६ वर्ष बित्दा समेत बनेन हापुरखोला पुल

सदरलाइन संवाददाता ४ जेष्ठ २०८०, बिहीबार १३:१८
 

दाङ : निर्माण व्यवसायीको लापरबाहीका कारण दाङमा २६ महिनामा बन्नुपर्ने पुल छ वर्ष बित्दा पनि निर्माण हुन सकेको छैन ।

ग्रामीण सडक अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१५ को कोठरी–डुरुवा जोड्ने हापुरखोला पुल २०७५ साल वैशाख १८ गते सक्ने गरी २०७३ पुस १९ गते सूर्य कन्स्ट्रक्सन प्रालि, सुर्खेतसँग करिब १३ करोड रुपियाँमा सम्झौता भएको थियो ।

निर्माण व्यवसायीको लापरबाहीका कारण चार वर्षअघि निर्माण सक्नुपर्ने पुल अझैसम्म बन्न नसकेको हो । पुल निर्माणका लागि तीन पटक म्याद थप भइसक्दासमेत काम पूरा हुन सकेको छैन । सडक डिभिजन कार्यालय दाङले तेस्रो पटक गत असारमा एक वर्षका लागि म्याद थप गरेको थियो ।

तेस्रो पटक थपिएको म्याद सकिन अब दुई महिना मात्रै बाँकी छ तर पुल तयार हुने अवस्था छैन । निर्माण व्यवसायीको लापरबाहीले पुल निर्माणमा ढिलाइ भएको स्थानीय कमल चौधरी बताए । उनले भने, ‘निर्माण व्यवसायीले समयमै इमानदारीपूर्वक काम गरेको भए पुल बनिसक्थ्यो । निर्माण व्यवसायीकै ढिलाइले जनताले दुःख पाइरहेका छन् ।’

समयमै पुल निर्माण भएको भए स्थानीयलाई हिँडडुलसँगै सवारीसाधन सञ्चालनमा सहजता हुने थियो । पुलको सुपर स्ट्रक्चर निर्माणको काम सकिए पनि सब स्ट्रक्चर निर्माणको काम हुन नसकेको सडक डिभिजन कार्यालय दाङका इन्जिनियर विकेश लाखेले जानकारी दिए ।

इन्जिनियर लाखेले भने, ‘अहिलेसम्म पिल्लर निर्माणसँगै थोरै भए पनि ढलान गर्ने काम भएको छ ।’ उनका अनुसार पुल निर्माणको काम २०८० साल असार मसान्तभित्र सक्नुुपर्ने छ । अहिले भइरहेको निर्माणको गति अनुसार पुल निर्माण सकिने अवस्था छैन ।


सुरुमा पुल निर्माणका व्रmममा निर्माण व्यवसायीले जग्गा विवाद र कोरोना सङ्व्रmमणको बहाना बनाउँदै पटक पटक काममा ढिलाइ गर्दा समयमा पुल निर्माण हुन नसकेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

छिटोभन्दा छिटो पुल निर्माणको काम सक्नुपर्ने भन्दै पटक पटक व्यवसायीलाई कार्यालयले ताकिता गरे पनि निर्माण व्यवसायीले विभिन्न बहाना बनाउँदै ढिलाइ गर्ने गरेका छन् ।

निर्माण व्यवसायीले पछिल्लो समय बजेट अभावका कारण पुल निर्माणमा ढिलाइ भएको बताउने गरेको इन्जिनियर लाखे बताए ।

उनका अनुसार उक्त पुलको काम ५० प्रतिशत भएको छ । समयमा पुल निर्माण हुन नसक्दा स्थानीयलाई समस्या भएको छ ।

अब पनि तोकिएको समयमा निर्माण सम्पन्न नभए अब म्याद थप नहुने र निर्माण कम्पनीलाई कारबाही हुने इन्जिनियर लाखे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल हज समितिका अध्यक्ष मियाँ पक्राउ

४ जेष्ठ २०८०, बिहीबार १३:१८
नेपालगञ्ज : नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई प्रहरीले पक्राउ गरेको छ । भुटानी शरणार्थी प्रकरणमा समितिको गाडी प्रयोग भएको खुलासा भएको थियो । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग मियाँको संलग्नता देखिएको छ । शरणार्थीको नाममा ठग्ने गिरोहलाई गृह मन्त्रालयको गाडी अध्यक्ष मियाँले उपलब्ध गराएका थिए । […]