कुनै सल्लाह नगरी समायो । म प्रहरीलाई धन्यवाद दिन चाहन्छु,’– उनले भने ।

नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुले प्रचण्डको घरमा यो योजना बनेको उनले बताए । बालसैन्य प्रकरणमा अहिले प्रधानमन्त्री प्रचण्डविरुद्ध अदालतमा मुद्दा दर्ता हुँदै गरेको र पाँच हजारको जिम्मा लिन्छु भनेको अभिव्यक्तिमा सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा उनलाई पदमा बस्ननैतिकताले नदिनेसमेत उनले बताए । साथै, बालुवाटार काण्ड छानविनको सुरुवात गरेकै कारण एमाले विभाजन भएको उनको दाबी छ । प्रधानमन्त्री प्रचण्डले ‘क्यान्टोनमेन्ट घोटला छानविन गरौं दोषी भए जेल जान्छु’ केवल पब्लिक कन्जम्सनका लागि भनेको उनको दाबी छ ।

साथै, यति काण्ड, ओम्नी काण्डको छानविनका लागि एमाले तयार रहेको उनले बताए । एमालका सचिव रहेका टोपबहादुर रायमाझीमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोप लागेपछि एमालेले निलम्बन गरेर छानविनका लागि थप सहज वातावरण निर्माण गरेको उनको दाबी छ । कांग्रेसले खाँणलाई निलम्बन नगरेको प्रति असन्तुष्टि जनाउँदै उनले यस सन्दर्भमा धेरै कांग्रेसीहरु मौन रहेको आरोप लगाए ।

‘बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्छ भन्ने हुती भएका कांग्रेसमा कति जना हुनुहुन्छ ? गगनजी लगायतको एक दुई जनाको फाट्टफुट्ट स्वर सुनेका छौं । धेरै मान्छेहरु मौन छन्,’– उनले भने । समृद्ध मुलुक निर्माणका लागि खुल्ला छलफलका लागि उनले सबै दललाई आग्रह गरे । आफूहरु सत्ताको फोहरी खेलमा नलाग्ने उनले बताए । प्रचण्डको विकल्पमा टालाटुली बटुलीको खेलमा आफूहरु नलाग्ने उनले बताए । एमाले र कांग्रेसले देशका बारेमा ठण्डा दिमागले सोच्ने बेला आएको उनले बताए ।

एमाले र कांग्रेस मिलेबीच समझदारी बनेको खण्डमा मात्रै देशले निकास पाउन सक्ने उनको दाबी छ । ‘एमाले र कांग्रेस एक ठाउँमा बसेर यो मुलुकलाई विकल्प दिन तयार हुनुपर्छ भन्ने मलाई लाग्छ । एमाले र कांग्रेसकोबीचमा सहमति बन्यो भने यो देश ठीक ढंगले जान सक्छ । कांग्रेस र एमालेबीचमा उच्च तहको समझदारी बन्यो भने जनतामा आशा जाग्न सक्छ । नत्रभने यो देश फेरि पनि प्रचण्डको सत्ता लिप्साको वरिपरी घुम्ने छ,’– उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेन पिकलाई बीएमसीए कप

२७ जेष्ठ २०८०, शनिबार १८:५४
काठमाडौं, :  ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन बने । बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ३५–३४ […]