नेपालगञ्जमा आइसिपी निर्माण अन्तिम चरणमा

सदरलाइन संवाददाता ८ बैशाख २०८०, शुक्रबार १२:३४
 

नेपालगञ्ज : नेपालगञ्जमा निर्माणाधिन एकीकृत जाँच चौँकी (आइसिपी) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणको जिम्मा पाएको भारतीय राजदीप बिल्डकन कम्पनीले ९० प्रतिशत काम सकेको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई नेपालगञ्जका निमित्त आयोजना प्रमुख विजयकेशर खनालले बताए ।

उक्त कम्पनीले निर्माणको काम डिसेम्बर, २०२२ मा सक्नुपर्ने थियो, तर कोरोनाका कारण पाँच महिना म्याद थप गरिएको थियो । थपिएको म्याद ३० मे, २०२३ मा सकिदै छ ।

आइसिपी क्षेत्रमा ब्लक विछ्याउने र स्टिल स्ट्रक्चर संरचना निर्माण सकिएको बताउँदै उनले अधिकांश पक्की भवन निर्माण पुरा भइसकेको बताए । उनले पानीका लागि ओभरहेड टंकी, शौचालय भवन र सुरक्षाकर्मीका लागि भवन बनाउन बाँकी रहेको जानकारी दिए । ‘अहिलेसम्म ९० प्रतिशत निर्माणको काम सकिएको छ । बाँकी संरचना निर्माण पनि तीव्र गतिमा भइरहेको छ,’ उनले भने, ‘थप भएको समय भित्र निर्माण सम्पन्न हुने आशा छ ।’

निर्माण कम्पनीले थप भएको समय भित्र काम सक्ने जानकारी गराएको उनले बताए । ‘ठूला काम सकिएको छ । अव सानातिना बाँकी छ । यसले आइसिपी संचालनका लागि ढोका खुलेको छ,’ निमित्त आयोजना प्रमुख खनालले भने ।


उनले प्रशासनिक भवन, गोदाम घर, पशु, पंक्षी तथा प्लान्ट क्वारेन्टाइन लगायतका भवन निर्माण पूरा भइसकेको बताए । पर्खाल लगाउने काम पनि अन्तिम चरणमा पुगेको उनको भनाई छ ।

८८ विघा क्षेत्रमा फैलिएको आइसिपीमा भन्सार, अध्यागमन, प्लान्ट तथा पशु क्वारेन्टाइन, बैँक, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेकको ब्यवस्था छ ।

सन् २००५ मा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण गर्न नेपाल–भारत सरकार वीच सम्झौता भएको थियो । नेपालको विराटनगर, वीरगन्ज, भैरहवा र नेपालगञ्जमा आइसिपी निर्माण गर्ने सम्झौता एकैसाथ भएपनि विराटनगर र वीरगन्जमा निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन शुरु

८ बैशाख २०८०, शुक्रबार १२:३४
नेपालगञ्ज : नेपालगञ्जमा खोप लगाउन छुटेका बालबालिकाहरूलाई खोप लगाउन शुरु गरिएको छ । १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाहरूलाई घरधुरी सर्वेक्षणमार्फत खोजेर खोप लगाउन शुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका निमित्त प्रमुख जागेश्वर बस्नेतका अनुसार अहिलेसम्म कुनै पनि खोप नपाएका १६ […]

सम्बन्धित