कोहलपुरमा यस आर्थिक वर्षमा १४ वटा विद्यालयका भवनहरु बन्दै

सदरलाइन संवाददाता २२ बैशाख २०८०, शुक्रबार १२:४३
 

कोहलपुर (बाँके) : शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको कोहलपुर नगरपालिकाले चालू आर्थिक वर्षमा एकै पटक १४ वटा विद्यालयका भवन निर्माण गरिरहेको छ ।

दुई वटा विद्यालयका भवन निर्माण सम्पन्न भइसकेका छन् भने अरु १२ वटा विद्यालयको भवन निर्माणाधीन अवस्थामा रहेको कोहलपुर नगर शिक्षा तथा खेलकुद शाखाका अधिकृत रविलाल मिजारले जानकारी दिए । ती भवनहरु विशेष अनुदान, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम र नगरपालिकाले शिक्षा समन्वय र विल्डन नेपालसँगको सहयोगमा निर्माण गरिरहेको पनि मिजारले बताए ।

कोहलपुर नगरपालिका–४ मा रहेको सगरमाथा ज्ञानपुञ्ज माविको ४ कोठे र कोहलपुर नगरपालिका–१४ मा रहेको राधाकृष्ण प्राथमिक विद्यालयको २ कोठे भवनको निर्माण कार्य भने पूरा भइसकेको छ । यस्तै कोहलपुर–१५ स्थित नेपाल राष्ट्रिय आभारभूत विद्यालय चन्नहवाको २ कोठे, चटारको ३ कोठे र नेपाल आधारभूत विद्यालय चौधरियाको २ कोठे, कोहलपुर–१४ स्थित सृजना बाल प्राविको ३ कोठे र हवलदारपुरस्थित राम माध्यामिक विद्यालयको ४ कोठे, कोहलपुर–१ को जन ज्ञानज्योति माविको ४ कोठे र कृष्ण माविको ४ कोठे भवनको निर्माण कार्य भइरहेको छ ।

त्यसैगरी कोहलपुर–१० स्थित ज्ञानज्योति माविको ४ कोठे, कोहलपुर–२ स्थित लक्ष्मी माविको ८ कोठे, कोहलपुर–५ को सिद्धार्थ माविको ४ कोठे र कोहलपुर–९ को जनज्योति आधारभूत विद्यालयको ४ कोठे भवनको निर्माण कार्य पनि भइरहेको छ । कतिपय विद्यालयका भवनहरु जीर्ण अवस्थामा रहेका र कतिपय विद्यालयमा विद्यार्थीको चापको अनुपातमा भवन अभाव देखिएकाले आवश्यकता आधारमा भवन निर्माण भइरहेको शाखा प्रमुख राम बहादुर हमालले बताए ।


विद्यालयको भौतिक पूर्वाधार सुधारसँगै जनशक्ति अभावलाई पनि नगरपालिकाले टार्ने प्रयास गरेको छ । शिक्षक अभाव भएका विद्यालयमा आवश्यकताका आधारमा नगरपालिकाले अनुदानमा ४१ जना शिक्षक राखेको छ । ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि भौतिक संरचनाले पनि ठूलो प्रभाव पार्छ उनले भने–‘कम्तिमा पनि विद्यार्थीहरुले ढुक्क भएर पढ्न सक्ने संरचना हुन आवश्यक छ ।’ कोहलपुर नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको भन्दै नगर प्रमुख पूर्ण प्रसाद आचार्यले शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न योजना बनाएर काम गरिरहेको जानकारी दिए ।

उनले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण भइसकेको र कक्षा १ देखि ३ सम्म पाठ्यपुस्तक पनि तयार भइसकेको जानकारी दिए । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि मेरो विद्यालय मेरो जिम्मेवारीसम्मका कार्यक्रम लागू गरिएको भन्दै उनले शिक्षण स्वयमसेवक परिचालन गर्ने योजना रहेको समेत बताए ।

अहिले कोहलपुरका सम्पूर्ण सामुदायिक विद्यालय इन्टरनेटको पहुँचमा रहेको पनि बताए । ‘कुनै पनि विद्यालयमा अव हातले चिठी लेख्नु पर्ने अवस्था छैन उनले भने–‘विद्यालयलाई प्रविधिसँग जोड्ने हाम्रो अधिकतम प्रयास भइरहेको छ ।’ कोहलपुर नगरपालिकाले चालू आर्थिक वर्षमा शिक्षामा ६ करोड ३५ लाख बजेट विनियोजन गरेको छ ।

यस्तै सशर्त अनुदान तर्फ २१ करोड र मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ७० लाख बजेट रहेको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए । कोहलपुरमा ३० वटा सामुदायिक विद्यालय छन् भने ५६ वटा संस्थागत विद्यालय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुकेको पाठ्यक्रम सम्बधि प्रशिक्षण कार्यक्रम सम्पन्न

२२ बैशाख २०८०, शुक्रबार १२:४३
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर १० मा रहेको तक्षशिला एकेडेमीले शुक्रबार एक दिवसिय लुकेको पाठ्यक्रम सम्बधि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयमा कार्यरत शिक्षक शिक्षिका, प्रशासनिक कर्मचारी, चालक सहचालक लगायत ५० बढिको सहभागिता रहेको रहेको थियो । प्रशिक्षण कार्यक्रमको सहजिकरण बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुरका उपप्राध्यापक टेकेन्द्र महतराले गरेका थिए […]