कर्णालीको चिस्यान केन्द्र विद्युत् अभावले बन्द

सदरलाइन संवाददाता १० जेष्ठ २०८०, बुधबार १३:५४
 

सुर्खेत : सुर्खेतको भेरीगङ्गामा निर्माण गरिएको चिस्यान केन्द्र विद्युत् अभावले बन्द भएको छ । दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र दुई वर्ष जेनतेन चलेको थियो । आर्थिक वर्ष २०७३।७४ देखि निर्माण शुरु गरिएको कोल्ड स्टोर आव २०७७।७८ बाट आंशिक सञ्चालनमा ल्याइएको थियो । तीन करोड लगानीमा निर्माण गरिएको चिस्यान केन्द्र विद्युत् आपूर्ति सहज नहुँदा बन्द भएको साना किसान कोल्ड स्टोरकी अध्यक्ष ज्ञानु भुसालले जानकारी दिए ।

चिस्यान राख्न सहयोग पुर्याउने मेसिन बिग्रेकाले कोल्ड स्टोरको काम रोकिएको उनको भनाइ छ । सञ्चालनमा आएको दुई वर्ष धौ धौमा सञ्चालन भएको थियो, अहिले मेसिन बिग्रेकाले सञ्चालनमा छैन । कोल्ड स्टोर सञ्चालनमा आएसँगै किसानलाई सहज भएको थियो । छिमेकी जिल्ला सल्यानका किसानले समेत चिस्यान केन्द्रबाट राहत पाएको उनले बताए । टोरमा दुई सय मेट्रिक टन भण्डारण गर्ने क्षमता छ । विद्युत् आपूर्ति सहज नहुँदा सञ्चालन गर्न समस्या भइरहेको छ ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भेरीगङ्गा र गुर्भाकोट नगरपालिका, साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना (रिजमएफपी), नारी जागरण बहुउद्देश्यीय कृषक समूह र साना किसान सहकारी संस्थाको लगानीमा उक्त कोल्ड स्टोर सञ्चालन गरिएको थियो । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१२ मा सञ्चालित कर्णाली डेबरेज चिस्यान केन्द्र सञ्चालनमा पनि कठिनाइ भएको छ ।

कर्णाली डेबरेज इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित कोल्ड स्टोर चालु आर्थिक वर्षदेखि सञ्चालनमा आएको हो । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र प्रालिको ५०।५० प्रतिशत अनुदानमा कोल्ड स्टोर सञ्चालन गरिएको हो । मन्त्रालयको ५० लाख र प्रालिको ५० लाख लागतमा स्टोर सञ्चालन गरिएको हो । विद्युत् नियमित नहुँदा स्टोरमा राखेको सुन्तला कुहिएर गएको प्रालिका सञ्चालक दलबहादुर शाहले बताए ।


उनका अनुसार स्टोरमा किवी र सुन्तला राखिएको थियो । विद्युत् नियमित नहुँदा कोल्ड स्टोर सञ्चालन गर्न हम्मेहम्मे भइरहेको बताए । जेनेरेटरबाट सम्भव छैन । किसानले राम्रो मूल्य पाउने आसमा स्टोरमा राख्छन् तर कुहिएर जान्छ । स्टोरको क्षमता दुई सय मेट्रिक टनको छ । विद्युत्का कारण स्टोर सञ्चालनमा समस्या भएको शाहीले बताए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णालीमा ठूला दुई सय मेट्रिक टन क्षमताका चार वटा कोल्ड स्टोर सञ्चालन गरिएको जनाएको छ । १३२ केभिए विद्युत् प्रसारण लाइन नहुँदासम्मका लागि मन्त्रालयले कोल्ड स्टोर नयाँ थप निर्माण नगर्ने भएको छ । मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले विद्युत् आपूर्ति सहज नहुँदा कोल्ड स्टोर सञ्चालन गर्न नसकिने अवस्था रहेको बताए ।

उनले भने, “प्रदेशमा ठूला कोल्ड स्टोर चार वटा छन् । नयाँ वीरेन्द्रनगरमा निर्माणको क्रममा छ । विद्युत्को भोल्टेज नपुग्दा फलफूल तथा तरकारी कुहिने र किसानलाई लाभ हुनुभन्दा घाटा हुने गरेको छ ।” मन्त्रालयले १३२ केभिए प्रसारण सुरु नहुँदासम्म नयाँ कोल्ड स्टोरका कार्यक्रममा अनुदान नदिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुकुमपश्चिममा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

१० जेष्ठ २०८०, बुधबार १३:५४
रुकुम (पश्चिम) : रुकुमपश्चिको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा सुत्केरी आमा र बच्चासहित पाँच जनाको मृत्यु भएको छ । बिहीबार बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ । सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको […]